नेपाल लाइफको १५.७८ प्रतिशत लाभांश तपाइको खातामा आयो ?
काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्सले लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीको मंसिर ८ गते २२ औं बार्षिक साधारण सभाले पारित गरेको लाभांश सेयरधनीहरुको खातामा जम्मा गर्न सुरु गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गरको हो । कम्पनीले उक्त लाभांश सेयरधनीको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गरेको जनाएको छ । यदि उक्त लाभांश सेयरधनीहरुको खातामा नआएको भए सेयरको प्रमाणपत्र अभौतिकिकरण गरिसकेकाले पनि हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरि नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तिय संस्थामा रहेको आफ्नो बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराउनु पर्नेछ । यस्तै, हालसम्म हितग्राही खाता खोल्न बाँकी सेयरधनीहरुले आफुलाई पायक पर्ने सम्बन्धित कुनै पनि निक्षेप सदस्यकोमा हितग्राही खाता खोली आफ्नो सेयरहरु अभौतिकीकरण गराउनुपर्नेछ । साथै बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमन अनुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीले नै व्यहोर्नु पर्ने कम्पनीले बताएको छ । कम्पनीको सेयर कात्तिक १७ गतेसम्म धितो बन्धक राखि कर्जा सुविधा उपभोग गरेका सेयरधनीहरुले नो अब्जेक्सन लेटर ल्याएपश्चात् मात्रै नगद लाभांश बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।
यी हुन् लाभांश प्रस्ताव गर्ने ७ निर्जीवन कम्पनी, कुनको बढी ?
काठमाडौं । अहिले वित्तीय संस्थाहरु धमाधम लाभांश प्रस्ताव गरिरहेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई वितरण गर्न लाभांश प्रस्ताव गरिरहेका हुन् । मंगलबारसम्म ७ वटा इन्स्योरेन्स कम्पनीको लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्नेमा ७ वटै निर्जीवन बीमा कम्पनी रहेका छन् । हालसम्म आइएमई जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्ने बीमा कम्पनीहरुमा सबैभन्दा धेरै लाभांश नेको इन्स्योरेन्सको रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब नाघ्नेछ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा पनि १५.७९ प्रतिशत लाभांश प्रदान गरेको थियो भने २०७६/७७ मा १६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बढी लाभांश प्रस्ताव गर्नेको दोस्रो इन्स्योरेन्स कम्पनीमा प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेका छ । कम्पनीले ५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । प्रिमियरले गत वर्ष पनि १५ प्रतिशत लाभांश नै वितरण गरेको थियो तर त्यसमा १४.२५ प्रतिशत बोनस र मात्र ०.७५ प्रतिशत नगद लाभांश रहेको थियो । गएको ५ वर्षमा कम्पनीले सबैभन्दा बढी लाभांश २०७४/७५ मा ८४ प्रतिशत गरेको थियो भने सबैभन्दा कम २०७६/७७ मा ११.०५ प्रतिशत गरेको थियो । यस्तै, बढी लाभांश प्रस्ताव गर्नेको तेस्रोमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीले आइतबार मात्रै गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र ०.५२६३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गएको दुई वर्षअघि पनि यही लाभांश वितरण गरेको थियो । यस्तै, लाभांश प्रस्ताव गर्ने कम्पनीमा सिद्धार्थ इन्स्योरेन्स पनि रहेको छ । कम्पनीले यस वर्ष सेयरधनीहरुलाई ९.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको प्रस्तावित लाभांश गएको दुई वर्षको दाँजोमा कम हो । कम्पनीेले गएको दुई वर्ष सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो । नेपाल इन्स्योरेन्सले पनि लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत वर्षको लाभांशबाट सेयरधनीलाई ८.४२११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश गएको दुई वर्षको दाँजोमा कम हो । कम्पनीले गत वर्ष सेयरधनीलाई ११.५७८९ प्रतिशत र अघिल्लो वर्ष १० प्रतिशत लाभांश वितिरण गरेको थियो । यस्तै, आइएमई जनरल इन्स्योरेन्सले ६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको ६.५ प्रतिशत बोनस र ०.३४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीले गएको दुई वर्षमा वितरण गरेको लाभांशको दाँजोमा कम हो । कम्पनीले गएको दुई वर्ष सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो । हालसम्मको प्रस्तावित लाभांशमा सबैभन्दा कम युनाइटेड इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । यद्यपि कम्पनीले ५ वर्षपछि लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा १० प्रतिशत र २०७१/७२ मा २० प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीहरुले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई सम्बन्धित कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले पाउनेछन् ।
बीमा कम्पनीले पोलिसी नवीकरणबाटै उठाए पौने ३७ अर्ब बढी, कुनले कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमालेख नवीकरणबाट मात्रै ३७ अर्ब ८९ करोड ४२ लाख रुपैयाँ संकलन गरेका छन् । सञ्चालित १९ जीवन बीमा कम्पनीले चालु आवको चार महिनामा सो मात्राको रकम बीमा पोलिसी नवीकरणबाट उठाएका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीहरुले पछिल्लो एक महिनामै ८ अर्ब २१ करोड २९ लाख रुपैयाँ बीमा पोलिसी रिन्यु गरेवापत उठाएका छन् । असोजसम्ममा कम्पनीहरुले उक्त शीर्षकमा २८ अर्ब ६८ करोड १३ लाख रुपैयाँ संकलन गरेका थिए । सञ्चालित १९ कम्पनीमध्ये १० कम्पनीले अर्बौं बढी रुपैयाँ पुराना बीमा पोलिसी नवीकरण गरेरै उठाएका छन् । जसमध्ये नेपाल लाइफले नवीकरणबाट सर्वाधिक रकम उठाएको छ । कम्पनीले चार महिनामा ११ अर्ब १४ करोड रुपैयाँ बराबरको रकम संकलन गरेको हो । त्यस्तै, नवीकरणबाट बढी रकम उठाउनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) दोश्रोमा रहेको छ । कम्पनीले साउनदेखि कार्त्तिकसम्ममा ५ अर्ब ८ करोड ७४ लाख रुपैयाँ नवीकरणबाट मात्रै संकलन गरेको छ । त्यस्तै, उक्त शीर्षकमा एक अर्ब बढी रकम संकलन गर्नेमा अन्य ८ कम्पनी रहेका छन् । जसमा नेशनल लाइफले ४ अर्ब ४० करोड, आईएमई लाइफले २ अर्ब ९ करोड, एशियन लाइफले १ अर्ब ८३ करोड, राष्ट्रिय बीमा संस्थानले १ अर्ब ३० करोड, मेट लाइफले एक अर्ब ३० करोड, प्राइम लाइफले १ अर्ब २७ करोड, सूर्या लाइफले १ अर्ब १८ करोड, सिटिजन लाइफले एक अर्ब २२ करोड रुपैयाँ जीवन बीमा पोलिसी रिन्यु मार्फत आर्जन गरेका हुन् । त्यस्तै, अन्य ९ कम्पनीले करोडौं रकम बीमालेख नवीकरणबाटै आर्जन गरेका छन् । जसमध्ये अधिकांश नयाँ जीवन बीमा कम्पनीहरु रहेका छन् । बीमा प्राधिकरणका अनुसार गुराँस लाइफले ८७ करोड १९ लाख, आईएमई लाइफले ८३ करोड ८२ लाख, रिलायन्स लाइफले ७७ करोड ९८ लाख, ज्योति लाइफले ७७ करोड ४६ लाख, रिलायबल नेपाल लाइफले ६७ करोड ७२ लाख, सन नेपालले ६५ करोड ९९ लाख, सानिमा लाइफले ५४ करोड २३ लाख, प्रभु लाइफले ५१ करोड ९ लाख र महालक्ष्मी लाइफले ३६ करोड ७६ लाख रुपैयाँ बीमापोलिसी नवीकरणबापत संकलन गरेका हुन् । पछिल्लो समय बीमा कम्पनीहरुले व्यतित बीमालेखमा केही प्रतिशत व्याज छुट दिने भएसँगै बीमितहरुले धमाधम पुराना बीमा पोलिसीहरु रिन्यु गरेका हुन् । कम्पनीहरुले सीमित अवधिका बीमितहरुलाई बीमालेख नवीकरण गर्दा सीमित अवधिसम्मको लागि छुट दिँदै आएका छन् ।