सांग्रीला डेभलपमेन्ट बैंकको २ दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम सम्पन्न

काठमाडाैं । सांग्रीला डेभलपमेन्ट बैंकले आफ्ना कर्मचारीहरुका लागि २ दिने अभिमुखीकरण तथा बैंकिङ तालिम प्रदान गरेको छ । बैंकले बैशाख ५ र ६ गते बैंकका विभिन्न विभाग र शाखाका कर्मचारीहरुलाई त्यस्तो तालिम प्रदान गरेका हो । कर्मचारीहरुलाई बैंकसम्बन्धी कामहरु तथा नीति–नियमको बारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने उद्देश्यले तालिम दिइएको बैंकले जानकारी दिएकाे छ । दुईदिने कार्यक्रमको समापनको अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले कर्मचारीहरुलाई हौसला प्रदान गर्नुका साथै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी तथा बैंकको दिगो विकासमा योगदान हुने बताएका थिए । काठमाडौंकोे बालवाटारमा सो कार्यक्रम संचालन गरिएको थियो । बैंकले मुलुकभर ९५ शाखा कार्यालयहरु, ३१ एटिएमबाट संस्थागत सुशासन, जोखिम व्यवस्थापन गर्दै सेवा दिँदै आएकाे छ ।

अजोड इन्स्योरेन्सको सञ्चालकमा पौडेल र सुवेदी निर्वाचित

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सञ्चालकमा पानुदत्त पौडेल र श्रृजना सुवेदी निर्वाचित भएका छन् । आज(बैशाख ७ गते) सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले दुई जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै, नवनिर्वाचित दुई जना सञ्चालक पौडेल र सुवेदी सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने छन् । कम्पनीले २०७७ फागुन मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालय, १० बीमा काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा कुल बीमाशुल्क ८८ करोड ४३ लाख रुपैयाँ संकलन गरि खुद नाफा ४ करोड ५६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बीमाकोषमा ६ करोड २३ लाख रुपैयाँ संचित रहेको कम्पनीले जनाएको छ । अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३ प्रतिशत, खुद नाफामा २४७.३९ प्रतिशत, एवं बीमाकोषमा १०४.०८ प्रतिशतले वृद्धि हासिल गर्न सफल भएको छ ।

मनीग्राम इन्टरनेसनलकाे इसेवा मनी ट्रान्सफरसँग साझेदारी सुरु

काठमाडौं । मनीग्राम इन्टरनेसनलले इसेवा मनी ट्रान्सफरसँग साझेदारीको घोषणा गरेको छ । यो सम्झौतासँगैं विश्वभरि रहेका मनीग्रामका ग्राहकहरुले सिधै आफ्नो साथी तथा परिवारजनको बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् । सबै प्रमुख बैंकहरुसहित ६५ भन्दा धेरै बैंकहरुसँग जोडिएको खाता निक्षेप सेवाले नेपालमा रहेका प्राय सबै बैंक खातामा रकम जम्मा गर्न सकिन्छ । नेपालमा रहेका ४२ लाखभन्दा धेरै दर्ता गरिएका इसेवा वालेट प्रयोगकर्ताहरुमाझ आगामी इसेवा वालेट सेवा नेपालको इन्बाउन्ड रेमिट्यान्सका लागी विशाल कोसेढुङ्गा हुने कम्पनीकाे दाबी छ । विश्व बैंकका अनुसार नेपाल रेमिट्यान्सका लागी संसारकै उच्च प्राप्तकर्ताहरु मध्ये एक हो र सन् २०१९ मा मात्र ८.२५ विलियन अमेरिकी डलर बराबरको रेमिट्यान्स देश भित्रिएको थियो ।