ज्योति लाईफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । उक्त कम्पनीका क्षेत्रीय प्रबन्धक मोहन पुरीले बीमित स्व. जनक केसीको घरमै पुगी दुघर्टना मृत्यु बापत हुने बीमाङ्कको दोहोरो रकम रु २० लाख र बोनस बापतको रकम रु ५५ हजार गरी कुल २० लाख ५५ हजारको चेक हस्तार गरेका हुन् । स्व. केसीले यस कम्पनीको तुलसीपुर उपशाखाबाट गत चैत १२ गते रु १० लाख बीमाङ्कको बीमालेख लिएका थिए भने यही असोज १३ गते मोटरसाईकल दुर्घटनामा परी उनको निधन भएको थियो । बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित उक्त कार्यक्रममा तुलसीपुर उमनपा वडा ९ का वडा सदस्य डम्मर पुरी, प्रहरी सहायक निरक्षक प्रदीप खड्का, टोलका अध्यक्ष केशव ओली, घोराही शाखाका प्रवन्धक पूर्णबहादुर ओली, तुलसीपुर उपशाखा प्रवन्धक कमलसिंह खडका, कम्पनीका एजेन्सी म्यानेजर दिनेश केसी लगायतको उपस्थिति रहेको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घटेको छ । गत आवको पहिलो त्रैमासमा १ अर्ब ५ करोड नाफा कमाएको बैंकले चालु आर्थिक वर्ष साउनदेखि असोजसम्मको यो अवधिमा ८४ करोड ४४ लाखमात्रै नाफा गरेको छ । बैंकको वितरण योग्य नाफा भने ४२ करोड ३७ लाख रुपैयाँ कायम छ । बैंकले यो अवधिमा आफ्नो १ खर्ब ५१ अर्ब २८ करोड निक्षेप संकलन गरेर १ खर्ब ३० अर्ब ३ करोड कर्जा प्रवाह गरेको छ । बैंकको सीडी रेसियो ७५.६२ प्रतिशत कायम छ । बैंकले ३ अर्ब ८८ करोड ब्याज आम्दानी गरेको बैंकले २ अर्ब ३५ करोड ब्याज खर्च गरी १ अर्ब ५२ करोड खुद ब्याज आम्दानी गरेको हो । १२ अर्ब ८६ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ४२ करोड रुपैयाँ रहेको छ । कर्जा प्रवाह बढेसँगै बैंकले खराब कर्जामा वृद्धि भएर २.८४ प्रतिशत रहेको छ । आधार ब्याजदर ८.४८ प्रतिशत, कस्ट अफ फण्ड ६.३४ प्रतिशत रहेको छ । यो अवधिमा बैंकको स्प्रेड दर ४.३६ प्रतिशत रहेको छ । प्रति सेयर नेटवर्थ २०४.४४ रुपैयाँ रहेको बैंकको प्रति सेयर आम्दानी २६.२५ रुपैयाँ कायम रहेको छ ।

सेन्चुरी बैंकको नाफा ३७ करोड नाघ्यो

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सेन्चुरी कमर्सियल बैंकले ३७ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले यो अवधिमा ५८ अर्ब ५४ करोड कर्जा प्रवाह गरेर सो नाफा आर्जन गरेको हो । गएको आवको साउनदेखि असोजसम्मको पहिलो त्रैमासमा बैंकले २७ करोड ४० लाख नाफा आर्जन गरेको थियो । पहिलो त्रैमासमै यथेष्ठ नाफा कमाएको बैंकको वितरण योग्य नाफा भने १८ करोड रुपैयाँ रहेको छ । ८ अर्ब ४१ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । बैंकले सो अवधिमा २ अर्ब १३ करोड ब्याज आम्दानी गरेको छ भने १ अर्ब ३५ करोड ब्याज खर्च गरी खुद ब्याज आम्दानी ७८ करोड रहेको छ । चालु आवको पहिलो त्रैमासमा बैंकले ६१ अर्ब निक्षेप संकलन गरेको छ । बैकको सीडी रेसियो ७९.२१ प्रतिशत कायम गरेको छ । बैंकको खराब कर्जा २.४७ प्रतिशत छ भने स्प्रेड दर ४.८४ प्रतिशत छ ।