मञ्जुश्री फाइनान्सको साढे ११ प्रतिशत लाभांश पारित, सञ्चालकमा दुई जना निर्वाचित
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको प्रस्तावित ११.५५ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न फाइनान्सको १२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै संस्थाले शेयरधनीलाई गत आर्थिक वर्ष २०७५÷०७६ को लागि ९.८० प्रतिशत नगद लाभांश(वोनश शेयर तथा नगद लाभांशको कर समेत) र १.७५ प्रतिशत बराबरको वोनस शेयर वितरण गर्ने छ । यस संस्थाको यस अघि सम्मको चुक्ता पूँजी ८० करोड ४० लाख रुपैयाँ रहेको छ । संस्थाले पौष मसान्तसम्म ७ अर्ब ७० करोड निक्षेप संकलन तथा ६ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्न दुई जनालाई निर्वाचित गरेको छ । सभाले इन्दिरा पण्डित घिमिरे र चिन्तामणी गौतमलाई आगामी ४ वर्षको लागि संस्थाको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो ।
नेपालको विकास प्रयासमा चीन सधैंँ सहयोगी, छेन्दु– भैरहवा सीधा उडानमा अभिप्रेरित
बटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउनका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताएका छन् । नेपालका लागि चीनका राजदूत होउ यान्छीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको र लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको उल्लेख गरेका हुन् । प्रदेश नं ५ का रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने सरकारको योजनामध्ये एक चिनियाँ ढाँचाको औद्योगिक क्षेत्र होस् भन्ने आफूले चाहेको बताउँदै मुख्यमन्त्री पोखरेलले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नति र सेवा सुधारमा पनि चिनियाँ अनुभवबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले चीनको सिचुवानले गरेको कृषिको व्यावसायीकरण र औद्योगिक विकासको अनुभव आफूहरुलाई काम लाग्ने बताउँदै सिचुवानका गभर्नरलाई प्रदेश ५ भ्रमणको निमन्त्रणा पनि राजदूतमार्फत दिए । प्रदेश नं ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध छ । मुख्यमन्त्रीले कृषिको व्यावसायीकरण र पर्यटन प्रवद्र्धनमार्फत प्रदेशको समृद्धि गर्दै सिङ्गो मुलुकको विकासमा योगदान गर्ने लक्ष्य लिइएको जानकारी दिए । केही महिनाअघि सिचुवान भ्रमणका क्रममा आफूले कृषिको नयाँ प्रविधि सम्बन्धमा त्यहाँका कृषि विज्ञसंँग भेटेको बताउँदै त्यहाँका विज्ञ यहाँ ल्याएर प्रविधि हस्तान्तरणका लागि सहयोग गर्न राजदूतलाई आग्रह गरे । उनले लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय तथा चीनमा परम्परागत शिक्षाको महत्वपूर्ण संस्था मानिने कन्फ्युसियस विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान गर्न सकिने बताउँदै लुम्बिनी भ्रमण वर्षको समापन तथा बुद्धजयन्ती समारोहमा चिनियाँ राजदूतलाई लुम्बिनीमा निमन्त्रणा पनि गरे । सो अवसरमा चिनियाँ राजदूत होउले प्रदेश नं ५ ले आर्थिक विकासमा हासिल गरेको उपलब्धिप्रति बधाई दिएकाे भेटपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जारी गरेको प्रेसनोटमा बताइएको छ । राजदूत होउले नेपालको विकास प्रयासमा चीन सधैंँ सहयोगी रहेको बताउँदै अहिले द्रुत विकासको बाटामा हिँडेको नेपालका प्रयासमा चिनियाँ साथ रहेको स्पष्ट गरेका छन् । उनले केही महिनाअघि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुगेको उल्लेख गरे । लुम्बिनी चिनियाँका लागि एउटा प्रमुख गन्तव्य भएको बताउँदै राजदूत होउले सिचुवानको छेन्दु– भैरहवा सीधा उडानका लागि सहयोग र अभिप्रेरित गरिने बताउँदै त्यसबाट प्रदेश नं ५ र सिचुवानबीचको सम्बन्ध अझै राम्रो हुने विश्वास व्यक्त गरेको प्रेसनोटमा उल्लेख छ । राजदूत होउले लुम्बिनी, कपिलवस्तुको तिलौराकोटसहित बौद्ध सम्पदास्थलको भ्रमण गर्दै छन् । रासस
धौलागिरी लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रथम वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष ईश्वरलाल राजभण्डारीले आ.व २०७५।०७६ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरिएको संस्थाका कम्पनी सचिव तथा का.मु प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले बताए । सभामा संस्थाले आ.व २०७६।०७७ को प्रथम त्रैमासिक लक्ष्य पूरा गर्ने र शाखा कार्यालयहरु प्रथम शाखा ठाडा अर्घाखाची,दोश्रो शाखा बुर्तिबाड.र तेश्रो नौडाँडा शाखालाई सम्मान स्वरुप अध्यक्षबाट प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको बताइएको छ । यस धौलागिरी लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौतामा २०७६।०९।०२ गते दुवै संस्थाबाट समझदारी सम्झौता पत्रमा हस्ताक्षर भई कार्य अघि बढेको अध्यक्ष ईश्वर लाल राजभण्डारीले बताए । सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट संञ्चालक समितिमा ईश्वरलाल राजभण्डारी, सिर्जना थापा, हरि प्रसाद शर्मा र प्रभु बैकबाट उत्तम कुमार राजभण्डारी सर्वसहमतिले निर्वाचित भएको बताइएको छ । संस्थाको हाल केन्द्रिय कार्यालय बागलुङ अन्र्तगत ३६ वटा शाखा कार्यालय संचालन , कूल सदस्य २८,४५६ ऋण लगानीमा ७६ करोड रुपैयाँ, बचत ४८ करोड ९१ लाख र चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको का.मु प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले बताए ।