स्वदेशी लघुवित्तका अध्यक्ष लालमणी जोशीद्धारा सपथ ग्रहण
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष लालमणी जोशीले सपथ ग्रहण गरेका छन् । अध्यक्ष जोशीले बिहीबार नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयमा आयोजित एक समारोहकाबीच निर्देशक रोशन कुमार सिग्देलबाट आफ्नो पद तथा गोपनियताको सपथ खाएका हुन् । संस्थाको पाँचौ बार्षिक साधारण सभाबाट संचालक निर्वाचित भई संचालक समितिको बैठकले जोशीलाई अध्यक्ष पदमा नियुक्त गरेको थियो । सपथ ग्रहण कार्यक्रम पछि नवनियुक्त अध्यक्ष जोशीले नेपाल राष्ट्र बैंकले एक समारोहको आयोजना गरी सपथ ग्रहण गराएकोमा समारोहका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका निर्देशकलाई धन्यवाद दिएका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंक बिराटनगर शाखाका प्रमुख तथा निर्देशक रोशन कुमार सिग्देलले सञ्चालक समिति नै संस्थाको मुख्य अंग भएकोले संस्थाको हरेक क्रियाकलापलाई नजिकबाट निहाल्न, आन्तरिक लेखा परीक्षण बलियो बनाउन तथा नेपाल राष्ट्र बैंकबाट जारी भएका नीति तथा निर्देशनको पालना गर्न आग्रह गरेका छन् । कार्यक्रममा स्वदेशी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाई, नायव कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपाने, नेपाल राष्ट्र बैंक विराटनगन का उप निर्देशकहरु तथा कर्मचारीको उपस्थिति रहेको थियो ।
प्राइम लाइफ इन्स्योरेन्समा जागिर खुल्यो, प्लस २ पास गरेकाले पनि आवेदन दिन पाउने
काठमाडौं । बीमा क्षेत्रमा काम गर्न इच्छुकलाई प्राइम लाइफ इन्स्योरेन्समा जागिर खुलेको छ । इन्स्योरेन्सले एक सूचना जारी गरी कम्पनीको शाखा प्रबन्धक, उपशाखा प्रमुख र अप्रेशन सपोर्ट पदको लागि केही संख्यामा कर्मचारी मागेको हो । इच्छुकले उक्त पदको लागि आवेदन दिन सक्नेछन् । उक्त सबै पदका लागि न्यूनतम स्नातक गरेको हुनुपर्ने छ । साथै, बीमा व्यवसायमा लामो समय आवद्द भई अनुभव हासिल गरेकाहरुको हकमा प्लस २ उत्तीर्ण गरेकाले पनि आवेदन दिन पाउने इन्स्योरेन्सले जनाएको छ । सो मध्ये शाखा प्रबन्धक र उपशाखा प्रमुख पदको लागि जीवन बीमा व्यवसायलाई प्रवद्र्धन गर्न सक्ने सीप तथा क्षमता भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ । त्यस्तै, अप्रेशन सपोर्ट कर्मचारी पदको लागि शाखा संचालन सम्बन्धी सीप भएको व्यक्ति तथा अनुभवीलाई विशेष प्राथमिकता दिने इन्स्योरेन्सले जानकारी दिएको छ । योग्यता पुगेका तथा बीमा क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिले आगामी पुस २७ गते साँझ ५ बजेसम्म आवेदन दिनसक्नु पर्ने छ । आवेदक मध्ये राम्रो संचार, प्रस्तुति तथा कम्प्युटरमा दक्ष भएका तथा स्थानीयले बढी प्राथमिकता पाउने छन् ।
प्रिमियर इन्स्योरेन्सको सीईओमा विश्वराम तिमिला, बीमा क्षेत्रमा ४ दशकको अनुभव
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विश्वराम तिमिला नियुक्त भएका छन् । तिमिलाको नियुक्ती बीमा समितिले बिहीबार स्वीकार गरेको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले स्वीकार गरेपछि मात्रै नियुक्तिले बैधता पाउँछ । प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले ३ साताअघि तिमिलालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णयसहित स्वीकृतको लागि बीमा समिति पठाएको थियो । तिमिला यसअघि नेको इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए । नेकोबाट हटेको करिव ६ महिनाको कुलिङ पिरियडपछि उनी प्रिमियरमा प्रवेश गरेका हुन् । उनले बीमा क्षेत्रमा करिब ४ दशक बिताएका छन् । ओरेन्टल इन्स्योरेन्स कम्पनीमा १५ वर्ष र नेको इन्स्योस्योरेन्समा २३ वर्ष काम गरेका तिमिलाले नेको इन्स्योरेन्समा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका छन् । उनीसँग बीमा कम्पनीको फाइनान्स, अन्डरराइटिङ, मार्केटिकङलगायत सबै विभागमा काम गरेको अनुभव छ ।