नेपाल लाइफ इन्स्योरेन्सबाट बिदा भए मेघेन्द्र प्रकाश गिरी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्र प्रकाश गिरी बिदा भएका छन् । विगत ४० महिनादेखि इन्स्योरेन्समा कार्यरत रहेका गिरी आजबाट औपचारिक रुपमा बिदा भएका हुन् । एनआईसी एशिया बैंक हुँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ र मिडियाको दुनियाँमा आफ्ने छुट्टै पहिचान बनाउन सफल गिरीले यस क्षेत्रमा दुई दशक पार गरिसकेका छन् । सिर्जनशिल सोचलाई व्यवहारमा उतार्न खप्पिस मेघेन्द्र प्रकाश गिरी नेपालको कर्पोरेट ब्राण्डिङको दुनियाँमा सफल पात्र मानिन्छन् । उनले हालै मात्र आफ्नै निर्देशन तथा योजनामा सन्देशमूलक भिडियो बनाएका थिए । उक्त भिडियो अहिलेको महामारीलाई मध्यनजर गर्दै सचेत बनौं! कोरोना विरुद्धको यो लडाई घरमै बसेर लडौं भन्ने सन्देश सहितको रहेको थियो । यस्तै, उनले यो अवधिसम्म साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेका बताएका छन् । ‘मेरो करियरको सुरुवातदेखि नै म र मेरो कर्मक्षेत्रलाई यो उचाईसम्म पुर्याउनको लागि सदैव उत्साह, हौसला, सकारात्मक मार्ग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु । साथै, आगामी यात्रामा पनि यहाँहरुको निरन्तर विश्वास, सहयोग, सद्भाव एवं सत्मार्गको अपेक्षा गर्दछु ।’, बिँदा हुँदै गिरीले भने ।

पोखरेल दम्पत्तिले एक अर्कालाई दिए सिटिजन्स लाईफको ५०-५० लाखको बीमा पोलिसी

काठमाडौं । बैबाहिक जीवनको २७औं वर्ष पुरा भएको अवसरमा एक जोडीले एक अर्कालाई बीमा पोलिसी उपहार दिई मनाएका छन् । रुपन्देहीको बुटवल बस्ने अधिवक्ता सागरमणि पोखरेल र शिक्षक कमला ज्ञवालीले मंगलबार एक अर्कालाई ५०-५० लाखको बीमा पोलिसी दिएका हुन् । उनीहरुले वर्षगाठ फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश दिएका छन् । लामो समयदेखि समाजसेवामा गर्दै आएका श्रीमान सागर पोखरेल पेशाले अधिवक्ता, सफल सहकारीकर्मी, बैंकका संस्थापक लगायत विभिन्न वित्तीय क्षेत्रमा रहेका छन् भने लामो समयदेखि बीमाको क्षेत्रमा पनि काम गर्दै आएका छन् । बिहान क्याम्पस र दिउँसो सरकारी विद्यालयमा अध्यापन गराउदै आएकी कमलाले, सिटिजन लाइफमा आफ्नो जीवनकालमा जम्मा गरेको रकमले बुढेसकालमा समेत उपयोगी हुने देखेपछि आफुहरुले बीमा गरेको बताइन् । सो कार्यक्रममा बोल्दै अधिवक्ता पोखरेलले आजसम्म आफुले खरिद गरेका सबै बीमा पोलिसी रकम तिरिसकेपछि सकिएको तर अहिले लिएको सिटिजन जीवन सारथी बाचुन्जेल चलिरहने बताए । र, आफुले बीमा गरेको रकम र बोनस फिर्ता लिगीसकेपछी पनि आफ्नो सुरक्षा रहिरहने भएकाले आफुलाई यो पोलिसी मनपरेको बताए । कार्यक्रममा बोल्दै एरिया म्यानेजर नरेश सिग्देलले उनीहरुले खरिद गरेको बीमा पोलिसी सबैभन्दा उत्तम रहेको दावी गरेका छन् । हरेक वर्ष विभिन्न रचनात्मक कार्य गर्दै आएका पोखरेल दम्पतिले आफ्नो अनुभव सुनाउँदै अहिलेसम्म ७ वटा बीमा पोलिसी परिपक्क भई आफुहरुलाई सो पैसाले छोराछोरीको उच्च शिक्षा लगायत विभिन्न कार्यहरुको लागि एकदमै सहयोगी भएको बताए ।

सम्मिश्रित वित्त व्यवस्थालाई अघि बढाउन बोर्डले माग्यो सुझाव

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्मिश्रित वित्त व्यवस्था तथा लगानी सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । सम्मिश्रित वित्त व्यवस्था तथा नियमावलीको मस्यौदा सम्बन्धमा सम्बन्धित निकाय तथा सरोकारवालाहरुसँग राय सुझाव लिने उद्देश्यले बोर्डले आज (असार २९ गते) भर्चुअल माध्यमबाट उक्त सम्पन्न गरेको हो । सरकारले आर्थिक वर्ष २०७७।७८ को बजेटमा सम्मिश्रित वित्त व्यवस्था तथा लगानीका अन्य वैकल्पिक उपकरणको व्यवस्था गरी निजी लगानी प्रवद्र्धन गर्ने कार्यक्रम ल्याएको छ । सो सम्बन्धी नियमावली तर्जुमा गरी पेश गर्ने निकायको रुपमा नेपाल धितोपत्र बोर्डलाई जिम्मेवारी तोकिएको छ । यससँगै बोर्डले सम्बन्धित निकाय तथा सरोकारवालाहरुसँग राय सुझाव लिएको हो । उक्त कार्यक्रममा बोर्डका का.मु. कार्यकारी निर्देशक विनयदेव आचार्यले स्वागत मन्तव्य तथा कार्यक्रमबारे प्रकाश पारेका थिए । त्यस्तै, सम्मिश्रित वित्त सम्बन्धी विज्ञ प्रा.डा. अच्युत वाग्लेले सम्मिश्रित वित्त सम्बन्धी धारणा, अन्तराष्ट्रिय अभ्यास र नेपालको सन्दर्भ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । साथै, उक्त कार्यक्रममा बोर्डका उप कार्यकारी निर्देशक डा.नवराज अधिकारीले सम्मिश्रित वित्त व्यवस्था तथा लगानी सम्बन्धी प्रस्तावित नियमावलीको व्यवस्थासम्बन्धी प्रस्तुती दिएका थिए । सो कार्यक्रममा कार्यपत्र प्रस्तुतिकरण पश्चात् भएको छलफल कार्यक्रममा सहभागीहरुबाट आएका जिज्ञासाहरु कार्यक्रमका प्रस्तोताहरु तथा सम्बन्धित विषयका विज्ञहरु अमृत खरेल र जोसेफ सिल्भानुसले सम्बोधन गर्दै सम्मिश्रित वित्तका सम्बन्धमा अझ प्रकाश पारेका थिए । कार्यक्रमका सभापति तथा बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले नेपाल सरकारको पुँजी बजार सम्बन्धी विषयको सल्लाहकार तथा पुँजी बजारको नियामक निकायको भूमिका बोर्डले निर्वाह गर्नुपर्ने परिप्रेक्ष्यमा नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरुप यस विषयलाई अगाडि बढाइएको बताएका छन् । साथै, सम्मिश्रित वित्त एउटा नयाँ धारणा तथा पद्धतिका रुपमा विकास भएको बताउँदै उनले यसको माध्यमबाट दिगो विकासको लक्ष्य हासिल गर्न निजी पुँजी प्रवाहमा गतिशिलता आउने बताएका छन् । साथै, निजी क्षेत्रलाई लगानीको नयाँ अवसर प्राप्त हुने पनि उनको धारणा रहेको छ । त्यस्तै, कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बोर्डले सम्मिश्रित वित्त व्यवस्थाका सम्बन्धमा उत्प्रेरकको भूमिका निर्वाह गर्न खोजेको धारणा राखेका छन् । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, बोर्डका कार्यकारी निर्देशक, अर्थ मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, उद्योग विभाग, नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएससीका प्रतिनिधीहरु, ब्रोकर तथा मर्चेन्ट बैंकर एशोसियसनका प्रतिनिधीहरु, विभिन्न लगानीकर्ता समूहका प्रतिनिधिहरु, आर्थिक पत्रकारहरु, सम्मिश्रित वित्तसम्बन्धी विज्ञहरु लगायत अन्य सरोकारवालाहरु तथा बोर्डका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।