स्वरोजगार लघुवित्तको २३.१५७९ प्रतिशत लाभांश घोषणा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र १.५७७९ प्रतिशत नगद गरी कूल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सका लाभांश घोषणा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २.७५ प्रतिशत बोनस सेयर र ०.१४ प्रतिशत नगद कूल २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको चुक्ता पूँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ रहेको छ । कम्पनीले घोषणा गरेको लाभांश साविक हिमालयन जनरल इन्स्योरेन्सको नाफाबाट मात्रै हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीहरुलाई वितरण गरिने छ ।

साना किसान विकास लघुवित्त पनि एनपीएसमा आबद्ध

काठमाडौं । साना किसान विकास लघुवित्त पनि एनपीएसमा आबद्ध भएकाे छ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता गरेको हाे । उक्त सम्झौता साना किसान विकास लघुवित्तका तर्फबाट संस्थाका उपप्रमुख कार्यकारी अधिकृत डा. नवराज सिम्खडा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात साना किसान विकास लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी नेशनल पेमेन्ट स्वीच अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । यस अन्तर्गत साना किसान विकास लघुवित्तले एनसीएचएल आइपीएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका करोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी गर्ने कम्पनीले जनाएकाे छ । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५८ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ७४ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।