सनराइज बैंकले बनायो चेतनामुलक भिडियो, सिआइबिलाई गर्यो हस्तान्तरण

काठमाडौं । सनराइज बैंकले बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो बनाएको छ । बैंकिङ्ग पहुँच बढ्दै गएको अवस्थामा यसको प्रयोगसँगै सतर्कता अपनाउनु आवश्यक देखिएकोले बैंकले चेतनामुलक भिडियो बनाएको हो । हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई बैंकिङ्ग र डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सावधानीहरु समेटेर ‘कुशल’ नामक चेतनामुलक भिडियो बनाएको छ । बैंकले उक्त भिडियो केन्द्रीय अनुसन्धान व्यूरोलाई हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरक्त महानिरीक्षक उत्तम राज सुवेदीलाई उक्त भिडियो हस्तान्तरण गरेका थिए । उक्त भिडियोमा हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई विभिन्न बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक जानकारी, घटना र कथा मार्फत प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । उक्त भिडियो प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशै भरी फिजाउने तथा बैंकले विभिन्न सामाजिक संजाल मार्फत समाजमा पुर्याएर चेतना बढाउन मदत गर्ने जनाएको छ । साधारण बैंकिङ्ग सम्बन्धी जानकारीहरुको अभावमा मानिसहरु विभिन्न झमेलामा परिरहेका छन् ।

सबैको स्वास्थ्य बीमा गर्दै बागलुङको बडिगाड गाउँपालिका

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले पाँच प्रकारका लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य बीमा सेवा दिन थालेको छ । गाउँपालिकाले जारी गरेको पाँच वर्षे स्वास्थ्य रणनीतिअनुसार एकल महिला तथा एकल पुरुषलाई स्वास्थ्यको निःशुल्क पहुँचमा ल्याउन थालिएको हो । गाउँपालिकाले पाँच वर्षभित्र पालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने लक्ष्यअनुसार कार्यक्रम ल्याउन थालेका गाउँपालिकाले जनाएको छ । बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीका अनुसार ‘ख’ वर्गको अपाङ्गता, स्वास्थ्य स्वयंसेविका, कुपोषित बालबालिका र सुकुम्वासीलाई निःशुल्क बीमा गर्न थालिएको छ । लक्षित वर्गले स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुँदा लाग्ने प्रिमियम शुल्क गाउँपालिकाले भुक्तानी गर्नेछ । गाउँपालिकाको स्वास्थ्य शाखामार्फत सञ्चालित निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा २० लाख लागतमा लक्षित वर्गको निःशुल्क बीमा थालिएको छ । ‘जनतासँग पालिका अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत यो वर्ष २० लाखको स्वास्थ्य बीमा गर्ने लक्ष्य छ, नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भरपर्दो माध्यम नै स्वास्थ्य बीमा हो’, गाउँपालिका अध्यक्ष अधिकारीले भने, ‘अहिलेसम्म सात सय जनाको निःशुल्क बीमा गरिएको छ, जसमध्ये बीमा गर्नेमा एकल महिला, एकल पुरुषको सङ्ख्या अधिक रहेको छ, पाँच वर्षमा सबै नागरिकलाई निःशुल्क बीमा गर्ने योजना छ ।’ बडिगाड गाउँपालिकाले अहिलेसम्म गाउँपालिकाको वडा नम्बर २, ७ र ९ मा ‘जनतासँग पालिका अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम’ लागू गरेको छ भने अन्य वडामासमेत उक्त कार्यक्रम थाल्ने बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक विपेन्द्र केसीले बताए । केसीका अनुसार पालिकाले स्वास्थ्य बीमाको प्रिमियम शुल्क तिर्ने गरी नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना छ । ‘पालिकाले ल्याएको योजना हामीले कार्यानवयन गर्ने हो, स्वास्थ्य बीमा बोर्डअन्तर्गत वडा–वडामा दर्ता सहयोगी छन्, उनीहरुले लक्षित वर्गको बीमा गरेर पालिकामा एकमुष्ट बील भरपाईसहित भुक्तानी माग्नेछन्, हामीले नियम अनुसार भुक्तानी गर्नेछौँ’, केसीले भने, ‘स्वास्थ्य बीमा गरेबापत एक परिवारले एक लाखसम्मको एक वर्षमा निःशुल्क औषधि र उपचार पाउनेछ ग्रामीण भेगका नागरिकलाई राहत मिल्नेछ ।’ एकल महिला र एकल पुरुष, कुपोषित बालवालिका र सुकुम्बासीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले राहत भएको गाउँपालिकाको भनाइ छ । हालसम्म सात सय जनाको स्वास्थ्य बीमा गरिसकेको पालिकाले तीस हजार नागरिकको स्वास्थ्य बीमा गर्ने लक्ष्य लिएको छ । बडिगाड गाउँपालिका भौगोलिक हिसाबले अत्यन्तै विकट रहेकाले अझै घर–घरमा स्वास्थ्यको पहुँच पुग्न नसकेको भन्दै पालिकाले ग्रामीण मोबाइल स्वास्थ्य कार्यक्रमअन्तर्गत पायकपर्ने स्थानमा स्वास्थ्य शिविरसमेत गर्दै आएको छ । गाउँपालिकाको १० वटै वडामा पुगेर गर्भवतीको भिडियो एक्सरे, रगत परीक्षण, दुई वर्ष मुनिका बालबालिकाको तौल अनुगमन, परिवार नियोजनको सेवा, शङ्कास्पद बिरामीको खकार नमुना सङ्कलन, सुगर परीक्षण र स्वास्थ्य परीक्षण तथा परामर्श गर्न थालिएको छ । गाउँपालिकाको नयाँ नेतृत्व आयसँगै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्न थालेपछि स्थानीयवासीले स्वास्थ्य क्षेत्रमा राहत पाएका हुन् । यस्तै बागलुङको निसीखोला गाउँपालिकाले सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउनका लागि सबै नागरिकको स्वास्थ्य बीमाबापतको रकम गाउँपालिकाले भुक्तानी गर्ने नीति लिएको छ । रासस

प्राधिकरणले नुवाकोटमा गर्याे बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बागमती प्रदेशको नुवाकोट जिल्लाको तादी गाउँपालिका, खरानीटामा यही माघ ११ गते बुधबार बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले कृषहरुलाई कृषि बीमा गर्न प्रोत्साहन गर्नका लागि सरकारले कृषि बीमामा उपलब्ध गराउँदै आएको अनुदान बाहेक गाउँपालिकाबाट समेत बीमाशुल्कमा अनुदानको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै, उनले छिट्टै नै गाउँपालिकाका कर्मचारीहरुको दुर्घटना बीमा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । अध्यक्ष तामाङले भूकम्प, बाढी, पहिरो, आगलागी लगायतका कारणले हुनसक्ने आर्थिक क्षतिको क्षतिपूर्ति पाउनका लागि बीमा गर्न जोड दिनुपर्ने बताउँदै गाउँघरमै बीमा गर्न पाउने र बीमा दाबी पनि सहजै पाउने व्यवस्था गर्न प्राधिकरणसँग आग्रह गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमाको परिचय, महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको पहुँच विस्तारमा गाउँपालिकाको भूमिकाका बारेमा प्रस्तुती दिएका थिए । उपनिर्देशक सापकोटाले स–साना रकमबाट समेत बीमा गर्न नपाएमा, बीमा दाबी भुक्तानी समयमा नभएमा वा बीमा सम्बन्धी कुनै समस्या परेमा नेपाल बीमा प्राधिकरणलाई जानकारी दिन आग्रह गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहायक प्रथम शिवप्रसाद खनालले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष तथा सदस्य र कर्मचारी, शिक्षक, बीमा कम्पनीका प्रतिनिधि, बीमा अभिकर्ता, कृषकहरु लगायतको सहभागिता रहेको थियो ।