सबैको लघुवित्तको सीईओमा पुनः केशव कुमार पौडेल नियुक्त
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः केशव कुमार पौडेल नियुक्त भएका छन् । सीईओ पौडेलको कार्यकाल बैशाख ३१ गतेदेखि सकिन लागेसँगै संस्थाको सञ्चालक समितिको बैठकले उनलाई पुनः नियुक्ति गरेको हो । बैशाख २४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त नियुक्ति दिने निर्णय गरेको हो । यससँगै सीईओ पौडेलको दोश्रो कार्यकाल आगामी जेठ १ गतेदेखि लागू हुने छ । र, उनले आगामी ४ वर्षसम्म संस्थाको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । २०४९ सालमा निर्धन लघुवित्त वित्तीय संस्थाबाट सेवा प्रवेश गरेका पौडेलसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा विभिन्न पद हुँदै सीईओ पदमा रहेर कार्य गरेको अनुभव छ । उनले २०७४ साल जेठ १ गतेदेखि सबैको लघुवित्त वित्तीय संस्थामा सीईओको जिम्मेवारी वहन गरेका हुन् । निजको वित्तीय अनुभव र कार्यकुशलताको सम्मान गर्दै बोर्डले आगामी ४ वर्षका लागी पुनः सीईओको जिम्मेवारी प्रदान गरेको बताएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा कम्पनी कानून तथा अन्य प्रचलित कानूनको अधिनमा रही तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०७४ बैशाख २५ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०७४ असार २५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तर कार्यक्षेत्रमा वित्तीय कारोवार सञ्चालन गर्न “घ” वर्गको इजाजतपत्र प्राप्त गरी मिति २०७४ असार ३० गतेबाट विधिवत रुपमा सञ्चालनमा आएको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । संस्थाले ०७८ चैत मसान्तसम्म ७ वटै प्रदेशका ३७ जिल्लामा ६९ शाखा कार्यालय, ४ अनुगमन मुकाम र केन्द्रीय कार्यालय गरी ७४ वटा कार्यालयको संजाल बिस्तार गरेको छ । सोही अवधी सम्ममा करिब ५० हजार घरधुरीमा सेवा विस्तार गरेको छ भने संस्थाको लगानीमा रहिरहेको कर्जा ३ अर्ब १४ करोड ६४ लाख रहेको छ भने बचतमा ८१ करोड ८९ लाख रहेको छ ।
अरुण हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने म्याद थपियो
काठमाडौं । अरुण हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हाल जारी भइरहेको हकप्रद सेयरमा आवेदन दिने म्याद थपिएको छ । कम्पनीले हालको परिस्थितिलाई मध्यनजर गर्दै उक्त सेयरमा आवेदन दिने समय थप ७ दिनको लागि थपेको हो । बैशाख २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त सेयरमा आवेदन दिने म्याथ जेठ २ गतेसम्मका लागि थप्ने निर्णय गरेको हो । कम्पनीले गत बैशाख ६ गतेदेखि १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो । उक्त सेयरमा आवेदन दिने म्याद बैशाख २६ गतेसम्म रहेको थियो । कम्पनीले म्याद थपेसँगै सेयरधनीले आगामी जेठ २ गतेसम्म कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।
जारी भइरहेको मध्य भोटेकोशीको आईपीओ स्थगित, अब कहिलेदेखि खुल्छ ?
काठमाडाैं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि जारी गरिरहेकाे प्राथमिक सेयर (आईपीओ)काे निष्काशन तथा बिक्री खुला स्थगित भएकाे छ । उक्त जिल्लामा आज अर्थात बैशाख २३ गतेदेखि निषेधाज्ञा जारी भएसँगै सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले उक्त सेयरकाे बिक्री हालकाे लागि स्थगित गरेकाे हाे । क्यापिटलका अनुसार उक्त आईपीओ अब अर्को व्यवस्था नभएसम्मको लागि स्थगित गरिने छ । साथै, परिस्थिति सहज भएपछि पुनः अर्को सूचना प्रकाशित गरी उक्त सेयरको बिक्री खुल्ला गरिने क्यापिटलले जानकारी गराएकाे छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बैशाख २२ गतेको एक प्रेस विज्ञप्ति मार्फत कोभिड-१९ को संक्रमण रोकथाम एवं नियन्त्रणको लागि बैशाख २३ गतेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हाे । कम्पनीले गत बैशाख २१ गतेदेखि आयोजना प्रभावित तथा जिल्लाका स्थानिय वासिन्दालाई गरी कूल ६० करोड रुपैयाँ बराबरको सेयरको बिक्री खुला गरेको थियाे । अंकित मूल्य १०० रुपैयाँ दरका ६० लाख कित्ता साधारण सेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं.१ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ । र , बाँकी रहेको ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा सेयर निष्काशन तथा बिक्री खुला गरेकाे थियाे । यससँगै, आयोजना प्रभावित तथा जिल्लाका स्थानिय वासिन्दाले न्यूनतम १० कित्ता र अधिकतमा ४०० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था थियाे ।