एनएमबि र ओमको एकीकृत कारोबार असोज ११ देखि, ओमबाट लिएका भिजा कार्ड असोज १० पछि नचल्ने
काठमाडौँ । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार असोज ११ गतेदेखि हुने भएको छ । काठमाडौँ बबरमहलमा मुख्य कार्यालय भएको एनएमबि र पोखरा चिप्लेढुंगा मुख्य कार्यालय रहेको ओमबीच एकीकृत कारोबार हुने भएको हो । एनएमबिको साउन २८ गते र ओमको साउन २७ गते सम्पन्न विशेष साधारण सभाले एक आपसमा गाभिने प्रस्ताव स्वीकृत गरेको थियो । गाभ्ने/गाभिने संस्थाहरुको साधारण सभाको निर्णय बमोजिम राष्ट्र बैंकबाट असोज १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज ५ गते स्वीकृति प्राप्त भएको जनाइएको छ । यता, ओमले जारी गरेका डेबिट कार्ड(भिजा कार्ड) असोज १० गतेसम्म मात्र चल्ने भएको छ । एनएमबी बैंकसँग एकीकृत कारोबार पछि विगतमा जारी भएका कार्डहरु असोज १० गतेसम्म पछि प्रयोगमा नआउने भएकाले आफ्नो खाता रहेको शाखामा सम्पर्क गरी नयाँ कार्ड लिन ओम डेभलपमेन्ट बैंकले आग्रह गरेको छ ।
कृषि विकास बैंकको रकम ह्याकरले गरे आफ्नै खातामा ट्रान्सफर, पैसा चोर्दै गर्दा पक्राउ
काठमाडौँ । कृषि विकास बैंकको खातामा रहेको रकम मंगलबार दिउँसो ह्याकर समूहले आफ्नो खातामा ट्रान्सफर गरेका छन् । ह्याकर समूहका ३ जनालाई पक्राउ गरिएको र अन्य व्यक्तिको खोजी भएरहेका प्रहरी श्रोतले जनाएको छ । बैंकको सिरहा शाखाबाट काठमाडौँ ट्रान्सफर गरिएको करोडौँ रकम काठमाडौँबाट निकाल्न लाग्दा प्रहरीले पक्राउ गरेको हो । ह्याकर समूहले कति रकम ट्रान्सफर गरी चोरी गरे भन्ने अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख चोरी भएको देखिएको राष्ट्र बैंक श्रोतले जनाएको छ । घटनामा सिराहाको लाहान शाखामा कार्यरत तीन जना कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा देखिएको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौड्यालले बताए । चोरी भएको रकम ७ जनाको खातामा ट्रान्सफर भएको देखिएको छ,’ उनले भने ‘काठमाडौंको न्यूरोड र कैलली भजनीबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।’ लाहानमा कार्यरत कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग गरी अनलाइन सिस्टममार्फत् भुक्तानीको अर्डर दिई विभिन्न स्थानबाट रकम निकालिएको हो । कृषि विकास बैंकबाट निकालिएको पैसा सर्वसाधारण नभइ बैंकको भएको प्रवक्ता पौडेलले बताए । ‘बैंकको खातामा भएको रकम झिकिएको हो,’ उनले भने ‘यो घटनाले सर्वसाधारण निक्षेपकर्तालाई कुनैपनि असर गर्दैन ।’ पक्राउ परेका व्यक्तिहरु नेपाली नै रहेको र उनीहरुको नाम भने प्रहरीले हालसम्म गोप्य राखेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले केही रकम बरामद गरेको जनाएको छ । यसअघि पनि भदौ १५ गतेमा प्रहरीले एटिएम ह्याक गरी रकम झिक्ने ५ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
सिभिल क्यापिटल र भायनेट कम्युनिकेशन बीच सम्झौता
काठमाडौँ । सिभिल क्यापिटल मार्केट र भायनेट कम्युनिकेशन प्रालि बीच सम्झौता भएको छ । सिभिल क्यापिटलका कर्मचारी र ग्राहकहरुलाई भायनेटको इन्टरनेट सेवामा छुट दिने सम्झौता भएको हो । उक्त सम्झौतामा सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सुशील महर्जन र भायनेट कम्युनिकेशनका उपाध्यक्ष शाहिन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।