महालक्ष्मी लिडर्स समिट-२०७८ सम्पन्न
काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे ‘महालक्ष्मी लिडर्स समिट-२०७८’ सम्पन्न भएकाे छ । कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरिबाट व्यवसायिक लक्ष्य पुरा गरेका बीमा अभिकर्ताहरुको सहभागिता रहेको थियो । समिटमा जीवन बीमा व्यवसायमा परम्परागत बीमा व्यवसायभन्दा फरक ढंगले आम जनतामा बीमाको पहुँच कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । विकसित मुलुकमा शिक्षा, स्वास्थ्य र बृद्ध अवस्थाको जिम्मेवारी सरकारले लिएको हुन्छ । नेपाल जस्तो स्रोत साधन कम भएको देशमा बीमा क्षेत्रले त्यो दायित्व निर्वाह गरिरहेकोले अभिकर्ता पेशामा नेतृत्व कसरी विकास गर्ने, बीमालाई व्यवसायिक रुपमा संचालन गर्न कम्पनी र अभिकर्ताले गर्नु पर्ने कामहरुको विषयमा सहभागिहरुलाई तालिम दिइएको थियो । निम्न वर्गमा बीमाको पहुँच बृद्धि गर्न तथा युवा वर्गमा बीमा सम्बन्धि जनचेतना बृद्धिको लागि ‘युवा सँग-महालक्ष्मी लाईफ’ कार्यक्रमलाई अझै प्रभावकारी रुपमा गाउँ गाउँ सम्म पुर्याउने निर्णय समेत गरेको छ । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले तथा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । प्रबन्धक सिताराम धिमालले संचालन गरेकाे कार्यक्रमको पहिलो सत्रमा मोटिभेटर राजाबावु साह र दोस्रो सत्रमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले अभिकर्ता पेशामा नेतृत्व विकास सम्बन्धमा तालिम प्रदान गरेका थिए ।
ज्योति विकास बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा ज्योति विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ । संस्थाको १५ लाख थान कार्त्तिक १४ गते नेप्सेमा सूचीकृत भएको हो । ९ प्रतिशत ज्योति विकास बैंक बण्ड २०८७ ऋणपत्र सूचीकरणको लागि नेप्से र ज्योति विकास बैंकबीच सम्झौता भएको छ । उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले ९ प्रतिशत व्याज पाउने छन् । संस्थाले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो । नेप्सेमा सूचीकृत भएसँगै संस्थाको उक्त ऋणपत्र कार्त्तिक १५ गतेदेखि किनबेच गर्न पाइने छ ।
काठमाडौं महानगरपालिकाको कर तथा राजस्व इसेवा मार्फत भुक्तानी गर्न सकिने
काठमाडाैं । नेपालको सबैभन्दा ठुलो र पुरानो महानगरपालिका काठमाडौं महानगरपालिकाको कर तथा राजस्व अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यससँगै अबदेखि काठमाडौं महानगरपालिकाको सम्पती तथा भूमी, व्यवसाय र बहाल कर इसेवा मार्फत सहजै भुक्तानी गर्न सकिने भएको हो । इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाईलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा पोइन्ट मार्फत कर भुक्तानी गर्न सक्नेछन् । स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने अपेक्षा गरिएको छ । महानगरबासीले दुई तरिका बाट इ–सेवा मार्फत भुक्तानी गर्न सक्नेछन् । यसको लागि नगरबासीले सुरूमा वडा कार्यालय मार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ । त्यसपछि इसेवाको मोबाईल एप अथवा वेभसाइटबाट भुक्तानी गर्न सकिनेछ भने काठमाडौ महानगरपालिकाको वेभसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इसेवा मार्फंत कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ । हालसम्म बनेपा नगरपालिका, बासगढी नगरपालिका, बर्दघाट नगरपालिका, बेलौरी नगरपालिका, बिराटनगर महानगरपालिका, बिष्णुपुर गाउँपालिका, बुटवल उप महानगरपालिका, छथर जोरपाटी गाउँपालिका, धनगढीमाई नगरपालिका, धरान उप महानगरपालिका, धुलिखेल नगरपालिका, गोदावरी नगरपालिका, गोकर्णेश्वर नगरपालिका, हेटौडा उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, काठमाडौँ महानगरपालिका, कावासोती नगरपालिका, केराबारी गाउँपालिका, कीर्तिपुर नगरपालिका, मध्यविन्दु नगरपालिका, नमोबुद्ध नगरपालिका, पुनर्वास नगरपालिका, सुन्दरहरैँचा नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका, तिलोत्तमा नगरपालिका लगायतका स्थानीय तहमा इसेवा मार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ ।