स्वावलम्बन लघुवित्तकाे २० प्रतिशत लाभांश पारित, सञ्चालकमा पाण्डे निर्वाचित
काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिक साधारण सभाले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हाे । संस्थाले आर्थिक वर्ष २०७६/७७ मा ३१ करोड ९१ लाख २६ हजार ७ सय ९१ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यस्तै साधारण सभाले आ.व. २०७६/७७ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ । साधारणसभाले जारी तथा चुक्ता पूँजी ९४ करोड ३० लाख कायम गर्ने निर्णय गरेको छ । उक्त साधारणसभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकमा राम प्रसाद पाण्डेलाई निर्विरोध निर्वाचित गरेको छ । चालु आ.व.को पौष मसान्तसम्म लघुवित्तले ६१ जिल्लाका १४० शाखा÷उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ४६ हजार ९ सय ८६ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा संस्थाको लगानीमा रहिरहेको कर्जा रकम १६ अर्ब ५५ करोड २५ लाख पुगेको छ भने वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा १० अर्ब १० करोड ५ लाख १७ हजार रुपैयाँ रहेको छ । यस संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेकाे छ ।
नेशनल लाईफ इन्स्योरेन्सको सेयर सूचीकृत
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (चैत ११ गते) ३० लाख ८२ हजार ६२६ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । यससँगै कम्पनीको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।
बीमा विधेयकमा दफावार छलफल, स्वच्छ प्रतिस्पर्धा हुनु पर्ने धारणा
काठमाडौं । सङ्घीय संसद्ले बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी बनाएको विधेयकमाथि शृङ्खलाबद्ध छलफल गरेको छ । उक्त छलफल बीमा प्रणाली र बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय तुल्याई बीमितको हकहित संरक्षण गर्ने उद्देश्यले गरिएको हो । संसद् विघटन बदरपछि बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि अर्थ समितिमा पुनः छलफल प्रारम्भ भएको हो । समितिका सभापति कृष्णप्रसाद दाहालका अध्यक्षतामा आज(चैत ११ गते) भएको बैठकमा विधेयकमाथि दफाबार छलफल गर्दै अर्थ मन्त्रालय र बीमा समितिका पदाधिकारीले बीमा व्यवसायको स्वच्छ प्रतिस्पर्धा तथा त्यसको प्रभावकारी नियमन सम्बन्धमा सुझाव दिएका छन् । समितिका सदस्यको जिज्ञासा, प्रचलित कानून, ऐन, नियम तथा बीमासम्बन्धी प्राविधिक पक्षबारे मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनी र बीमा समितिका अधिकारीले जानकारी दिएका थिए । बैठकमा बीमा ऐन २०७५, नेपाल बीमा प्राधिकरण गठन तथा त्यसका काम, कर्तव्य र अधिकार, प्राधिकरण सञ्चालक समिति, अध्यक्ष वा सदस्यको नियुक्ति, उनीहरूको योग्यता, पदावधि, काम, कर्तव्य र अधिकार, पदाधिकारीको स्वार्थ बाझिएमा निर्णय गर्नमा बन्देज, कर्मचारीसम्बन्धी व्यवस्था, प्राधिकरणको कोष, लेखा तथा लेखापरीक्षणलगायत विषयमा दफावार छलफल भएको थियो । अनुमतिपत्र नलिई बीमा व्यवसाय गर्न वा गराउन नपाइने, बीमा कम्पनीको स्थापना, प्राधिकरणले बीमा कम्पनी खोल्न पूर्वस्वीकृति दिन इन्कार गर्न सक्ने, बीमा कोष, बीमकको पुँजीकोष तथा सेयर बाँडफाँड, चुक्ता पुँजी कायम गर्नुपर्ने, अनिवार्य जगेडा कोष, महाविपत्ति कोष राख्ने, दावी भुक्तानी कोष तथा जगेडा कोषको व्यवस्था, दायित्वभन्दा बढी सम्पत्ति हुनुपर्नेजस्ता विधेयकका सबै दफामा छलफल जारी छ । रासस