उच्च शिक्षा सुधारका लागि अन्तर्देशीय शिक्षामा ध्यान केन्द्रित गर्न सुझाव
काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले अन्तर्देशीय शिक्षा (ट्रान्सनेशनल एजुकेसन-टीएनइ) को वर्तमान अवस्था र सम्भावनाबारे केन्द्रित अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले नेपालमा टीएनइ विस्तार गर्दा देखिने अवसर, चुनौती र आवश्यक नीतिगत सुधारहरूबारे महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले नेपालको उच्च शिक्षामा गुणस्तर, पहुँच र नवप्रवर्तनलाई सुदृढ गर्न टीएनइको भूमिका प्रभावकारी हुने बताए । कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फिन, दक्षिण एसियाका क्षेत्रीय निर्देशक हेलेन सिल्भेस्टर, शिक्षा क्षेत्रका विज्ञ, नीति निर्माता, शिक्षक तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो । प्रतिवेदनले नीति सरलीकरण, गुणस्तर प्रत्याभूति संयन्त्र सुदृढीकरण, पाठ्यक्रम अद्यावधिक, शैक्षिक पहुँचमा रहेका असमानता न्यूनीकरण, र स्थानीय सन्दर्भअनुसार शिक्षण मोडल विकास गर्न सिफारिस गरेको छ । यसअघि पहिलो सम्मेलन जुम्लामा सम्पन्न गरिएको थियो भने, प्रतिवेदनको पूरा पाठ ब्रिटिस काउन्सिलको वेबसाइटमा उपलब्ध छ ।
निजी विद्यालयलाई छात्रवृत्ति विवरण पेस गर्न काठमाडौं महानगरको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले मातहतका निजी विद्यालयहरूलाई जेठको पहिलो सातासम्म छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ । निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०५८ र काठमाडौं महानगर शिक्षा ऐन, २०६८ अनुसार, विद्यालयले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था अनुरूप यो निर्देशन जारी गरिएको हो । महानगरको शिक्षा विभागले जारी गरेको सूचनामा कक्षा १ देखि १० सम्म अध्ययनरत जेहेन्दार, विपन्न, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित तथा शहीद परिवारका विद्यार्थीहरूलाई प्राथमिकता दिन विद्यालयहरूलाई आग्रह गरिएको छ । छात्रवृत्तिका लागि विद्यालयस्तरमै समिति गठन गर्न भनिएको छ, जसमा वडा अध्यक्ष (वा प्रतिनिधि), प्रधानाध्यापक, शिक्षा निरीक्षक र एक जना अभिभावक प्रतिनिधि रहनेछन् । विद्यालयले छात्रवृत्तिको विवरण महानगरको वेबसाइटमार्फत पठाउनु पर्ने छ । साथै विद्यालयहरूलाई सूचना पाटीमा छात्रवृत्तिसम्बन्धी सूचना टाँस गर्न र इच्छुक विद्यार्थी तथा अभिभावकलाई आवेदन दिन सक्ने व्यवस्था गर्न पनि भनिएको छ ।
शिक्षकहरूसँग वार्ता सकारात्मक छ, छिटो टुङ्गो लगाउछौं : शिक्षामन्त्री पन्त
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उनले मङ्गलबार रातिको वार्तापछि मन्त्रालयमै सञ्चारकर्मीलाई जानकारी दिए । वार्तामा शिक्षक पनि सकारात्मक रुपमा प्रस्तुत भएको जनाइएको छ । शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीचको वार्ता मङ्गलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । साथै महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको जनाइएको छ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सोमबार भएको वार्ता सकारात्मक रुपमा अघि बढेकामा आज पुनः वार्ता भएको हो । शिक्षक सङ्घ सङ्गठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।