बोर्डले नेप्सेलाई भन्योः राफसाफ कोषमा पैसा थुप्रियो, व्यवस्थित गर्न यी ४ व्यवस्था गर्नु (बुँदासहित)
काठमाडौं । नेपाल धितोपत्र बोर्डले राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाई संचालनमा ल्याउन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई निर्देशन दिएको छ । पछिल्लो समय दैनिक कारोबार रकम बढ्दै गएको र समयमा नै राफसाफ हुन नसकेकोले बोर्डले विद्यमान राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाउन ४ बुँदे निर्देशन दिएको हो । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २७ को व्यवस्था बमोजिम स्थापना भएको कोषमा हालसम्म नगन्य रकम जम्मा भई राफसाफ सुनिश्चितता हुने गरी कार्यान्वयनमा आउन नसक्दा समयमा नै लगानीकर्तालाई धितोपत्र बिक्री वापतको रकम भुक्तानी हुन नसकिरहेको र धितोपत्रको दोश्रो बजार कारोवार दिनानुदिन बृद्धि भइरहेको बोर्डले उक्त निर्देशन दिएको हो । राफासाफ कोषमा निहित प्रणालीगत जोखिम (सिष्टमेटिक रिक्स) लाई न्यूनीकरण गर्न आवश्यक भएकोले धितोपत्र कारोवारलाई समयमा नै राफसाफ गराई बजारलाई व्यवस्थित र अनुशासित राख्न विद्यमान राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाउन आवश्यक देखिएकोले बोर्डले विभिन्न ४ बुँदे व्यवस्था गराउन नेप्सेलाई निर्देश गरेको छ । यस्तो दियो ४ बुँदे निर्देशन धितोपत्र बजार (स्टक एक्सचेञ्ज) ले व्यवस्था गर्ने राफसाफ कोषमा धितोपत्र बजार, धितोपत्रको राफसाफ सेवा प्रदान गर्ने संस्था र समान रुपमा सम्पूर्ण राफसाफ सदस्यहरु (धितोपत्र दलालहरु) को योगदान हुने गरी आर्थिक वर्ष २०७७।७८ भित्र ५० करोड रुपैयाँ, आर्थिक वर्ष २०७८।७९ भित्र थप ३० करोड रुपैयाँ र आर्थिक वर्ष २०७९।८० भित्र थप २० करोड रुपैयाँ गरी कुल १ अर्ब रुपैयाँ रकमको कार्यान्वयन योग्य कोष स्थापना र संचालन गर्नुपर्ने छ । राफसाफ कोषमा धितोपत्र बजारले समग्रमा कोषको ५० प्रतिशत रकम, राफसाफ सेवा प्रदान गर्ने संस्थाले समग्रमा कोषको ३० प्रतिशत रकम र राफसाफ सदस्यहरु (धितोपत्र दलालहरु) ले समग्रमा कोषको २० प्रतिशत रकम बराबरको योगदान हुनुपर्ने बोर्डले जनाएको छ । उक्त रकमको अतिरिक्त कोषलाई जोखिममा आधारित हुने गरी सुदृढ बनाउन धितोपत्र बजार (कोष व्यवस्थापक) ले धितोपत्र दलालहरुको पछिल्लो महिनाको औसत दैनिक कारोबार रकमको १ प्रतिशत रकम चालु महिनाको १५ गतेभित्र थप गर्न लगाई गतिशील योगदानको रुपमा कोषमा जम्मा गर्नुपर्नेछ । यस बमोजिम थप रकम निर्धारण गर्दा मासिक रुपमा पुनरावलोकन गर्ने र यसरी थप गर्ने रकम पछिल्लो महिनाको गतिशील योगदान भन्दा धेरै भएमा फरक रकम मात्र राफसाफ कोषमा धितोपत्र दलालले थप योगदान गर्नुपर्नेछ । राफसाफ कोषको व्यवस्थापन सम्बन्धमा अन्तर्राष्ट्रिय प्रचलन अनुरुप हुने गरी धितोपत्र बजारले कोषको संचालक समितिको रुपमा र राफसाफ सेवा प्रदान गर्ने संस्थाले कोष व्यवस्थापकको रुपमा कार्य गर्नुपर्ने छ । यससँगै, यी व्यवस्था कार्यान्वयनमा आएपश्चात् धितोपत्र कारोवारको रकम समयमै राफसाफ तथा फछ्र्यौट हुने सुनिश्चितता भई उक्त कार्य थप प्रभावकारी रुपमा यथासमयमा नै सम्पन्न हुने बाेर्डकाे विश्वास छ । साथै, धितोपत्र कारोवारमा निहित प्रणलीगत जोखिम न्यूनीकरण हुने, लगानीकर्ताले समयमा नै धितोपत्र बिक्री वापतको रकम प्राप्त गर्ने र धितोपत्र कारोवार थप गतिशील हुन सहयोग पुग्ने बोर्डले जनाएकाे छ ।
अन्ततः नेप्सेले रोकिदियो खानीखोला हाइड्रोको सेयर कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले खानीखोला हाइड्रो पावर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले जेठ २० गते बिहीबार एक सूचना जारी गर्दै कम्पनीले वित्तीय विवरण नबुझाएको भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । ‘धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (क) मा भएको ब्यवस्था बमोजिम नेप्सेमा विवरण पेश गरेको नपाईएकाले धितोपत्र सूचीकरण, २०७५ को विनियम १६(१) (घ) मा भएको व्यवस्था बमोजिम कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार जेठ २० गतेको निर्णयानुसार रोक्का राखिएको हो’, नेप्सेको सूचनामा उल्लेख छ । यससँगै खानीखोला हाइड्रोले वित्तीय विवरण नेप्सेमा पेश नगरेसम्म दोश्रो बजारमा सेयर कारोबार रोक्का हुने छ । यसअघि नेपाल धितोपत्र बोर्डमा खानीखोला हाइड्रोसहित ३ कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै लगानीकर्ताले निवेदन दिएका थिए । लगानीकर्ताले खानीखोला हाइड्रो, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको हुनाले कारोबार रोक्का गर्न माग गर्दै बोर्डमा निवेदन दिएका थिए । त्यसमध्ये नेप्सेले खानीखोला हाइड्रोको सेयर कारोबार रोक्का गरिदिएको हो । तर बाँकी दुईको बारेमा भने नेप्सेले कुनै जानकारी गराएको छैन ।
‘एनआईबिएल सहभागिता फण्ड’का इकाईधनीले आफ्नो लाभांश कसरी पुनः लगानी गर्न सक्छन् ?
काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तेस्रो सामूहिक लगानी कोष योजना ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजना अन्तर्गत इकाईधनीहरुले आफ्नो लाभांश पुनः लगानी गर्न सक्नेछन् । क्यापिटलले इकाईधनीहरुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्ककट्टी पछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाईएको हो । जसअन्तर्गत चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने(बुक क्लोज) मितिका दिनसम्म लाभांश पुनःलगानी योजना अन्तर्गत नाम दर्ता गराउने इकाईधनीहरुले मात्र यो सुविधा प्राप्त गर्न योग्य हुने छन् । यस्तो छ लाभांश पुनःलगानी योजनामा दर्ता गर्ने प्रकृया: एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरु मार्फत फाराम भरी योग्य इकाईधनीहरुले आफ्नो नाम दर्ता गराउन सक्नेछन् । योग्य इकाईधनीहरुले अनलाईन लिंकमा गई लाभांश पुनःलगानी योजना दर्ता फाराम मार्फत आफ्नो सम्पूर्ण विवरण भरी नामदर्ता गराउन सक्नेछन् । त्यस्तै, आफ्नो हितग्राहिखातामा रहेको ईमेल ठेगाना मार्फत निम्नबमोजिमको विवरण उल्लेख गरी उल्लेखित ठेगानामा ईमेल पठाउन सक्ने क्यापिटलले जनाएको छ । एनआईबिएल एस क्यापिटलले उक्त ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनामा इकाईधनीहरुलाई लाभांश पुनःलगानी योजनामा सहभागि हुन २०७७ चैत २४ गते सूचना प्रकाशित गरेको थियो । तसर्थ हालसम्म पनि सो योजनामा सहभागि नभएका इकाईधनीलाई यथासिघ्र सहभागि हुन क्यापिटलले आग्रह गरेको छ ।