महालक्ष्मी विकास बैंक र डाक्टर अन कलबीच सम्झौता, ग्राहकले घरमै स्वास्थ्य सेवा पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कल प्रा. लिसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट कुमारीपाटी शाखाका प्रमुख अनिष सिंह सिजापती र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डा. सुमन न्यौपानेले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी लगायत बैंकका संस्थापक/सेयरधनीहरुले डाक्टर अन कल मार्फत घरमै उपचार गराउन सक्नेछन् र यसरी उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक/सेयरधनीहरु साथै कर्मचारीले डाक्टर सेवामा अधिकतम ३० प्रतिशत, फिजियोथेरापीमा अधिकतम ३० प्रतिशत, नर्स केयर सेवामा अधिकतम २० प्रतिशत, ल्याव टेष्टमा अधिकतम २० प्रतिशत, डाईटिसियन सेवामा अधिकतम ३० प्रतिशत, ड्रेसिङ तथा इन्जेक्सन सेवामा अधिकतम १५ प्रतिशत, साथै डाक्टरसँग अनलाइन कनसल्ट, औषधी तथा मेडिकल उपकरणहरुको डेलिभरी सेवा निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् । हाल एक सय २ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

लक्ष्मी इक्विटी फण्डको भदौ २३ गते बुक क्लोज, नगद लाभांश वितरण गर्ने

काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्विटी फण्डको आगामी भदौ २३ गते बुक क्लोज हुने भएको छ । फण्डले नगद लाभांश वितरण गर्नको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । फण्डले आर्थिक वर्ष २०७६/७७को लागि योजना इकाईधनीहरुलाई कर ४.२५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । लक्ष्मी इक्विटी फण्ड लक्ष्मी बैंकद्वारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित रहेको छ ।

एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्सड् फण्डले तोके बुक क्लोजको मिति

काठमाडौं । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल रहेकाे एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले आगामी भदौ २५ गते बुक क्लोज गर्ने भएका छन् । यी दुई फण्डले नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि योजनाको इकाईधनी दर्ता पुस्तिका उक्त एक दिनका लागि बन्द गर्ने निर्णय गरेका हुन् । उक्त निर्णय भदौ १६ गते बसेको एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले गरेको हो । आर्थिक वर्ष २०७६/७७ का लागि एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरुलाई कर सहित १२ प्रतिशतका दरले १० करोड २ लाख २४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । त्यस्तै, एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले हुन आउने ६ करोड ४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।