सहकारीद्वारा सबै शेयर सदस्यको निःशुल्क उपचार
सुरुङगा । नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक लाख ४३ हजार ८५१ शेयर सदस्य पुर्याएको छ । यो सँगै देशकै सबैभन्दा धेरै शेयर सदस्य भएको सहकारीका रुपमा स्थापित भएको लिमिटेडले जनाएको छ । झापाको विर्तामोड नगरपालिका– २ चारपानेमा मुख्य कार्यालय रहेको सहकारीले अहिले ६५ वटा सेवा केन्द्रमार्फत पूर्वका छ जिल्लामा सेवा प्रदान गर्दै आएको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिएका छन् । गिरीका अनुसार सहकारीको संस्थागत पूँजी आठ प्रतिशतभन्दा माथि रहेको छ । आठ अर्ब ५६ करोड कूल पूँजी रहेको सहकारीको शेयर पूँजी मात्रै एक अर्ब २४ करोड रुपैयाँ रहेको सहकारीका कार्यकारी निर्देशक गिरीले बताए । चार अर्ब ६१ करोड रुपैयाँ बचत रहेको सहकारीले छ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेको बताइएको छ । एक अर्ब १५ करोड रुपैयाँ जगडा तथा अन्य कोषमा रहेको सहकारीमा बाह्य ऋण एक अर्ब ४४ करोड रुपैयाँ रहेको बताइएको छ । सहकारीले आर्थिक वर्ष २०७५/०७६ मा आयकरबापत एक करोड ५९ लाख ८३ हजार २ सय ८३ रुपैयाँ र अन्य विविध कर तीन करोड ६८ हजार ९६८ रुपैयाँ गरी चार करोड ६० लाख पाँच हजार २२५ रुपैयाँ कर तिरेको जनाएको छ । सहकारीले अहिले आफ्ना शेयर सदस्यलाई जटिल प्रकारको रोग लागेको खण्डमा निःशुल्क उपचार गर्दै आएको छ भने मधुमेह, ब्लडप्रेसर र थाइराइड जस्ता रोगीलाई जीवन बरदान कार्यक्रममा सहभागी गराई औषधिसमेत वितरण गर्दै आएको छ । विसं २०८० भित्र सबै शेयर सदस्यको निःशुल्क उपचार गर्ने लक्ष्य लिएको सहकारीले अहिले जीवन वरदान कार्यक्रम लागू गरेपछि धेरै शेयर सदस्यलाई राहत मिलेको सहकारीका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताएका छन् । उहाँले भने, “अहिले सहकारीका शेयर सदस्यलाई जटिल प्रकारको रोग लागेको पाइएपछि उसको उपचार निःशुल्क हुन्छ, तर, २०८० देखि जस्तोसुकै रोग लागे पनि शेयर सदस्यको निःशुल्क उपचार गर्ने तयारी गरिरहेका छौँ, यसका लागि विभिन्न अस्पतालसँग सहकार्य भइरहेको छ । ” रासस
सरकारले लागू गरेको स्वास्थ्य बीमा प्रभावकारी बन्दै
वालिङ । नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम स्याङ्जामा प्रभावकारी बन्दै गएको छ । गत फागुनदेखि शुरुआत भएको स्वास्थ्य बीमा कार्यक्रममा (छ महिनाको अवधिमा) हालसम्म स्याङ्जामा ३४ हजार ४०० आबद्ध भएको स्वास्थ्य बीमा बोर्ड स्याङ्जाका दर्ता सहयोगी ध्रुव हमालले बताएका छन् । उनका अनुसार गत फागुनबाट शुरु भएको दर्ता कार्य पहिलो चरणमा जेठसम्म १६ हजार र दोस्रो चरणअन्तर्गत हालसम्ममा १८ हजार ४०० गरी कूल ३४ हजार ४०० ले स्वास्थ्य बीमा गराएका छन् । जिल्लामा हालसम्म छ हजार ५१५ घरपरिवारका १८ हजार ३५७ महिला र १६ हजार ४३ पुरुष स्वास्थ्य बीमामा आबद्ध भएका छन् रही प्रभावकारी रूपमा स्वास्थ्य सेवा लिइरहेका छन् । स्वास्थ्य बीमा कार्यक्रममार्फत योगदानमा आधारित स्वास्थ्य जोखिमको अग्रिम व्यवस्थापन हुनुका साथै बिरामी हुँदा आर्थिक सुरक्षा प्राप्त हुने भएकाले पनि स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको दर्ता अधिकारी हमालले बताएका हुन्। स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता जनाउन धेरै घर परिवारले तीव्र इच्छा प्रकट गरी स्वास्थ्य बीमाप्रति नागरिक उत्साहित भएकै कारण यो अभियान जिल्लाको हकमा प्रभावकारी बन्दै गएको हमालले बताएका हुन् । बीमितलाई पहिलो विन्दुको रूपमा जिल्ला अस्पताल स्याङ्जा, चापाकोट अस्पतालसहित ग्रहौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ, मालुङ्गा स्वास्थ्य केन्द्र र पञ्चमुल स्वास्थ्य केन्द्र गरी तीन वटा स्वास्थ्य केन्द्रको व्यवस्था गरिएको छ भने त्यहाँ उपचार हुन नसकेमा रिफरल प्रणालीमार्फत दोस्रो विन्दुको रूपमा लुम्बिनी मेडिकल कलेज पाल्पा, गण्डकी मेडिकल कलेज, मनिपाल शिक्षण अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रहेको दर्ता अधिकारी हमालले जानकारी दिए । जिल्लाका ११ स्थानीय तहमध्ये सबैभन्दा धेरै बीमित क्रमशः वालिङ, पुतलीबजार र गल्याङ नगरपालिका रहेका छन् । त्यस्तै हालसम्म धेरै बीमित भएका वडाहरुमा गल्याङ नगरपालिका–११, पुतलीबजार नगरपालिका–१ र वालिङ नगरपालिका–१ रहेका छन् । स्वास्थ्य बीमा कार्यक्रम लागू भएसँगै ग्रहौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको स्वास्थ्य केन्द्रका सूचना अधिकारी देवेन्द्र भट्टराई बताउँछन् । स्वास्थ्य बीमा कार्यक्रमले विशेषगरी आर्थिक रूपमा विपन्न र गरिब समुदायका बिरामीलाई औषधि उपचारमा ठूलो राहत मिलेको सूचना अधिकारी भट्टराईले बताए । जिल्लाका ११ स्थानीय तहका ९७ वडामा ९७ दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमाको दर्ता अभियान गर्ने गरिएकोमा सबैभन्दा धेरै बीमा गर्नेको सङ्ख्या गल्याङ ११ मा रहेको दर्ता सहयोगी सीता अधिकारीले जानकारी दिए । “यहाँका स्थानीयले यसअघि नै छिमेकी जिल्ला पाल्पामा लागू भएको स्वास्थ्य बीमाबाट सेवा लिएको बुझेकाले पनि यस वडामा बीमामा आबद्ध हुनेको सङ्ख्या धेरै भएको हो जस्तो लाग्छ”, दर्ता सहयोगी अधिकारीको भनाइ थियो । पाँच जनाको परिवारले तीन हजार ५०० का दरले एक लाखसम्मको उपचार गर्न सक्नेछन् । दर्ता अधिकारी हमालका अनुसार अब बीमा गर्ने पाँच जनासम्मको परिवारले तीन हजार ५०० वार्षिक ‘प्रिमियम’ तिरेर रु एक लाखसम्मको स्वास्थ्य उपचार प्राप्त गर्न सक्नेछ भने सोभन्दा धेरै भएका परिवारले प्रतिव्यक्ति रु ७०० का दरले थप गर्दै जानुपर्ने छ । प्रतिव्यक्ति रु ७०० का दरले प्रिमियम थप गर्दा २० हजारका दरले उपचार रकम थपिने र अधिकतम दुई लाखसम्मको उपचार सुविधा पाउने छन् भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक, पूर्ण अपाङ्गता भएका, एचआइभी सङ्क्रमित लगायतलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था रहेको छ । रासस
जनता क्यापिटलको साधारण सभाले पारित गर्यो ८ प्रतिशत लाभांश
काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जनता क्यापिटल लिमिटेडको प्रथम साधारण सभा भदौ २६ गते संचालक समितिका अध्यक्ष सुजितकुमार शाक्यको सभापतित्वमा सम्पन्न भएको छ । जनता क्यापिटल मर्चेन्ट बैंकरहरुमध्ये आव २०७५/७६ को साधारण सभा सबैभन्दा पहिला सम्पन्न गर्न सफल भएको हो । साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले आव २०७५/७६ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७५/७६ को वित्तीय विवरणहरु, आव २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ती, संचालकहरुको भत्ता पारित गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको कार्यकारी सञ्चालक विश्व सुवेदीले जनाएका छन् ।