स्वावलम्बन लघुवित्तले कोरोना कोषमा दियो थप १ करोड ३२ लाख रुपैयाँ

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा थप  १ करोड ३२ लाख २८ हजार १ सय २१ रूपैयाँ सहयोग उपलब्ध गराएको छ । संस्थाले कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरेको हो । संस्थाले यस अघि २५ लाख रुपैयाँ सहयोग प्रदान गरिसकेको छ । यसैगरी, सात वटै प्रदेशमा रहेका शाखा/उपशाखा कार्यालय मार्फत १५० वटा स्थानीय निकायलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । वित्तीय संस्थाले कोभिड-१९ कारण समस्यामा परेका विपन्न ग्राहक सदस्यलाई विभिन्न शाखा कार्यालय मार्फत राहत सामग्री खाद्यान्न समेत वितरण गरेको छ । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ असार मसान्तसम्म बाँकी रहेको रकम थप सहयोग स्वरुप कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार कोषमा जम्मा गरेको र उक्त सहयोगले न्यून आय भएको साथै अप्ठ्यारोमा परेको वर्ग, समुदायलाई दैनिक उपभोग्य सामग्री वितरणमा सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ । वित्तीय संस्थाले ग्राहक संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत समय समयमा ग्राहक तथा समुदायको हितका लागि विभिन्न कार्यक्रम तथा प्राकृतिक विपद् व्यवस्थापका लागि विभिन्न राहत प्याकेजहरु उपलब्ध गराउँदै आएको छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ५० हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैर वित्तीय, दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आएको छ ।

यूनाईटेड इन्स्योरेन्सको बीमा शुल्क अहिलेसम्मकै उच्च, खुद नाफा पनि ६० प्रतिशतले बढ्यो

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ले गत आर्थिक वर्ष २०७६/७७मा ३१ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन कम्पनीको इतिहासमै अहिलेसम्मकै उच्च बीमा शुल्क हो भने अघिल्लो आवको तुलनामा ३७.८२ प्रतिशत बढी हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा २३ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । खुद बीमा शुल्कसँगै कम्पनीको खुद नाफामा पनि वृद्धि भएको छ । अघिल्लो आवमा २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवमा ३ करोड ४१ लाख रुपैयाँ कमाएको छ । जुन प्रतिशतको आधारमा ६०.४४ प्रतिशत बढी हो । गत असार मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी बढेर एक अर्ब २ करोड रुपैयाँ पुगेको । त्यस्तै, जगेडा कोष वृद्धि भई ७ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने बीमा कोष पनि बढेर ३० करोड ८० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको जगेडा कोषमा २ करोड ८४ लाख रुपैययाँ र बीमा कोषमा २९ करोड ३ लाख रुपैयाँ रहेकाे थियाे । समीक्षा अवधिमा कम्पनीले ९ हजार ७ सय ९३ वटा बीमालेख बाट ६५ करोड ५४ लाख रुपैयाँ कमाएको छ । त्यस्तै, २ हजार ४२ वटा दावी मार्फत २२ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ भने एक हजार ९ सय १४ वटा दाबीबाट ४३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३२ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३७.९४ रुपैयाँ छ । प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार २ सय ३५ रुपैयाँ रहेको छ ।

शिखर इन्स्योरेन्सको नाफा बढ्यो, बीमा शुल्क एक अर्ब १८ करोड रुपैयाँ बढी

काठमाडौं । शिखर इन्स्योरेन्सको खुद नाफा ६.३९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा ४२ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले २०७६/७७मा ४५ करोड एक लाख रुपैयाँ आर्जन गर्न सफल भएको हो । समीक्षा अवधिमा कम्पनीले एक अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ । अघिल्लो आवको सोही अवधिमा इन्स्योरेन्सले एक अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ भएको यस कम्पनीको जगेडा कोषमा ८३ करोड ६३ लाख रुपैयाँ बढी छ । जुन अघिल्लो वर्षमा ४० करोड ११ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीले २ लाख ५९ हजार वटा बीमालेख जारी गरेको छ । त्यस्तै, १४ हजार ४ सय ७० वटा दाबीबाट कूल एक अर्ब ६७ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४२.५८ रुपैयाँ रहेको छ । त्यस्तै, प्रति सेयर नेटवर्थ २ सय ८८ रुपैयाँ रहेको छ ।