महुली लघुवित्त नाफा घटेपछि ईपीएस २९.७७ रुपैयाँले गिरावट
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ७८ प्रतिशत घटेर ५८ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड ६८ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ४.४७ प्रतिशत घटेर ७ करोड ३३ लाख ५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ६७ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २.३९ प्रतिशत घटेर ९ करोड ९६ लाख ४३ हजार रुपैयाँ र इम्पेरमेन्ट चार्जमा २ करोड ९३ लाख रुपैयाँ रहेको छ । यस्तै लघुवित्तको सञ्चालन मुनाफा ७८.६८ प्रतिशत घटेर ८३ लाख २६ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार रुपैयाँ, जगेडा कोष १.७५ प्रतिशत बढेर ३२ करोड ६३ लाख ६३ हजार रुपैयाँ, सापटी ३.५२ प्रतिशत बढेर १ अर्ब ६९ करोड ८३ लाख ६० हजार रुपैयाँ र कर्जा ७.७३ प्रतिशत बढेर ४ अर्ब ८५ करोड ४४ लाख ५३ हजार रुपैयाँ पुगेको छ । लघुवित्तको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । यस अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७७ पैसा घटेर ८ रुपैयाँ २६ पैसामा सिमित भएको छ । । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ३८ रुपैयाँ ३ पैसा रहेको थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात १२८.४१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ६६ पैसा रहेको छ । लघुवित्तको कस्ट अफ फण्ड १०.३७ प्रतिशत र खराब कर्जा २.२५ प्रतिशत रहेको छ ।
नेपाल बुद्धिचाल संघलाई समृद्धि फाइनान्सले सहयोग गर्ने
काठमाडौं । नेपाल बुद्धिचाल संघ र समृद्धि फाईनान्स कम्पनीका बीच प्रायोजन सम्झौता भएको छ । नेपाल बुद्धिचाल संघले १९ देखि २१ कात्तिकसम्म आयोजना गर्ने नेसनल भेट्रान्स चेस च्याम्पियनसीपका लागि प्रायोजन सम्झौता गरिएको हो । शुक्रबार एक समारोहबीच नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम तथा समृद्धि फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । करिब सात लाख ५० हजारको लागतमा सम्पन्न हुने च्याम्पियनसीपको मुख्य प्रायोजकका रूपमा समृद्धि फाइनान्सले नेपाल बुद्धिचाल संघलाई तीन लाख रुपैयाँ प्रदान गर्नेछ । सिइओ लोहनीले चेस संघसँगको प्रायोजन सम्झौतालाई निरन्तरता दिन आफू प्रतिवद्ध रहेको बताए । बुद्धिचाल संघका अध्यक्ष गौतमले विभिन्न विधाका करिब १५ वटा राष्ट्रिय प्रतियोगिताहरु नियमित रुपमा सञ्चालन गर्न प्रयासरत रहेको जानकारी दिए । उनले कर्पोरेट सेक्टरको प्रत्यक्ष सहभागितामा मात्र नेपालमा चेस खेललाई व्यावसायीकरण गर्न सकिने बताए । संघले आगामी मंसिर महिनामा नेसनल बी तथा नेसनल सिटी च्याम्पियनसीपको समेत तयारी सुरु गरिसकेको सचिव उमेश केसीले बताए ।
सूर्या लाईफ र ज्योती लाईफको मर्ज पक्का
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ । शुक्रबार भएकाे सम्झाैतामा दुवै कम्पनीका संचालक समितिका अध्यक्षले हस्ताक्षर गरेका छन् । दुवै कम्पनीबीच मर्जर गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता २०७९ असार १२ गते सम्पन्न भइ बीमा समितिबाट २०७९ असार १३ गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो । नेपालको बीमा क्षेत्रमा जीवन बीमा कम्पनीहरुबीच मर्जरको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भइ मर्जरको ढोका खुलेको यो नै पहिलो सम्झौता हो । अन्तिम सम्झौतापत्रमा उल्लेख भए अनुसार गाभिए पश्चात बन्ने कम्पनीको नाम सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी कायम हुनेछ भने रजिष्टर्ड कार्यालय विराटनगर, मोरङ्गमा तथा केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडाैंमा रहनेछ । मर्जर पश्चात बन्ने संचालक समितिमा गाभिए पश्चात बन्ने कम्पनीको साधारण सभा सम्पन्न नभए सम्मको लागि दुवै कम्पनीबाट ३–३ जना र एक जना स्वतन्त्र संचालक गरी ७ सदस्यीय संचालक समिति बन्नेछ भने साधारण सभाले नयाँ संचालक समितिको चयन गर्नेछ । नयाँ बन्ने संचालक समितिको अध्यक्षमा सूर्या लाईफ इन्स्योरेन्सका केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाईफ इन्स्योरेन्सका प्रकाश विक्रम खत्री रहनेछन् भने सूर्या लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् । सेयर स्वाप अनुपात १ः०.८२४५ अर्थात गाभिए पश्चात बन्ने कम्पनीको सेयर सूर्या लाईफका सेयरधनीले १ सेयर बराबर १ सेयर पाउनेछन् भने ज्योति लाईफका सेयरधनीले १ सेयर बराबर ०.८२४५ सेयर पाउनेछन् । उक्त सेयर स्वाप अनुपात अनुसार गाभिए पश्चात बन्ने कम्पनीको कुल चुक्ता पुँजी करिब ४ अर्ब ५५ करोड पुग्नेछ । अन्तिम सम्झौता भए संगै दुवै कम्पनीले छिट्टै नै साधारणसभा आह्वान गर्ने र साधारणसभाबाट मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्र अनुमोदन भए पश्चात सम्बन्धीत नियमनकारी निकायहरुमा मर्जरको लागि स्वीकृती माग गरी आवेदन दिने र ति निकायहरुबाट स्वीकृती आए पश्चात २०७९ मंसिर मसान्त भित्रमा एकिकृत कारोबार संचालन गर्ने सहमति समेत भएको छ । मर्जर पश्चात बन्ने कम्पनीको मुख्य सुचकांङ्क (आ.व. ०७८/७९) को चौथो त्रैमासकाे अपरिष्कृत वित्तीय विवरण अनुसार जीवन बीमा कोष २०.३६ अर्ब रुपैयाँ, जगेडा कोष १.४४ अर्ब रुपैयाँ, कुल लगानी २३.७८ अर्ब रुपैयाँ, खुद नाफा ३७.३७ करोड रुपैयाँ र कुल बीमा शुल्क ८.८६ अर्ब रुपैयाँ हुनेछ ।