शिक्षामा नवप्रवर्तन र हरित सोच : लिटिल एन्जल्स स्कूलको सफल शैक्षिक यात्रा
काठमाडौं । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स स्कूल (एलए) चार दशकभन्दा लामो समयदेखि देशको शैक्षिक क्षेत्रलाई उल्लेखनीय योगदान दिँदै आएको छ । हरियाली वातावरण, स्मार्ट क्लासरुम र वातावरणमैत्री इभी गाडीको प्रयोग गर्दै एलएले आफूलाई पूर्ण रूपमा वातावरणमैत्री शिक्षण संस्थाका रूपमा स्थापित गरेको छ । सन् १९८१ मा स्थापना भएको यस शैक्षिक संस्थाले आधुनिक शिक्षण पद्धति र प्रविधिमा आधारित सिकाइको अभ्यास गर्दै नेपाली शिक्षाक्षेत्रमा नयाँ आयाम थप्दै आएको छ । सन् १९९७ देखि प्लस टु तहको अध्यापन सुरु गरेको एलए अहिले स्नातक तहसम्मका कक्षा सञ्चालन गरिरहेको छ । स्थापनाकालदेखि नै शतप्रतिशत नतिजा निकाल्दै आएको लिटिल एन्जल्स पछिल्लो २२ वर्षदेखि देशभरिका उत्कृष्ट १० कलेजहरूमध्ये निरन्तर आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ । ‘शिक्षा सर्वसुलभ र गुणस्तरीय हुनुपर्छ’ भन्ने ध्येयका साथ यो संस्थाले विद्यार्थीलाई संस्कारसहितको प्रविधिमैत्री शिक्षा दिने विश्वास राख्दै आएको छ । पाठ्यक्रमलाई युग सुहाउँदो ढंगमा विश्व परिवेश अनुसार परिष्कृत गर्दै एलएले शैक्षिक गुणस्तरलाई सधैं पहिलो प्राथमिकतामा राखेको छ । गुणस्तरीय भौतिक पूर्वाधार, प्रविधिसम्पन्न कक्षा कोठा, शान्त वातावरण, खुला र फराकिलो खेल मैदान यस शैक्षिक संस्थाको थप विशेषता हुन् । कक्षा ११ र १२ मा साइन्स, मेनेजमेन्ट तथा ए लेभल कार्यक्रमहरू सञ्चालन गर्दै आएको एलएले विद्यार्थीको समग्र विकासमा जोड दिएको छ । शैक्षिक उत्कृष्टता, शारीरिक र मानसिक विकासलाई सँगसँगै अघि बढाउँदै लिटिल एन्जल्स विद्यार्थीहरूका लागि उपयुक्त गन्तव्य बन्न सफल भएको छ ।
पोखरा विश्वविद्यालयको एक अर्ब ५४ करोडको बजेट पारित
काठमाडौं । पोखरा विश्वविद्यालयको २५औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वविद्यालयको शिक्षक कर्मचारीसम्बन्धी नियमावली, २०५५ र आर्थिक नियमावली, २०५५ तथा सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी नियमावली, २०५७ सहित विभिन्न नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको छ । बैठकमा कुलपति ओलीले विश्वविद्यालयलाई अनुसन्धानमूूलक र प्रतिस्पर्धी रूपमा सञ्चालन गर्न आग्रह गर्दै स्वदेशमा उत्कृष्ट उच्चशिक्षा सम्भव छ भन्ने भावनालाई सार्थक तुल्याउनुपर्नेमा जोड दिए । बैठकमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विश्वविद्यालयले २१औँ शताब्दीका लागि आवश्यक पर्ने जनशक्ति उत्पादनमा लाग्न आग्रह गरे । उपकुलपति प्रा. डा. वेदराज केसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपलब्ध स्रोतसाधनको उपयोग गरी विश्व बजारको मागअनुसार शिक्षा प्रदान गर्न विश्वविद्यालयले भरपुर प्रयास गर्ने प्रतिबद्धता जनाए । विश्वविद्यालयमा चार सङ्कायअन्तर्गत चार आङ्गिक महाविद्यालय, तीन संयुक्त आङ्गिक महाविद्यालय र ५८ वटा सम्बन्धनप्राप्त महाविद्यालयमार्फत ६८ शैक्षिक कार्यक्रममा ३४ हजार ६७९ विद्यार्थी अध्ययनरत छन् ।
त्रिविको उपकुलपतिमा डा. अर्याल नियुक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्रा. डा. दीपक अर्याल नियुक्त गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा. डा. विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दीपक अर्याललाई सिफारिस गरेको थियो । उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए ।