सिटिजन्स बैंकको आरटिजीएस प्रणाली संचालनमा
काठमाडौं । सिटिजन्स बैंकले रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) सुविधा संचालन गरेको छ । सिटिजन्स बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच भदौ २२ गते आइतबार आरटिजीएस प्रणाली संचालन सम्बन्धि सम्झौता भएको थियो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । राष्ट्र बैंकले “क”वर्गका बैंकहरुलाई भदौ २४ गते मंगलबारदेखि आरटीजीएस प्रणाली लागू गर्न निर्देशन दिएको थियो । बैंकले उक्त प्रणाली संचालनमा ल्याएको हो, सो प्रणाली संचालनमा ल्याउने पहिलो बाणिज्य बैंकको रूपमा सिटिजन्स बैंक रहेको छ । यससँगै अब बैंकका ग्राहकहरुले नियमअनुसार आरटिजीएस सुविधा उपभोग गर्न सक्नेछन् । बैंकका ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणाली मार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्नेछन् ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा एटिएम र १०१ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाताखोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सको अभिकर्ता अभिमुखिकरण बुटवलमा
काठमाडौं । रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सले अभिकर्ता अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय प्रवन्धक सुरेन्द्र थापाको विशेष प्रशिक्षणमा संस्थाले शनिबार बुटवलमा समापन भयो । साथै प्रदेश नं. ४ का क्षेत्रीय प्रवन्धक सरोज अधिकारी, भूमही शाखाका शाखा प्रवन्धक कुशराज खनाल, भैरहवा शाखाका शाखा प्रवन्धक गणेश गैरेले पनि अभिकर्तालाई प्रशिक्षण दिएको क्षेत्रीय कार्यालय बुटवलले जनाएको छ । कार्यालयका अनुसार चार सय भन्दा बढी अभिकर्ताहरुलाई बिहान ११ बजे देखि दिउँसो ४ बजे सम्म सञ्चालन भएको कार्यक्रममा बीमा के–का लागि र कहिले गर्ने ? कस्तो अवस्थामा गर्ने ? कस–कसले गर्ने ? बिमा गर्दाका फाईदा र नगर्दाका बेफाईदा के ? लगायतका विषयहरुमा अभिकर्तालाई विशेष प्रशिक्षण दिएको थियो । त्यसैगरी रिलायबल नेपाल लाईफ ईन्स्योरेन्समा बीमा गर्दा अन्य ईन्स्योरेन्सहरुको भन्दा थप के–कस्ता फाईदाहरु छन् भन्ने विषयमा पनि अभिकर्ताहरुलाई प्रष्ट्याईएको थियो । कार्यक्रममा क्षेत्रीय प्रवन्धक सुरेन्द्र थापाले संस्थाले दिने बीमा शुल्क छुटको सुविधा, पूर्ण अशक्त सुविधा, दुर्घटना मृत्यु भएमा दिईने सुविधा, घातक रोग सु्विधा, दुर्घटनाका कारणबाट अस्पताल भर्नामा नगद सुविधा, शुलभ जिवन बीमा योजना, मृत्यु लाभ, परिपक्ता लाभ, कर्जा सुविधा लगायत अतिरिक्त लाभहरु लिन सक्ने अवस्थाको बारेमा बताएका थिए । क्षेत्रीय प्रवन्धक थापाले अभिकर्ताहरुलाई जिवनको महत्व र सदुपयोग गर्ने तौर–तरिकाका साथै जिवन बिमा आर्थिक सुरक्षाको लागि मात्र नभएर भविष्यमा तय गरिने योजनाहरुलाई साकार पार्नकोलागि बचत गर्ने सर्वोकृष्ट आर्थिक हतियार भएको धारणा राखे । प्रदेश नं. ५ मा १४ वटा शाखा कार्यालयहरु स्थापना गरिसकेको रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सले प्रदेश नं. ५ मा चारवटा शाखा कार्यालयहरु सिघ्र सञ्चालनमा ल्याउँदै छ । ज्ञानेश्वरमा प्रधान कार्यालय रही देशका विभिन्न स्थानहरुमा ५८ वटा शाखा सञ्जाल विस्तार गरेको छ ।
प्रोग्रेशिभ फाइनान्सको शाखा पोखरामा
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले पोखरा महानगरपालिका४ चिप्लेढुङ्गामा नयाँ शाखाको विस्तार भएको छ । आइतबार एक समारोहबीच पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सिले उद्घाटन गरेका हुन । चुक्ता पूँजी ८० करोड १ लाख रुपैयाँ रहेको फाइनान्सले काठमाडौंको तिनकुनेमा कर्पोरेट कार्यालय रही न्यूरोडमा मूख्य शाखा सहित तीनवटा शाखा र ललितपुरको पूल्चोक, महालक्ष्मी स्थान तथा भक्तपुरको ठिमीमा एक्सटेन्सन काउण्टर मार्फत निरन्तर बित्तीय सेवा प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईले बताए । देशका सवै भूगोलको प्रतिनिधित्व हुनेगरी शाखा बिस्तारको योजना राखेको फाइनान्सले निकट भविष्यमा धनुषा जिल्लाको सबैला, महेन्द्रनगर र सर्लाहीको मलंगवामा नयाँ शाखा संचालनमा ल्याउने योजना रहेको फाइनान्सका अध्यक्ष किशोर कुमार महर्जनले बताए । बित्तीय क्षेत्रमा सरल, सहज र ग्राहकमुखी सेवालाई बढी प्राथमिकतामा राखी बैंकिङ सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको अध्यक्ष महर्जनले बताए । कार्यक्रममा पोखरा महानगर वडा नं ४ का अध्यक्ष शंकरप्रसाद वास्तोला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, ज्यापु समाज यल ललितपुरका पूर्व अध्यक्ष कुललाल डंगोल, रामकाजी अवाले, पूर्व उपाध्यक्ष तीर्थलाल महर्जन, प्रोग्रेशिभ फाइनान्सका संचालक लक्ष्मी प्रसाद महर्जन, शम्भुलाल डंगोल, समुन्द्रकाजी श्रेष्ठ, सबिना महर्जन तथा अनिष महर्जन, फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारी लगायत पोखरा बैकिङ्ग क्षेत्रका प्रमुख, उद्योगी, ब्यापारी, संचारकर्मी र सर्वसाधारण व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाइले बताए ।