सांग्रिला डेभलपमेन्ट बैंकको नगद लाभांश पारित, बाह्य लेखापरीक्षकमा कार्की नियुक्त

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रस्तावित ८.९५९३ प्रतिशत नगद लाभांश(कर सहित) पारित भएको छ । विकास बैंकको पुस २९ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरको हो । सभाले पारित गरेसँगै संस्थाले शेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको दरले हुन आउने २३ करोड ३५ लाख ३७ हजार २९६ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । हाल विकास बैंकको चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख रुपैयाँ रहेको छ । साथै, सभाले चालु आर्थिक वर्ष. २०७६/७७ को लागि श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ । हाल यस विकास बैंकले ८९ शाखा कार्यालयहरु, २६ एटिएममार्फत बैंकिङ् सेवा दिँदै आएको छ ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको १८ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको मंगलबार अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा गुहेश्वरी भवन, ललितपुरमा सम्पन्न भई आ.व.२०७५/०७६ को नाफाबाट ६.५ प्रतिशत नगद लाभांश (लाभांश कर समेत) प्रदान हुने गरि पारित गरिएको छ । संचालक समितिमा नियुक्त स्वतन्त्र संचालक किर्तिनाथ मास्के साधारण सभाबाट अनुमोदन भएअनुसार अध्यक्ष श्रीमान श्रेष्ठ, संचालक सरोजनी श्रेष्ठ, संचालक डा.रेश्मी श्रेष्ठ, संचालक राजेश मानन्धर र संचालक किर्तिनाथ मास्के समेत पाँच जनाको संचालक समिति रहेको छ । संस्थाको चुक्ता पूँजी रु ८० करोड रहेकोमा हाल सम्ममा निक्षेप रु. ४ अर्व २३ करोड तथा कर्जा रु.३ अर्ब ४८ करोड पुगेको छ । यस संस्थाको हाल सम्म १६ वटा शाखा कार्यालय र १ वटा एक्टेन्सन काउण्टर रहेको छ ।

प्रोग्रेशिभ फाइनान्सको २३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सोमबार २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । ललितपुरस्थित ज्यापू प्रज्ञा भवनको सभा कक्षमा संचालन गरिएको सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गरेका थिए । महर्जनले वित्तीय संस्था आफ्नो अस्तित्व समाप्त पार्ने गरी मर्जर तथा अक्विजिशनमा नजाने जानकारी दिँदै संस्थालाई अझ सबल बनाई निकट भविश्यमा अझ आधुनिकिकरण गर्दै स्तरोन्नतिका निम्ति आफू प्रयासरत रहने धारणा व्यक्त गरेका छन् । सो सभाले आर्थिक वर्ष २०७५/७६ को वित्तीय अवस्थाको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण वित्तीय विवरणहरु पारित गरेको छ । हाल यस फाइनान्सले ६ वटा शाखा तथा ४ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रवाह गरिरहेकोमा चालू आर्थिक वर्षको अन्त्यसम्ममा ४ वटा शाखा कार्यालयहरु थप गरी कम्तीमा १० शाखा तथा ४ एक्सटेन्सन काउन्टरको संजाल मार्फत सेवा विस्तार गर्ने योजना बनाएको छ ।