सर्वाधिक प्रिमियम संकलन गरेका ६ जनालाई सूर्या लाइफको सम्मान, ४६ जनाले पाए ट्रफी

चितवन । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले दुई दिने एनुअल रिकग्निसन कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले उद्घाटन गरेकाे उक्त कार्यक्रममा  १५० भन्दा बढी अभिकर्ता र कर्मचारीहरु सहभागी थिए । चितवनको सौराहामा असोज १ गतेदेखि २ गतेसम्म भएको उक्त कार्यक्रममा गत आर्थिक वर्षमा देशैभरिमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (व्यक्तिगत व्यवसाय) तीन जनालाई एजेन्सी अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेमा बुटवल शाखाका कमलप्रसाद घिमिरेलाई सीईओ खड्काले अवार्डसहित सम्मानित गरेका थिए । त्यस्तै सोही विधामा ललितपुर शाखाका पदमबहादुर फागो र बिमला राई फस्ट रनर अप र सेकेन्ड रनर अप भएका थिए । त्यस्तै, गत आर्थिक वर्षमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (सामूहिक व्यवसाय) अभिकर्ताहरुलाई एजेन्सी म्यानेजर एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो । यस विधामा ललितपुर शाखाका उप्रिन्द्र राई विजेता, कमलप्रसाद घिमिरे र भक्त बहादुर राई फस्ट रनर अप र सेकेन्ड रनर अप भएका थिए । त्यस्तै देशैभरि रहेका शाखाहरुमा उत्कृष्ट शाखाको रुपमा काठमाडौं शाखा पुरस्कृत भएको थियो भने बुटवल र ललितपुर क्रमशः फस्ट रनर अप र सेकेन्ड रनर अप भएका थिए । कम्पनीले देशैभरका सात प्रदेशबाट उत्कृष्ट व्यवसाय गर्ने प्रदेशलाई ‘बेस्ट रिजन अवार्ड’को ‘रनिङ शिल्ड’ यसपटक बागमती प्रदेशले हात पारेको थियो । उक्त अवसरमा विभिन्न १२ विधाका साथै अन्य गरी ४६ जनालाई कम्पनीले ट्रफीसहित सम्मान गरिएको थियाे ।  

नेपाल लाइफको प्रिमियम अब क्युआरबाटै तिर्न मिल्ने, जीवन बीमा क्षेत्रमै शुरु गर्यो नयाँ अभ्यास

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डाइनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ । कम्पनीले ई-सेवा सँगको सहकार्यमा उक्त सिस्टम सञ्चालनमा ल्याएको हो । जसको शुरुवात कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले गरेका हुन् । त्यस्तै, नेसनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक क्युआरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गरे । यससँगै नेपाल लाइफ इन्स्योरेन्स डाइनामिक क्युआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको छ । अब नेपाल लाइफका देशैभरिका शाखा तथा उपशाखाहरूबाट डाइनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिने छ । डाइनामिक क्युआर पेमेन्ट सिस्टमको माध्यमबाट २ लाख रुपैयाँसम्मको भुक्तानी ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने छ । अरु छेत्रमा डाइनामिक क्युआर पहिलेदेखि नै प्रचलनमा भएपनि जीवन बीमा छेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकको लागि फरक फरक क्युआर बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता हो । कार्यक्रममा बोल्दै सीईओ पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज, सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने जनाए । त्यस्तै, ई-सेवाका प्रबन्धक आशिष गौतमले नेपालकै सर्वाधिक विश्वासिलोे नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनी प्रति कृतज्ञता जाहेर गरे ।

खल्तीका ग्राहकले फोनपेबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने

काठमाडौं । खल्ती डिजिटलका ग्राहकले खल्तीको मोबाईल एप्स्मार्फत पहिलोपटक फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म अथवा बढिमा सय रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन् । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे र डिजिटल वालेट खल्तीका ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता पत्रमा खल्तीका प्रयोगकर्ता विभागका प्रमुख अविनास गुप्ता र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट प्रमुख रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका हुन् । नेपालीहरुको महान चाड दशैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उदेश्यले यो योजना ल्याइएको हो । यो योजना असोज ४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ । फोनपे नेटवर्कमा आवद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आवद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । एक करोड ५० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ । भुक्तानी सेवा प्रदायक खल्ती मार्फत विभिन्न किसिमका भुक्तानी तथा किनमेल गर्न सकिन्छ । खल्ती मार्फत मोबाईल रिचार्ज, बिजुली, खानेपानीको महशुल लगायतका थुप्रै सेवाको भुक्तानी तथा किनमेल गर्न सकिन्छ ।