दुई निर्जीवन बीमा कम्पनीले ९९ कराेड रूपैयाँकाे हकप्रद जारी गर्ने

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीले ९९ करोड ५ लाख रूपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएका छन् । शिखर इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्सले अब छिट्टै नेपाली पुँजीबजारमा ९९ करोड ५ लाख ९१ हजार रूपैयाँ बराबरको हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएका हुन् । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति दिएसँगै यी दुई इन्स्योरेन्सलाई सो मात्राको हकप्रद जारी गर्न बोटो खुला भएको हो ।  माघ ५ गते बसेको बोर्डको सञ्चालक समितिको बैठकले लामो समयअघिदेखि पाइपलाइनमा रहेका शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्सलाई हकप्रद जारी गर्न स्वीकृति दिएको बोर्डका कार्यकारी निर्देशन निरज गिरीले जानकारी दिए । जसमध्ये शिखर इन्स्योरेन्सले करिब ८ महिना र आईएमई जनरल इन्स्योरेन्सले करिब ५ महिनाको पर्खाइपछि बल्ल स्वीकृति पाएका हुन् । यससँगै शिखरले ३० प्रतिशत अर्थात ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ । बोर्डले इन्स्योरेन्सलाई अंकित मूल्य एक सय रुपैयाँ दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रदको लागि स्वीकृति दिएको हो । उक्त हकप्रद सेयर निष्काशन गर्नको लागि इन्स्योरेन्सले निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । हाल शिखरको चुक्ता पुँजी एक अर्ब ७५ करोड ६१ लाख रुपैयाँ छ । ५२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रदपछि शिखर इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २८ करोड ३६ लाख रुपैयाँ पुग्ने छ । त्यस्तै, गत भदौ १७ गते बोर्डसँग स्वीकृति मागेको आईएमई जनरल इन्स्योरेन्सले करिब ५ महिनापछि हकप्रदको लागि स्वीकृति पाएको छ । बोर्डले आईएमई जनरललाई ४० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । यससँगै इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँ दरका ४६ लाख ३० हजार ३४४ कित्ता अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ छ । ४६ करोड ३० लाख रुपैयाँपछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ६२ करोड ५ लाख रुपैयाँ पुग्ने छ । सूचीकृत कम्पनीको नियमकारी निकाय नेपाल धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्वबिहीन भएकाले हकप्रद तथा आईपीओको लागि अनुमति दिने कार्य भएको थिएन । हाल पनि बोर्ड नेतृत्वबिहीन नै रहेको छ । तर, बोर्डका कार्यकारी निर्देशक निरज गिरीले अध्यक्ष पदको जिम्मेवारी पाएपछि बोर्डले हकप्रद तथा आईपीओको अनुमति दिने कार्य शुरु गरेको हो । साथै, अब अन्य दुई कम्पनी हकप्रद सेयर निष्काशन गर्नेको पाइपलाइनमा छन् । जसमा अपि पावर कम्पनी र नेपाल फाइनान्स रहेका छन् । अब बोर्डले स्वीकृति दिएपछि अपि पावरलाई १ अर्ब ८ करोड रुपैयाँ र नेपाल फाइनान्सलाई ३४ करोड ५४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन तथा बिक्री गर्न बाटो खुल्ने छ ।

नेप्से परिसूचक ३८.३५ अंकले गिरावट

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८.३१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको छ । आज कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ८ अर्ब बढीको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचकमा गिरावट आएको छ । जसमा व्यापार उपसमूह, फाइनान्स उपसमूह, विकास बैंक उपसमूहको सूचक भारी अंकले गिरावट आएको छ । आज कारोबारमा आएको बुद्धभूमि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । सामलिङ्ग पावरको ९.९६ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२९ प्रतिशत र सेञ्चुरी बैंकको २.७९ प्रतिशतले बढेको छ । त्यस्तै, यता घलेम्दी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ४.३४ प्रतिशतले घटेको छ । कालिका लघुवित्तको ४.२३ प्रतिशत, मध्य भोटेकोशी हाइड्रोपावरको ३.८३ प्रतिशत र गुह्वेश्वरी फाइनान्सको ३.६७ प्रतिशतले घटेको छ । कारोबारको आधारमा अपि पावरको सबैभन्दा धेरै २० करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अन्य अरुण भ्याली हाइड्रोपावरको २० करोड, ७ लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको १५ करोड ३१ लाख, अपर तामाकोशीको १५ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

माइ पे बाट हवाई टिकट बुकिङ गर्दा १ हजारसम्मकाे क्यासब्याक

काठमाडाैं । माइ पे डिजिटल वालेटले आन्तरिक हवाई टिकट बुकिङ सेवा समेत सुचारु गरेको छ । यस सुविधा अन्तर्गत नेपालभित्र कुनै पनि गन्तव्यका लागि माइ पे वालेट मार्फत हवाई टिकट बुकिङ गर्दा अधिकतम १ हजारसम्म र न्यूनतम ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ । वालेटले यस क्यासब्याक योजना अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइने क्यासब्याकभन्दा धेरै रहेको दाबी गरेको छ । हाल यस माइ पे वालेट मार्फत आन्तरिक एयरलाइन्सका टिकट बुकिङ गर्दा ३ हजार सम्मको टिकट बुकिङमा ७ प्रतिशत र ३ हजारभन्दा माथिको टिकट बुकिङमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिन्छ । साथमा हरेक दिन माइ पे मार्फत टिकट बुकिङ गर्ने मध्ये भाग्यशाली ३ जनालाई अतिरिक्त १० प्रतिशत क्यासब्याक समेत प्राप्त गर्न सक्नेछन् । यो योजना सीमित अवधिका लागि रहेको माइ पे ले जानकारी दिएको छ । उक्त क्यासब्याक प्राप्त गर्न ग्राहकहरुले माइ पे वालेट डाउनलोड गरी कारोबार गर्न सक्नेछन् । यसका साथै माइ पे काे अनुसार वालेट मार्फत अन्य जुनसुकै पहिलो भुक्तानी कारोबार गर्दा २५ प्रतिशत अधिकतम १०० सम्म क्यासब्याक समेत प्राप्त गर्न सकिने छ ।