नेप्सेमा एकैदिन करिब ८ लाख कित्ता सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन करिब ८ लाख कित्ता सेयर सूचीकृत भएको छ । आज (बैशाख ८ गते) दुई कम्पनीको बोनस र हकप्रद गरी ७ लाख ९७ हजार ९१९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सो दिन नारायणी डेभलपमेन्ट बैंकको हकप्रद र छ्याङ्दी हाइड्रोपावरको बोनस सेयर गरी उक्त परिमाणको सेयर नेप्सेमा थपिएको हो । जसमध्ये नारायणी डेभलपमेन्ट बैंकको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद र छ्याङ्दी हाइड्रोको ५ प्रतिशत अर्थात १ लाख ४१ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै यी दुई कम्पनीको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुन्छ । र, दोश्रो बजारमा किनबेच गर्न सकिने छ ।
साढे ३ महिनापछि नेप्सेले फुकुवा गरिदियो बिशाल बजारको सेयर कारोबार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले साढे ३ महिना अवधिपश्चात बिशाल बजार कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । गत २०७७ माघ १८ गतेदेखि रोक्का भएको कम्पनीको सेयर कारोबार अब २०७८ बैशाख ९ गतेदेखि फुकुवा हुने भएको हो । कम्पनीले भने बमोजिमको वित्तीय विवरणहरु पेश निर्देशन दिँदा पनि कम्पनीले पेश नगरेकोले नेप्सेले सेयर कारोबार रोक्का गरिदिएको थियो । त्यसपश्चात कम्पनीले २०७७ बैशाख ३ गते आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ को पुस मसान्तसम्मको वित्तीय विवरणहरु पेश गरेकोले नेप्सेले कारोबार फुकुवा गरिदिने निर्णय गरेको हो । साथै, उक्त लेखापरीक्षण प्रतिवेदन प्राप्त भई सञ्चालक समितिको निर्णय भएपश्चात यथाशिघ्र साधारणसभा सम्पन्न गर्ने कम्पनीको प्रतिवद्धता रहेको छ । बैशाख ८ गतेको नेप्सेको निर्णयअनुसार कम्पनीको भोलि अर्थात बैशाख ९ गतेदेखि सेयर कारोबार शुरु हुने छ । पछिल्लो समय कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता २ हजार ८८० रुपैयाँमा भएको थियो ।
लक्ष्मी बैंकको १२९औं शाखा सिन्धुलीको रामटारमा
काठमाडाैं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२९औं शाखा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको रामटारमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२९ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।