अरूको नाममा परीक्षा दिँदै गर्दा नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंं महानगरपालिका–१४ स्थित रहेको जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरको परीक्षामा एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जुम्ला, चन्दननाथ नगरपालिका–८ घर भइ हाल काठमाडौं महानगरपालिका–४ धुम्वाराही बस्ने २६ वर्षीय केशव रोकाया रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, 'उक्त क्याम्पसमा अध्ययनरत दानबहादुर रोकायाको तर्फबाट परीक्षामा सहभागी भएको र निजलाई आवश्यक अनुसन्धान तथा कारबाही गर्न जन प्रशासन क्याम्पसको प्राप्त पत्रानुसार पक्राउ गरिएको हो ।' निज नक्कली परीक्षार्थी रोकायालाई शिक्षासम्बन्धी ऐन कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।
‘लाइफ कम्प्युटर वेबसाइट कम्पिटिसन’ मा विजेता बने आइडियल मोडल स्कुलका प्रसुन भट्ट
काठमाडौं । आइडियल मोडल स्कुल, जाउलाखेलका विद्यार्थी प्रसुन भट्टले राष्ट्रियस्तरको ‘लाइफ कम्प्युटर वेबसाइट कम्पिटिसन सिजन ७’ को उपाधि जित्न सफल भएका छन् । देशभरका विभिन्न स्कुलका विद्यार्थीहरूले निर्माण गरेका ९८१ वटा वेबसाइटमध्ये उत्कृष्ट २० छनोट गरिएपछि, त्यसैबाट उत्कृष्ट १० र अन्ततः उत्कृष्ट ३ जनामध्ये प्रसुन भट्टले उत्कृष्ट प्रस्तुति, सफा कोडिङ, युजर फ्रेन्ड्ली डिजाइन र प्राविधिक दक्षताको आधारमा निर्णायकहरूको उच्च मूल्याङ्कन पाउँदै पहिलो स्थान हासिल गरेका हुन् । दोस्रो स्थानमा आदर्श सौल युवक माध्यमिक विद्यालय, ललितपुरका सुशील खड्का र तेस्रो स्थानमा श्री सुन्दरी माध्यमिक विद्यालय, धादिङका आदेश भण्डारी रहे । विजेताले एक लाख बराबरको ल्यापटप पुरस्कार पाउँदा, दोस्रो स्थान विजेताले नगद ५० हजार बराबरको उपहार र तेस्रो स्थान विजेताले नगद ३० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेका छन् । फाइनल चरणको निर्णायक प्रक्रिया र पुरस्कार वितरण कार्यक्रम काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा एक भव्य समारोहका बीच सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनशीलता र प्रविधि प्रतिको लगाव बढाउने बताए। उनले प्रविधिलाई करियरको रुपमा हेर्ने सोच विस्तार गर्न यस्ता प्लेटफर्महरू महत्वपूर्ण हुने बताएका थिए । त्यसैगरी, त्रिभुवन विश्वविद्यालय सूचना तथा प्राविधिक केन्द्रका निर्देशक प्रा. डा. सुवर्ण शाक्यले प्रतियोगिताले विद्यार्थीहरूमा हौसला बढाएको उल्लेख गरे। कम्प्युटर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले सानो उमेरमै वेबसाइट निर्माणजस्तो प्रविधिक विधामा विद्यार्थीहरूको उत्साह देख्दा आफू प्रभावित भएको प्रतिक्रिया दिएका थिए । युनिभर्सल पिस फाउन्डेसन साउथ एसियाका क्षेत्रीय निर्देशक प्रकाश बाबु थापाले प्रतियोगितामा देखिएको प्रतिभालाई उल्लेखनीय भन्दै विद्यार्थीहरूको सिर्जनात्मक उचाइको प्रशंसा गरे। कार्यक्रमको परिकल्पना लाइफ कम्प्युटरका सीईओ रमेश पोखरेलको नेतृत्वमा गरिएको हो। उनले यस्तो प्रकारको प्रतियोगिता मार्फत विद्यार्थीहरूमा डिजिटल सीपको विकास गर्नु प्रतियोगिताको मुख्य उद्देश्य भएको बताए । कार्यक्रममा संयोजकको भूमिका निर्वाह गरेकी लाइफ कम्प्युटरकी प्रबन्ध निर्देशक लक्ष्मी खत्रीले देशका विभिन्न जिल्लाबाट विद्यार्थीहरूको सहभागिता र उनीहरूले देखाएको लगनशीलता देख्दा कार्यक्रम सार्थक भएको बताइन् । कार्यक्रममा ‘बेस्ट टिम मेम्बर अफ द इयर’ बाट उत्कृष्ट टिम सदस्य कृष्ण ढुंगेललाई सम्मानित गरिएको थियो । विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए । स्कुल-कलेजका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न प्राविधिक संघ-संस्थाका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सहभागी सबैलाई मायाको चिनो प्रदान गरिएको थियो ।
मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादन गर्ने
काठमाडौं । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादनको तयारी सुरु गरेको छ । विश्वविद्यालयले मधुमेहसम्बन्धी उपचारमा प्रयोग हुने औषधिको अनुसन्धान गरी उत्पादन सुरु गर्ने तयारी गरेको हो । विश्वविद्यालयका उपकुलपति डा. सुवास श्री पोखरेलले नेपाली जडिबुटीको प्रयोग गरी मधुमेह रोगको उपचार विधि र पद्धतिलाई महत्त्व दिँदै उत्पादनसम्बन्धी अनुसन्धान भइरहेको जानकारी दिए । चालु शैक्षिक सत्रमा विश्वविद्यालयले १० वटा विभिन्न विषयमा अनुसन्धान गरिरहेको उनको भनाइ छ । उपकुलपति पोखरेलका अनुसार १० वटा अनुसन्धानमध्ये मधुमेह रोगको उपचार गर्ने र ब्याक्टेरियोफेज सम्बन्धी अनुसन्धानलाई विशेष महत्त्वका साथ अगाडि बढाइएको छ । आफ्नै प्रयोगशालामा अनुसन्धान गरी विभिन्न आयुर्वेदिक औषधिसम्बन्धी उत्पादनको तयारी भइरहेको उनको भनाइ छ । उनले तह १ देखि तह ५ सम्मको ‘स्किल टेस्ट’ पास गरिसकेका विद्यार्थीलाई तह ६ देखि तह ८ सम्मको अध्ययन गराउने योजनाअनुसार विश्वविद्यालय अघि बढेको धारणा व्यक्त गरे । उपकुलपति पोखरेलले विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर अन्तर्गतका विभिन्न कार्यक्रममा ३२२ विद्यार्थी अध्ययनरत रहेका जानकारी दिए । कोसी प्रदेश सरकारले विसं २०७६ मा स्थापना गरेको विश्वविद्यालय मुलुकभित्रको पहिलो प्राविधिक विश्वविद्यालय हो । उपकुलपति पोखरेलले मुलुकको पहिलो प्राविधिक विश्वविद्यालय भए पनि प्रदेश सरकारबाट अपेक्षित रूपमा बजेट विनियोजन नभएको गुनासो व्यक्त गरे । विश्वविद्यालयले प्रदेश सरकारसँग आगामी आर्थिक वर्षका लागि ३७ करोड रुपैयाँ बजेट माग गरेकोमा १४ करोड रुपैयाँ मात्र विनियोजन भएको उपकुलपति पोखरेलले उल्लेख गरे । उनले कूल बजेटको ०.५ प्रतिशत मात्रै विनियोजन हुनु दुःखद भएको बताए ।