सिटिजन्स बैंक र एनबिआईबीच सम्झौता, बैंकका कर्मचारीको कार्यदक्षता अभिबृद्धि गरिने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि.(एनबिआई) बीच तालिम सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा सिटिजन्स बैंक ईन्टरनेसनल लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि एनबिआईले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्ने छ ।

एनसीसी बैंकद्वारा टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग

काठमाडौं । एनसीसी बैंकले  काठमाण्डौ जिल्लाको टिच फर नेपाललाई यहि भदौ २९ गते रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकमको चेक एनसीसी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बन्दना पाठकले टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरेकी  हुन् । सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीता वृद्धि गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  टिच फर नेपाललाई उक्त रकम उपलब्ध गराईएको हो ।

सिद्धार्थ बैंकका सेयरधनीले २५ प्रतिशत लाभांश पाउने

काठमाडौँ । सिद्धार्थ बैंकले सेयरधनीहरुलाई २५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश समेत गरी २५.२६ प्रतिशत लाभांश दिन प्रस्ताव गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकबाट स्वीकृतिपछि साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुने कम्पनी सचिव लक्ष्मण घिमिरेले जनाएका छन् । बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४९ रुपैयाँ रहेको छ ।