‘दोहोरी च्याम्पियन’ बन्नेलाई उपाधिसहित २० लाख रुपैयाँ र एक करोडको जीवन बीमा पनि

काठमाडौं । नेपाली मौलिकता बोकेको ‘दोहोरी च्याम्पियन’को नतिजाको अन्तिम प्रस्तुती पोखरामा भैरहेको छ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ सुरु भएको रियालिटी शो दोहोरी च्याम्पियन’को अन्तिम प्रस्तुतिको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरे । ‘दोहोरी च्याम्पियन’मा उपाधिका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहसँग बालचन्द्र बराल र शोभा कार्कीको समूहले प्रतिस्पर्धा गरिरहेको छ। यी दुईमध्ये एउटा समूहले च्याम्पियनको उपाधि पाउने छ भने तृतीय स्थानका लागि सविन आचार्य र रीता रावतको समूहसँग राजेन्द्र पाठक र मीना नेपालको समूहले प्रतिस्पर्धा गरिरहेको छ । बिजेता बनाउन दर्शकले साँझ ६ बजेसम्म भोट गरिसकेका छन् । ‘दोहोरी च्याम्पियन’ बन्नेले उपाधि सहित २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गर्नेछ भने त्यस्तै, दोस्रो हुने समूहले १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा र तृतीय हुने समूहले तीन लाख र सान्त्वना हुने समूहले दुई लाख रुपैयाँ प्राप्त गर्ने आयोजक कि एड्भरटाइजिंग नेपालले बताएको छ ।

सांग्रिलाको १७औं वार्षिकोत्सवः नयाँ शाखा सञ्चालनदेखि गैर सरकारी संस्थालाई २ लाख सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सुर्खेतमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा सुर्खेतस्थित यारीचोकमा शाखा कार्यालयमा सञ्चालनमा ल्याएको हो । बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरी विभिन्न कार्यक्रम गरी मनाएको हो । बैंकले वार्षिकोत्वकै दिन १००औं शाखाको रुपमा सुर्खेत स्थित यारीचोकमा शाखा कार्यालयमा सञ्चालनमा ल्याएको छ । त्यस्तै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने सन्दर्भमा गैर सरकारी संस्था श्री इ-नेवल नेपाललाई कृत्रिम अंग वितरणका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले रकम २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए । वार्षिकोत्सवको अवसरमा बैंकले कम्पनीमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र तथा तक्मा प्रदान गरिएको थियो । सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक उत्सवको अवसर पारेर आजकै दिन देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आन्तरिक विप्रेशण सेवा समेत सञ्चालनमा ल्याएको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ भट्टराई सम्मानित

काठमाडौं । बैंक तथा बीमा क्षेत्रका विज्ञ तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराई सम्मानित भएका छन् । वीरगञ्जको रेडियो नारायणीले कार्त्तिक १३ गते एक कार्यक्रमको आयोजना गरी भट्टराईलाई सम्मान गरेको हो । तीन दशकभन्दा लामो समयदेखि बैंक तथा बीमा क्षेत्रमा सक्रिय रहेका भट्टराई नारायणी एफएफका संस्थापक अध्यक्ष समेत हुन् । संस्थापक अध्यक्षका हिसाबले उनलाई सम्मान गरिएको हो । शनिबार वीरगञ्जमा आयोजित विशेष समारोहकाबीच शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले कदर पत्रसहित सम्मान गरेका हुन् ।