माल्दिभ्सका मेडिकल विद्यार्थी नेपालमा अध्ययनका लागि आउँदै, सरकारले सम्झौता गर्ने
काठमाडौं । माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन गराउने सम्झौता अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबीच बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मलन केन्द्रमा भएको भेटवार्तामा माल्दिभ्सबाट प्राप्त मस्यौदामा नेपालका तर्फबाट सकारात्मक प्रगतिबारे जानकारी आदानप्रदान भएको छ । भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मस्यौदा अन्तिम चरणमा रहेको र चाँडै सम्झौता गर्ने गरी गृहकार्य भैरहेको माल्दिभ्सका राज्यमन्त्री लाई जानकारी दिए । उनले नेपालमा एमडी एमएसका अलावा एमबीबीएसमा माल्दिभ्सका विद्यार्थी स्वागत गर्न तयार रहेको भन्दै नेपालीलाई असर नपर्ने गरी बेग्लै कोटा राख्नेबारे आवश्यक परामर्श गरिरहेको र चाँडै निष्कर्षमा पुगिने बताए । मन्त्री पौडेलले माल्दिभ्समा नेपालीहरू काम गर्ने संख्या बढिरहेको तर उनीहरुले रकम घर पठाउन समस्या परेको बताए । प्रतिउत्तरमा माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्रीले अर्थ मन्त्रालयसँग कुरा गरेर समाधान निकाल्ने बताए । नेपालले माल्दिभ्सका मेडिकल विद्यार्थी आकर्षित गर्न आवश्यक नीतिगत परिमार्जनको तयारी गरिरहेको छ । त्यहाँका स्वास्थ्य मन्त्रीसँग तीन महिना अघि इण्डोनेसियामा स्वास्थ्य मन्त्री पौडेलसँगको वार्तापछि जेनेभामा समेत यसबारे कुराकानी भएको थियो । मन्त्री पौडेलले विदेशी विद्यार्थीलाई नेपालमा मेडिकल शिक्षा दिने सम्बन्धमा सुझाव दिन कार्यदलसमेत गठन गरेर गृहकार्य थालेका थिए । त्यसयता माल्दिभ्सले पठाएको मस्यौदामा स्वास्थ्य मन्त्रालयले आवश्यक परिमार्जन गरेर सम्झौता गर्ने तयारी भैरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
एक साताभित्र एसइईको नतिजा सार्वजनिक हुने
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमी स्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा गणेश प्रसाद भट्टराईले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताए । उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको बताउँदै उनले भने, ‘हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी डेट लाइन तयार गरेका हौँ, कर्मचारी साथीहरूले डबल सिफ्टमा तीव्र गतिले काम गरिरहनुभएको छ । अहिले नम्बर इन्ट्री गर्ने र रुजु गर्ने काम भइरहेको छ । काम छिटो सकियो, प्रविधिले साथ दियो भने तेस्रो सातादेखि अगाडि तानेर एक साताभित्र नतिजा सार्वजनिक गर्न सकिन्छ, त्यसैका लागि दिनरात काम भइरहेको छ ।’ असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौंमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो । गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
अरूको नाममा परीक्षा दिँदै गर्दा नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंं महानगरपालिका–१४ स्थित रहेको जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरको परीक्षामा एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जुम्ला, चन्दननाथ नगरपालिका–८ घर भइ हाल काठमाडौं महानगरपालिका–४ धुम्वाराही बस्ने २६ वर्षीय केशव रोकाया रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, 'उक्त क्याम्पसमा अध्ययनरत दानबहादुर रोकायाको तर्फबाट परीक्षामा सहभागी भएको र निजलाई आवश्यक अनुसन्धान तथा कारबाही गर्न जन प्रशासन क्याम्पसको प्राप्त पत्रानुसार पक्राउ गरिएको हो ।' निज नक्कली परीक्षार्थी रोकायालाई शिक्षासम्बन्धी ऐन कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।