छोरी जीवन बीमा गराउन बाँकेको जानकी गाउँपालिकाले छुट्यायो १० लाख बजेट

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा छोरी जीवन बीमा कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्षदेखि सो कार्यक्रम लागू भएको गाउँपालिकाका प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’अन्तर्गत सो कार्यक्रम लागू गरेको हो । ‘कार्यपालिकाको बैठकबाट पास भएको कार्यविधिअनुसार छोरी जीवन बीमा कार्यक्रम लागू भएको छ,’ प्रशाकीय अधिकृत डाँगीले भने । यसलाई प्रभावकारी कार्यान्वयन गराउन गाउँपालिकाको सबै वडामा पत्राचार गरेको उल्लेख गर्दै उनले सबै वडामा विसं २०७९ साउनयता जन्मेका छोरीहरुले बीमाको सेवा पाउने बताए । अधिकृत डाँगीले छोरी जीवन बीमा कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिँदै छुट्ट्याइएको रकम अपुग भए अन्य रकमसमेत विनियोजन हुने उल्लेख गरे । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुलाई गाउँपालिकाकातर्फबाट वार्षिक पाँच हजारका दरले जीवन बीमाको प्रिमियिम पर्ने गरी आउने बीमाङ्क रकम बराबरको जीवन बीमा गरिने छ । यसअघि सो गाउँपालिकाको १२औँ गाउँसभाले ‘गाउँपालिका अध्यक्षसँग छोरी कल्याण कार्यक्रम’पारित गरेको थियो । उक्त कार्यक्रम अन्तर्गत केही दिनअघि बसेको गाउँपालिकाको बैठकले छोरी जीवन बीमा कार्यक्रमका साथै गाउँपालिकाका अध्यक्षसँग छोरी कल्याण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ स्वीकृत गरेको थियो । रासस

नुवाकोटमा खर्च विवरण नबुझाउने उम्मेदवारबाट ३० करोड असुल गरिने

नुवाकोट । तोकिएको समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरूबाट करिब ३० करोड रुपैयाँ जरिवाना असुल हुने भएको छ । निर्वाचन आयोगले हालै सार्वजनिक गरेको समयमा निर्वाचन खर्च विवरण नबुझाउने जिल्लाका एक हजार छ सय ९४ जना उम्मेदवारबाट २० करोड ९७ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार विदुर नगरपालिकामा प्रमुख पदका छ र उपप्रमुख पदका पाँच छन् । बेलकोटगढीमा प्रमुख र उपप्रमुख पदका पाँच–पाँच गरेर दश उम्मेवारलाई जरिवाना तोकिएको छ । नगरपालिकाका प्रमुख र उपप्रमुखले जनही चार लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने भएकाले निर्वाचन खर्च विवरण नबुझाएका २१ जनाबाट कुल ९४ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गर्नुपर्ने देखिएको छ । नगरपालिकाको वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवार भएर समयमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको सङ्ख्या चार सय २७ छन् । उनीहरूलाई निर्वाचन आयोगले जनही दुई लाख रुपैयाँ जरिवाना तिनुपर्ने निर्णय गरेको छ । आयोगको निर्णयानुसार नगरपालिकाको वडाध्यक्ष र सदस्य पदका उम्मेदवारबाट आठ करोड ५४ लाख रुपैयाँ असुल गर्नुपर्ने देखिन्छ । यस्तै गाउँपालिकातर्फ जिल्लामा रहेको १० गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका ९० उम्मेदवारले निर्वाचन खर्च विवरण समयमा नुबझाएकाले जरिवानामा परेका छन् । उनीहरूबाट जनही तीन लाख ५० हजार रुपैयाँका दरले तीन करोड १५ लाख रुपैयाँ असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिए । यस्तै गाउँपालिकाको वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवार भएर समयभित्र खर्च विवरण नबुझाएका उम्मेदवारको सङ्ख्या जिल्लाभरमा एक हजार एक सय ५६ जना छन् । उनीहरूलाई निर्वाचन आयोगले जनही एक लाख ५० हजार रुपैयाँ जरिवाना लाग्ने निर्णय गरेको छ । आयोगको निर्णयाअनुसार गाउँपालिकाका वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारबाट १७ करोड ३४ लाख रुपैयाँ जरिवाना असुल गर्नुपर्ने देखिन्छ । गत वैशाख ३० मा सम्पन्न भएको निर्वाचनको खर्च विवरण निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र बुझाउनुपर्ने भनिएको थियो । उक्त अवधिमा खर्च विवरण नबुझाउने सूचीमा निर्वाचित जनप्रतिनिधिसमेत उल्लेख्य सङ्ख्यामा रहेका छन् । जरिवानाको निर्णय गरेको छ महिनाभित्र भुक्तानी गरिसक्नुपर्ने जनाएको छ । निर्वाचित पदाधिकारीले उक्त अवधिमा भुक्तानी नगरे स्वतः पद जाने निर्णय भएकाले खर्च विवरण बुझाउन चासो नदिए पनि जरिवाना शुल्क भने समयमै दाखिला हुने विश्वास लिएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए । उनको अनुसार निर्वाचन आयोगले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको उम्मेदवारहरूको नामावली अहिले सार्वजनिक गरेको हो । ‘कार्यपालिका र जिल्ला समन्वय समितिका अधिकांश उम्मेदवारले पनि खर्च विवरण बुझाउन बाँकी छ’, गौतमले भने, ‘उनीहरूको हकमा के हुने भन्ने आयोगबाट निर्णय हुन बाँकी छ ।’ नुवाकोटमा स्थानीय तह निर्वाचनअन्तर्गत पालिका तह, पालिकाको कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिसमेत गरेर तीन चरणको निर्वाचनमा दुई हजार एक सय ७३ जनाले उम्मेदवारी दिएका थिए । त्योमध्ये तोकिएको समयभित्र खर्च विवरण बुझाउनेको सङ्ख्या तीन सय १२ जना मात्र रहेको थियो । रासस

रिलायन्स लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडाैं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नाे केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले डेंगुकाे कारण रगत अभाव हुँदै गइरहेको मध्यनजर गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएकाे छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रमा काठमाडाैं, ललितपुर, भक्तपुर र काभ्रेका रिलायन्स लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरुले रगत दिएका थिए । यसका साथसाथै विभिन्न मिडियाकर्मी र अन्य सर्वसाधरणले समेत उक्त रक्तदान कार्यक्रममा सहभागी जनाएका थिए । उक्त कार्यक्रममा १०० जनाले रक्तदान गरेका थिए । रक्दान कार्यक्रमले धेरै बिरामीहरुको ज्यान सुरक्षित हुन मद्धत पुग्ने कम्पनी विश्वस्त रहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले बताए । रिलायन्स लाइफ इन्स्योरेन्सको हाल देशभर १२४ शाखाहरु रहेका छन् भने १५ सयभन्दा बढी कर्मचारीहरु रिलायन्स लाइफमा कार्यरत छन् । रिलायन्स लाइफ इन्स्योरेन्सको केन्द्रिय कार्यालय नयाँबानेश्वरमा रहेको छ । जीवन बीमा सम्बन्धी कुनैपनि जानकारीका लागि कम्पनीको २४/७ सम्पर्क सेन्टर स्थापना गरेका छ ।