इभेण्ट सोलुसनकाे आयोजनामा दशैं तिहार लक्षित ‘स्टक क्लियरेन्स मेला’ हुँदै, असोज १ देखि शुरु

काठमाडौं । दशैंको अवसर पारेर असोज १ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । मेलाको सबै तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रा.लिले जनाएको छ । असोज २ गतेदेखि मेला आयोजना हुने भनिएकोमा प्राविधिक कारणले असोज १ गतेदेखि नै मेला शुरु हुने भएको हो । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएको छ । यस पटक पनि मेलालाई निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ । यसरी, ‘अफरै अफरको ब्यापारिक मेला शपिङ गर्ने यहि हो बेला भन्ने अर्को नारासहित सञ्चालन हुने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने छन् । इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले बताएका छन् । दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन गरिनेछ । एक्सपोको प्रवद्र्धन नेपाल चेम्बर अफ कमर्शले गर्नेछ ।

पोखरामा बीमा संस्थानले गर्यो जीवन बीमा अभिकर्ता आधारभूत तालिम

काठमाडौँ । राष्ट्रिय बीमा संस्थानको आयोजनामा पोखरामा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ । भदौ २६ गतेदेखि २८ गतेसम्म आयोजित कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो । तालिममा बीमाको परिचय, सिद्धान्त, प्रकार र राष्ट्रिय बीमा संस्थानका बीमालेखहरुबारे जानकारी गराइएको थियो । त्यसैगरी बीमा ऐन, नियमावली लगायतका कानूनहरु र अधिकर्ताले पाउने सेवा सुविधाबारे स्पष्ट पारिएको थियो । अभिकर्ता संख्या बृद्धि र व्यवसाय बिस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थानले जनाएको छ ।

आरटीजीएसको पहिलो कारोबार माछापुच्छ्रे बैंकबाट, विनाचेक २० करोड भुक्तानी

काठमाडाैं । नेपाल राष्ट्र बैंकले लागू गरेको रियल टाइम ग्रस पेमेन्ट सेटलमेन्ट (आरटीजीएस) प्रणालीको शुभारम्भ माछापुच्छ्रे बैंकको खाताबाट नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा बिनाचेक २० करोड रुपैयाँ भुक्तानी गरेर भएको छ । आईतबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले पहिलो पटक २० करोडको ट्रेजरी डिल सिलिप एकअर्कामा साटासाट गरेर उक्त आरटीजीएस प्राणलीको प्रत्यक्ष उदाहरण पेश गरेका छन् । आरटीजीएस प्रणाली लागू भएपछि २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा चेक नचाहिने भएको छ । राष्ट्र बैंकले तत्काललाई २ लाख रुपैयाँ भन्दा माथि २० लाखसम्मको भुक्तानी स्वेच्छाले र २० लाख भन्दा माथि अनिवार्य आरटीजीएस प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो । विश्वका अधिकांश मुलुकमा जस्तै नेपालमा पनि बैंकिङ्ग कारोबारमा सहजता ल्याउने उदेश्यका साथ अत्याधुनिक प्रविधियुक्त रियल टाइम ग्रस पेमेन्ट सिस्टम प्रणाली कार्यन्वयनमा ल्याईएको हो ।