अब अनलाइनबाटै डिम्याट खाता र मेरो सेयर दर्ता गर्न सकिने, एनआईबिएलले शुरू गर्याे नयाँ सेवा

काठमाडौं । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले एनआईबिएल एस क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता र मेरो सेयर दर्ता गर्न सक्ने भएका छन् । नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले माघ १५ गतेदेखि विद्युतिय प्रणाली मार्फत डिम्याट खाता साथै मेरो सेयरदर्ता सेवा सुचारु गरेको हो । क्यापिटलले आफ्ना सेवा प्रवाहलाई झन्झट रहित सरल एवं सहज बनाउने उद्देश्यसहित हितग्राही खाता (डिम्याट खाता) खोल्न तथा मेरो सेयरदर्ता विधुतीय प्रणाली(अनलाइन) मार्फत गर्न सकिने व्यवस्था मिलाएको हो । यसअघि कम्पनीेले विद्युतीय प्रणाली(अनलाइन) मार्फत एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना एनआईबिएल म्युचुअल फण्ड) का ईकाईहरु खरिद गर्न सक्ने व्यवस्था गरिसकेको छ । साथै, आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्देै यस कम्पनीले आगामी दिनमा पनि विद्युतीय प्रणालीबाट आफ्ना सेवा-सुविधाहरु उपलब्ध गराउँदै जाने जानकारी गराएको छ ।

मोर‌ंग अटोवर्क्सबाट लिएको अटोलोनको भुक्तानी खल्ती वालेटबाटै गर्न सकिने

काठमाडौं । मोरंग अटोवर्क्सबाट सवारी साधन खरिद गर्ने ग्राहकले अटोलोनको भुक्तानी खल्ती वालेटबाटै गर्न सक्ने भएका छन् । ग्राहकले खल्ती एपको इएमआइमा गएर मोरंग अटो वर्क्स इन्भेष्टमेन्टमा किस्ता रकम, ग्राहकको नाम, ऋण शाखा, सवारी साधन नम्बरलगायतका विवरण भरेपछि बैंक खाताबाट सिधै खल्ती मार्फत रकम भुक्तानी गर्न सकिने छ । खल्तीको प्रयोग गरी ६० बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

नेशनल लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । माघ १५ गते सम्पन्न कम्पनीको ३२औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि एक करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ बराबरको नगद लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले आ.व. २०७५/०७६को नाफाबाट सो मात्राको लाभांश पाउने छन् । कम्पनीका अध्यक्ष प्रेमा सिंहले आव २०७५/७६ मा कम्पनीको सबै वित्तीय सूचकांकहरु सन्तोषजनक रहेको बताउँदै कूल बीमाशुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले वृद्धि भई ८ अर्ब ५ करोड रुपैयाँ पुगेको र ३५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको सभामा अवगत गराए । यसैगरी, आ.व २०७५/७६ को अन्तसम्ममा कम्पनीको कुल लगानी २७.९४ प्रतिशतले वृद्धि भई २ हजार ६८१ करोड रुपैयाँ पुगेको र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २५ प्रतिशतले वृद्धि भई २०७६ असार मसान्त सम्ममा २६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । कम्पनीले सो आवमा २६९ करोड रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । सभामा अध्यक्षले चालु वर्षको बोनस समेत गरी कूल चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ नाघेको छ । कम्पनीको आ.व.२०७५/०७६ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषजनक रही सबै बीमालेखमा एक विन्दुले बोनस दर बढाइएको र यसबाट व्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । आ.व.२०७५/०७६ मा २५ वटा नँया शाखा खोल्न स्विकृती प्राप्त गरी कूल शाखा संख्या ९९ पुगेको र आगामी दिनमा शाखा सन्जालमा थप विस्तार गर्ने साथै कम्पनीले व्यवसायीक अभिकर्ता उत्पादन र गुणस्तर बृद्धिमा विशेष जोड दिएको जानकारी गराए । कम्पनीले सूचना प्रविधिमा यथेष्ट लगानी गर्दै आएकोे र विविध आकर्षक बीमालेखहरु प्रचलनमा ल्याएको अध्यक्षले सभामा उल्लेख गरे । लगानी विविधिकरण गरी लामो अवधिको लगानी वृद्धि गर्ने कम्पनीको प्रयासमा उल्लेखनीय सफलता हासिल भएको, परिणाम स्वरुप कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रुपले ११.५३ प्रतिशत पुगेको र यसबाट भविष्यमा लगानी आयमा स्थिरता ल्याउन सहयोग पुग्ने अध्यक्षले बताए । व्यवसाय विस्तारसंगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा विशेष ध्यान दिएको र सोही अनुसार विपन्न वर्गका लागि बालिका शिक्षा योजना संचालनमा ल्याएको र सो को अतिरिक्त कम्पनीले निशुल्क वृहत स्वास्थ्य शिविर संचालनमा सहयोग पुर्याएको अवगत गराए ।