सानिमा लाइफले ल्यायो ‘सानिमा कर्जा म्यादि बीमा योजना’, लघुवित्तबाट कर्जा लिएका ऋणीको ऋण तिरिदिने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले ‘सानिमा कर्जा म्यादि बीमा’ योजना बजारमा ल्याएको छ । इन्स्योरेन्सले लघुवित्त कम्पनीबाट कर्जा लिएका ऋणीहरुको कर्जा सुरक्षण गरि ऋणीको असामयीक निधन पश्चात परिवारमा पर्ने ऋण भार कम गर्न तथा वित्त कम्पनीहरुको ऋण सुरक्षा गर्ने उदेश्यले उक्त योजना बजारमा सार्वजनिक गरेको हो । यस बीमा योजना अन्तर्गत ऋणीले कर्जा रकम बराबर सानिमा कर्जा म्यादि जीवन बीमा गरेको अवस्थामा कर्जा लिए पश्चात कर्जा लिने व्यक्तिको मृत्यु हुन गएमा सो रकम वित्तीय संस्थालाई तिरिदिने कम्पनीले जनाएको छ । जसले गर्दा मृतकको परिवारका सदस्यहरुले ऋण चुक्ता गर्न नसकि घर जायजेथा नै नोक्सान हुने स्थीति बाट जोगाउछ । कम्पनीका अनुसार १६ देखि ६९ वर्षसम्म उमेरका व्यक्तिहरुले यो बीमा योजना लिन सक्नेछन् । त्यस्तै, न्यूनतम बीमाङ्क रकम ५ हजार रुपैयाँ देखि अधिकतम १० लाख रुपैयाँसम्म कायम गरिएको छ । जस अन्तर्गत बीमितहरुले कालगति मृत्यु लाभमा ऋण बराबरको रकम र काजक्रिया खर्च ऋण रकमको ५ देखि ३० प्रतिशत भुक्तानी पाउने छन् । त्यस्तै, दुर्घटना भई मृत्यु भएमा र दुर्घटना भई पूर्ण स्थाई अशक्तता भएमा ऋण रकमको २० देखि २०० प्रतिशतसम्म बीमालेखमा इच्छाएको व्यक्तिलाई भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

ज्योति विकास बैंक र युनाइटेड रेमिटबीच सम्झौता

काठमाडौँ । ज्योति विकास बैंकले रेमिटसेवा अझ सहज र बिस्तारित गर्ने क्रममा युनाइटेड रेमिटसँग रेमिट सेवाको लागि सम्झौता गरेको छ । बुधबार ज्योति विकास बैंक र युनाइटेड रेमिटबीच उक्त सहकार्य सम्झौता भएको छ । सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा युनाइटेड रेमिटको तर्फबाट युनाइटेड रेमिटका सहायक महाप्रबन्धक प्रविन अधिकारीले हस्ताक्षर गरेका हुन् । प्रतिष्ठित चौधरी ग्रुपद्वारा प्रवद्र्धित युनाइटेड रेमिटले साउदी अरब जस्ता मुलुकहरुबाट गुणस्तरिय रेमिट सेवा प्रदान गर्दै आएको छ । सम्झौता पश्चात युनाइटेड रेमिटको रेमिट सेवा ज्योति विकास बैंकको जुनसुकै शाखा कार्यालयबाट लिन सकिने छ । ज्योति विकास बैंकको मुलुकभर रहेका १०२ वटा शाखाबाट युनाइटेड रेमिटको देश–विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुने जनाइएको छ।

एनएमबि बैंकद्वारा ‘पूर्व स्वीकृत आवास कर्जा’ आरम्भ, घर किन्नु अघि नै ऋणको सीमा स्वीकृति

काठमाडौँ । एनएमबि बैंकले ‘एनएमबि पूर्व-स्वीकृति आवास कर्जा’ (एनएमबी प्रि–अप्रुभ्ड होम लोन) सुविधा आरम्भ गरेको छ । अब आवास कर्जा प्राप्त गर्न इच्छुक ग्राहकहरूले आफूले किन्न लागेको सम्पत्ति छान्नु पूर्व नै आफ्नोे ऋणको सीमा स्वीकृति प्राप्त गर्नसक्ने छन् । आवश्यक ऋणको सीमा स्वीकृति व्यक्तिको भुक्तानी क्षमतामा आधारित हुनेछ, जुन खरिद गर्न लागिएको धितोको पूर्व–मूल्यांकन नगरिकनै कामय गरिने बैंकले जनाएको छ । ‘यो कर्जा सुविधाले ग्राहकहरूको कर्जा प्राप्त गर्न योग्य हुँदाहुँदै पनि कर्जा सीमा सम्बन्धमा अनुभव गर्दै आउनु भएको अन्योल मेटाउने छ । उहाँहरूको आयको आधारमा घरघडेरी अधिकतम उपयुक्त विकल्प प्राप्त गर्नका लागि सहजीकरण गर्नेछ । यो नवीतम सुविधाले सम्पत्ति खरिद गर्दा सही सूचनायुक्त निर्णय लिन मद्दत गर्नेमा हामी विश्वस्त छौं,’ बैंकद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।