सनराइज फोकस्ड इक्विटी फण्डको इकाईका लागि आवेदन खुला
काठमाडौं । सनराइज क्यापिटलले मंगलबार (माघ १० गते) देखि सनराइज फोकस्ड इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गरेकाे छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई निष्काशन तथा बिक्री खुला गरेकाे हो । क्यापिटलले सोमध्ये १५ प्रतिशत इकाई कोष प्रबर्द्धक सनराइज बैंकलाई सुरक्षित राखि बाँकी १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्रीकाे लागि राखेकाे हाे । क्यापिटलकाे अनुसार लगानीकर्ताले न्यूनतम १०० इकाईका र अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा माघ १३ गते र पूर्ण आवेदन नपरेमा माघ २४ गतेसम्म लम्बिने क्यापिटलले जानकारी दिएकाे छ । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्ड एक बन्दमुखि योजना हो । योजनाको कुल आकार १ अर्ब २० करोड रुपैयाँ रहेको छ । यस निष्काशनमा न्यूनतम ६ करोड इकाई बिक्री हुनु पर्नेछ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ । यस योजनाको अवधि बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ । सोपश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिनेछ । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । म्युचुअल फण्ड निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले योजना व्इवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ३ (एएमसी३) रेटिङ्ग प्रदान गरेको छ भने कोष प्रबर्द्धकलाई केयर एनपी ए माइनस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा कम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
सिभिल लघुवित्तको स्वतन्त्र संचालकमा रुद्र प्रसाद दाहाल
काठमाडौं । सिभिल लघुवित्तको स्वतन्त्र संचालकमा रुद्र प्रसाद दाहाल नियुक्त भएका छन् । कम्पनीको सोमबारा बसेको संचालक समितिको बैठकले दाहाललाई स्वतन्त्र संचलकमा नियुक्त गर्ने निर्णय गरेको हो । काठमाडौं महानगरपालिका वडा नं. १४ बस्ने दाहालको कार्यकाल ४ वर्षको रहनेछ । बैंकिङ्ग क्षेत्रमा ३५ वर्ष भन्दा बढि अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकास प्राप्त हुन् । वि.सं.२००८ सालमा धनकुटामा जन्मेका दाहालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । केन्द्रीय कार्यालय काठमाडौं चाबहिलमा रहेको सिभिल वित्तीय संस्थाको ७५ वटा शाखा रहेको छ । संस्थाले १४ हजार घर परिवारलाई वित्तीय सेवा मार्फत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
गाउँगाउँमा बीमाको जानकारी दिन विद्यार्थीलाई आग्रह
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विद्यार्थीहरुलाई गाउँघरमा गएर बीमाको जानकारी दिन आग्रह गरेको छ । प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमाले जीवन तथा सम्पत्तिमा हुने क्षति तथा हानी नोक्सानी विरूद्ध आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले बीमाका बारेमा गाउँघरमा गएर जानकारी दिन विद्यार्थीहरुसँग आग्रह गरे । नुवाकोटको दुप्चेश्वर-६, समुन्द्रटारस्थित रुक्मणी माध्यमिक विद्यालयमा आयोजित बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो आग्रह गरेका हुन् । कार्यक्रममा उनले गाउँ गाउँमा बीमा सम्बन्धी सचेतना फैलाउन शिक्षक तथा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकाले विद्यालयस्तरमा समेत बीमा सम्बन्धी कार्यक्रमहरु आयोजना गरिँदै आएको समेत बताए । रुक्मणी माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकुन्द थापाले विद्यालयमा बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरी बीमासम्बन्धी विषयमा जानकारी दिएकोमा प्राधिकरणप्रति आभार प्रकट गरे । उक्त कार्यक्रममा रुक्मणी माध्यमिक विद्यालयका शिक्षक तथा कक्षा ११ र १२ विद्यार्थीहरु लगायत गरी करिव ६५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले बीमा सम्बन्धी प्रस्तुती गरेका थिए भने सहायक प्रथम शिवप्रसाद खनालले कार्यक्रम सञ्चालन गरेका थिए ।