सिटी एक्सप्रेस मनि ट्रान्सफर र ई–सेवाबीच रेमिटान्स कारोबार शुरु
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र ईसेवाबीच रेमिटान्स कारोबार शुरु भएको छ । एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र ईसेवाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार ईसेवा प्रयोगकर्ताले आफ्नो ईसेवामा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपाल भरी रहेको ७ हजार भन्दा बढी एजेन्टहरुमा पठाउन सक्नेछन् । यसका साथै ईसेवाका एजेन्टहरुबाट पनि यो सेवाको लाभ प्राप्त गर्न सक्नेछन् यसका साथै सिटी एक्सप्रेसका सबै एजेन्टहरुबाट आफ्नो ईसेवा खातामा रकम जम्मा गर्ने सुविधा पनि थप गरिएको छ । नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहनको लागि छिट्टै सिटी एक्सप्रेसको अन्तरराष्ट्रिय एजेन्टहरुबाट पनि सिधै ईसेवा खातामा रकम जम्मा गर्ने सुबिधा सुरु हुनेछ । ईसेवाबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी ,रिचार्ज ,हवाइजहाज ,बसको टिकट ,स्कुल कलेजको शुल्क लगायतका सेवाहरुमा शुल्क भुक्तानी गर्न सकिन्छ । ईसेवामा हाल ५५ वटा बैंक, ६० हजार एजेन्ट र २० लाख भन्दा बढी ग्राहक रहेका छन् ।
अजय श्रेष्ठको पक्षमा बैंकर्स एशोसिएसन संस्थागत रुपमै उभियो, महान्यायाधिवक्ता भेट्ने, कानून संशोधनमा पहल गरिने
काठमाडौं । बैंक अफ काठमाडौंका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठको पक्षमा नेपाल बैंकर्स संघ संस्थागत रुपमै उभिएको छ । नक्कली धितो प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले श्रेष्ठलाई पक्राउ गरेसँगै संघले उनी निर्दोष रहेको ठहर गर्दै उनलाई छुटाउन संस्थागत रुपमै अघि बढ्ने निर्णय गरेको हो । त्यसका लागि हाललाई बैंकर्स संघको तर्फबाट महान्यायाधिवक्तालाई भेट्ने र भविष्यमा यस्तो समस्या आउन नदिन कानून संशोधनका लागि पहल गर्ने निर्णय गरिएको हो । मकवानपूर घर भएका सुरेन्द्र श्रेष्ठ नामका ऋणीले ४ वर्षअघि बैंकबाट लिएको ५ करोड ऋण नतिरेपछि उनको धितोमा राखिएको सम्पत्ति लिलामी प्रक्रिया सुर गरिएको थियो । तर, झापाको जिरिङखोलामा रहेको भनिएको धितोमा रहेको उक्त सम्पत्ति नै नक्कली देखिएपछि बैंक अफ काठमाडौंले सीआईबीमा उजुरी दिएको थियो । बैंकले दिएको उजुरीका आधारमा सीआईबीले यसअघि नै ऋणी श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको थियो । पक्राउ नगरी अनुसन्धान गर्न राष्ट्र बैंक र बैंक अफ काठमाडौंले आग्रह गरेको थियो भने बैंक अफ काठमाडौं जमानी नै बस्न तयार भएको थियो तर पनि सीआईबीले उनलाई छाड्न मानेको थिएन । बैंकर्स संघको बैठकमा बैंकरहरुले बैंकले ऋण दिँदा हुने कमजोरीमा बैंकमात्रै सँधै जिम्मेवार नहुने भन्दै अरुले गरेको गल्तीमा पनि बैंकका कार्यकारी प्रमुख दोषी हुने हो भने बैंकिङ क्षेत्रमा काम गर्न गाह्रो हुने भन्दै उनलाई छुटाउन र त्यस्तो कानून संशोधन गर्न पहल गर्न एकमत देखिएका थिए ।
सिद्धार्थ बैंकले ईलामको फिक्कलमा गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले यूके एड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा असोज ६ गते फिन लिट नेपाल प्रालिसँग सहकार्य गर्दै ईलामको फिक्कलमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यवस्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली र करबारे जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको हो । कार्यक्रममा त्यस क्षेत्रका ३५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए ।