काठमाडौं । एनसिएचएले नेपाल–क्युआर स्ट्याण्डर्डको नेपालपे क्युआर संचालनमा ल्याएको छ । केही बैंक वित्तीय संस्थाहरुको सहकार्यमा एनसिएचएलले नेपालपे क्युआर शुक्रबारबाट सञ्चालनमा ल्याएको हो ।
नेपाल क्लियरिङ्ग हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआवद्धता कायम गर्ने गरी नेपालपे क्युआर सञ्चालनमा ल्याएको हो ।
क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्युआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआवद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । यसरी अन्तर आवद्धता कायम गर्न सकिने हुँदा उक्त नेपालपे क्युआरले नेपालमा क्युआरबाट हुने भुक्तानीलाई थप प्रवर्धन र सहज गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
हालकाे लागि हिमालय बैंक, सानिमा बैंक, समृद्धि फाइनान्स, कनेक्ट आइपिएस लगायतका मोबाईल एपबाट नेपालपे क्युआर स्क्यान गरी कारोबार गर्न सकिने छ । साथै नेपालपे क्युआरको पूर्वाधारमा हिमालय बैंक, एनआइसी एशिया बैंक, कामना सेवा विकास बैंक, समृद्धि फाइनान्स र फोकसवान सोलुसनस् मार्फत क्युआर अक्वायर्डको कार्य पनि सुरु भइसकेको कम्पनीले जानकारी दिएको छ ।
यस्तै हिमालयन बैंक र फोकसवान सोलुसन्स्बीच भने मर्चेन्ट स्तरको अन्तरआवद्धता कायम गर्ने गरी व्यवस्था मिलाएको कम्पनीले जानकारी दिएको छ । यस अन्तर्गत एउटै क्युआरलाई स्क्यान गरी भिसा, युनियन पे र नेपालपे क्युआर लगायतका विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सकिनेछ ।