किसान लघुवित्तले घोषणा गर्यो गत वर्षको लाभांश
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । माघ २ गते साँझ बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त आव नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत अर्थात ९ करोड ८२ लाख २ हजार १९४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ छ । २५ प्रतिशत बोनस सेयर पारित पछि संस्थाको चुक्ता पुँजी ४९ करोड १० लाख रुपैयाँ पुग्ने छ । संस्थाको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।
सोमबार बुद्धभूमि नेपालको सेयर कारोबार नहुने
काठमाडौं । सोमबार बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर कारोबार नहुने भएको छ । स्पेसल प्री ओपनिङको समयमा सेयर म्याचिङ नभएकोले कम्पनीको माघ ३ गतेको नियमित समयमा संस्थाको सेयर कारोबार नहुने भएको हो । यससँगै अब बुधबारको स्पेसल प्री ओपन सेसनमा कारोबार म्याच भएपछि मात्रै संस्थाको सेयर नियमित समयमा कारोबार हुने छ । दोस्रो बजारमा जुनसुकै कम्पनीको सेयर स्पेसल प्री ओपन सेसनमा म्याचिङ भएपछिमात्र नियमित समयमा कारोबार हुने व्यवस्था रहेको छ । यदि म्याचिङ भएन भने सो दिन कारोबार हुँदैन र अर्को दिनको प्री ओपनिङमा म्याचिङ भएपछि मात्रै उक्त संस्थाको नियमित सेयर कारोबार हुने छ । कम्पनीको सेयर गत तीन महिनापछि मात्रै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । गत असोजमा बाँडफाँड भएको कम्पनीको आईपीओ माघ २ गते मात्रै नेप्सेमा सूचीकरण भएको हो । कम्पनीको ४० लाख कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले गत असोज ११ देखि १४ गतेसम्म २८ लाख कित्ता सेयर सर्वसाधारणको लागि (आईपीओ) जारी गरेको थियो । नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको पहिलो कारोबार न्यूनतम ८४.०५ देखि २५२.१५ रुपैयाँको बीचमा गर्न मिल्ने भएको छ । नेप्सेले कम्पनीलाई उक्त ओपनिङ रेन्ज तोकिदिएको हो । साथै, कारोबारको लागि कम्पनीको नेप्से सिम्बोल ‘बीएनएचसी’ तोकिएको छ ।
नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । माघ ३ गते बिहान बसेको कम्पनी सञ्चालक समितिले उक्त प्रस्ताव गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।