प्रभु लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा दुबैमा सुधार, प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ बढी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ११५.६० प्रतिशतले खुद बीमाशुल्क बढाउन सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ५० करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क गरेको कम्पनीले चालु आवको सोहि अवधिमा १ अर्ब ८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो । खुद बीमाशुल्कसँगै कम्पनीको खुद नाफा पनि बढेर १३ करोड ७८ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १४८.३४ प्रतिशतले बढी हो । कम्पनीले गत आवको चैत मसान्तसम्म ५ करोड ५५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । २ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ७६ करोड रुपैयाँ, जगेडा कोषमा ३६ करोड ६० लाख रुपैयाँ र महाविपत्ती कोषमा २ करोड ५७ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी ९.१९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०७.८८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८७.०५ गुणा बढी रहेको छ । समिक्षा अवधिमा कम्पनीले २०४ वटा दाबी वापत ५ करोड ३४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १० वटा दाबी वापत ७५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।
४९ प्रतिशत बोनसपछि जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ४९.४० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ३६११ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३६११ रुपैयाँबाटै शुरु हुने छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ५३९५ रुपैयाँमा किनबेच भएको थियो । बुटवलमा केन्द्रिय कार्यालय रहेको संस्थाको चुक्ता पुँजी ७ करोड ९२ लाख रुपैयाँ रहेको छ । प्रस्तावित ४९.४ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ११ करोड ८३ लाख रुपैयाँ नाघ्ने छ । हिजो अर्थात बैशाख २२ गते मात्रै कम्पनीको बजार पुँजीकरण ४ अर्ब २७ करोड रुपैयाँ थियो । सम्बन्धित समाचार जनउत्थान सामुदायिकले घोषणा गर्यो चार वर्ष यताकै उच्च लाभांश, बोनस मात्रै ४९% बढी
हालसम्म कतिले भरे मध्य भोटेकोशीको आईपीओ ?
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओमा दोश्रो दिनसम्ममा ५ करोड ८८ लाख ३६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज(बैशाख २२ गते) साँझसम्म आयोजना प्रभावित र जिल्लाका स्थानिय वासिन्दा गरी कूल ३ हजार ३६९ जनाले कम्पनीको ५ लाख ८८ हजार ३६० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । जसमध्ये आयोजना प्रभावितका २७१ जनाले कम्पनीको ७७ हजार ८९० कित्ता अर्थात ७७ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । त्यस्तै, ३ हजार ९८ जना जिल्लाका स्थानिय वासिन्दाले ५ लाख १० हजार ४७० कित्ता अर्थात ५ करोड १० लाख ४७ हजार रुपैयाँ बराबरको सेयर माग गरेका हुन् । कम्पनीले गत बैशाख २१ गतेदेखि आयोजना प्रभावित तथा जिल्लाका स्थानिय वासिन्दालाई गरी कूल ६० करोड रुपैयाँ बराबरको सेयरको बिक्री खुला गरेको हो । अंकित मूल्य १०० रुपैयाँ दरका ६० लाख कित्ता साधारण सेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं।१ र ५, बाह्रबिसे नगरपालिका वडा नं। ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं। ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ । र , बाँकी रहेको ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ । मध्य भोटेकोशीको आईपीओ आइएमई पेबाटै भर्न मिल्ने, यस्तो छ प्रकृया यससँगै, आयोजना प्रभावित तथा जिल्लाका स्थानिय वासिन्दाले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन पाउने छन् । इच्छुकले न्यूनतम १० कित्ता र अधिकतमा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था रहेको बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । त्यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेका छन् । आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।