मध्यपश्चिम विश्वविद्यालयको सिटेन : एक अर्ब ३६ करोड बजेट स्वीकृत

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको सोमबार सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३६ करोड ७७ लाख २१ हजार रुपैयाँ बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाकर कँडेलद्वारा प्रस्तुत पूँजीगततर्फ ४६ करोड २५ लाख रुपैयाँ र सञ्चालनतर्फ ९० करोड ५२ लाख २१ हजार रुपैयाँसहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो ।  

बाँझिएको पाखो बारीमा झाडी फाँडेर तरकारी खेती

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका-७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरूले बाँझिएको पाखो बारीमा झाडी फाँडेर तरकारी खेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखो बारीको झाडी फाँडेर खन जोत गरी विद्यार्थीले तरकारी खेती गरेका हुन् । तरकारी खेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो ।  विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरूलाई तरकारी खेतीसम्बन्धी व्यवहारिक र व्यावसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्ने र फुर्सदको समय सदुपयोगका लागि तरकारी खेती गरिएको जानकारी दिए ।  ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा भन्ने कार्यक्रममार्फत गाउँपालिकाको सहयोगमा छात्रावासमा बस्ने विद्यार्थीहरूले साँझ बिहान श्रमदान गरेर पाखो बारीको झाडी फाँडेर तरकारी खेती गरेका हुन,’ उनले भने, ‘विद्यार्थीले पढ्दै कमाउने सीप सिक्ने, बाँझो जग्गा र फुर्सदको समय सदुपयोग हुने, छात्रावासमा आवश्यक तरकारी किन्नु नपर्ने र खर्च बचत हुने भएकाले यो कार्यक्रम प्रभावकारी भएको छ ।’ बिरुवा उत्पादनका लागि दुई वटा टनेल बनाउनुका साथै पाखो बारीमा सिमी, बोडी, फर्सी, काँक्रो, करेला, पिँडालु, करेला, फापर, रायो साग, धनियाँ, बन्दा, काउलीलगायत प्रजातिका तरकारी लगाएका छन् । करेसाबारीमा लोपोन्मुख तेलहन फिलिङ्गो पनि रोपिएको छ । चार रोपनी जग्गा विद्यालयको हो भने दुई रोपनी वार्षिक रु पाँच हजार तिर्ने गरी भाडामा लिएका छन् । विद्यालय समयपछि साँझ एकदेखि दुई घण्टा करेसाबारीमा बिताउँदा विद्यार्थीले जीवन उपयोगी र व्यावसायिक सीप सिक्नुका साथै ‘रिफ्रेस’ महसुस गरेका छन् । गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको सहयोगमा सञ्चालित छात्रावासमा ५० जना विद्यार्थी रहेका हेम नमूना आवासीय माविका प्रअ शेरबहादुर केसीले बताए ।  छात्रावासका विद्यार्थीका लागि आवश्यक तरकारी करेसाबारीबाट आपूर्ति गर्ने, बढी भएको तरकारी बेच्ने र कुखुरा, बाख्रा र खरायो पालन गर्ने योजना रहेको उनले बताए । करेसाबारी स्थापना गर्न धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने सीप सिकाउने उद्देश्यले हेम नमूना र मुनाको धवलागिरि माध्यमिक विद्यालयमा “धवलागिरिको इच्छा, गरिखाने शिक्षा” कार्यक्रम सञ्चालन गरेको बताए । गत वर्ष ३ लाख रुपैयाँ बजेट विनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उनले बताए । 

'विद्यार्थीको पढाइ मात्र होइन, चौतर्फी विकासमा हामीले ध्यान दिन्छौं'

काठमाडौं । होटल म्यानेजमेन्ट वा शैक्षिक क्षेत्रमा सिन्धुली कलेजको नाम नसुन्ने सायद कमै होलान् । सिन्धुलीमा मात्र नभई काठमाडौं उपत्यका र देशैभर होटल म्यानेजमेन्टका क्षेत्रमा यसले आफ्नै पहिचान बनाएको छ । यसको उत्कृष्ट कार्यका कारण देशभर चर्चा हुने गरेको पाइन्छ । उत्कृष्ट नतिजा ल्याउन सफल यो कलेज अधिकांश विद्यार्थीको रोजाइमा पर्न थालेको छ । समयानुकूल शिक्षा प्रदान गर्दै आएको सिन्धुली कलेजले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र होइन, व्यवहारिक तथा प्रयोगात्मक सिकाइमा पनि जोड दिँदै आएको छ । यही सन्दर्भमा कलेजका प्रबन्ध निर्देशक समीर ढकालसँग गरिएको संक्षिप्त कुराकानी प्रस्तुत छ : सिन्धुली कलेज कहिले स्थापना भएको हो ? सिन्धुली कलेज २०७५ साल साउन ३१ गते स्थापना भएको हो । यो जनकपुर अञ्चल र सिन्धुली जिल्लाको पहिलो होटल म्यानेजमेन्ट कलेज हो । स्थापना हुँदा जम्मा १० जना विद्यार्थीबाट सुरू गरिएको थियो । विद्यार्थीले सिन्धुली कलेज नै किन रोज्छन् ? सिन्धुली यस्तो क्षेत्र हो जहाँका मानिसहरूले शिक्षा जत्तिकै सीपलाई पनि महत्व दिन्छन् । यहाँको ऐतिहासिक र भौगोलिक विशेषता, बढ्दो पर्यटक संख्या, प्राविधिक शिक्षामा देखिएको चासो र होटल तथा आतिथ्य क्षेत्रको विस्तारका कारण दक्ष जनशक्तिको खाँचो महसुस भयो । त्यसैले यो कलेज स्थापना गरिएको हो । यसमा सिन्धुलीको शिक्षा क्षेत्रका अग्रजहरूको समेत ठूलो भूमिका रहँदै आएको छ । कलेज स्थापना गर्दा के–कस्ता चुनौतीहरू भए ? हामी चुनौतीलाई सकारात्मक रूपमा लिन्छौं । सुरुवातमा होटल म्यानेजमेन्टलाई धेरैले भाँडा माझ्ने, फोहर उठाउने पेशाजस्तो सोच्थे । तर अहिले आफ्नै गाउँ–छिमेकका विद्यार्थीहरूले यसै क्षेत्रबाट आर्थिक सफलता हासिल गर्दै गर्दा ती भ्रम चिर्दै गएका छन् । होटल म्यानेजमेन्ट वास्तवमा होटल, रिसोर्ट, रेस्टुरेन्ट, स्पा, क्रुज, एयरलाइन्स आदि विविध र सम्मानजनक क्षेत्रहरूको व्यवस्थापनसँग सम्बन्धित अध्ययन हो । हालका शिक्षा क्षेत्रका प्रमुख चुनौती के–के छन् ? अहिलेका चुनौतीहरू अलिक फरक छन् । उदाहरणका लागि, विद्यार्थीका लागि उत्कृष्ट पाँचतारे होटलहरूमा इन्टर्नशिपको व्यवस्था गर्नु, नयाँ मुलुकहरूमा अवसर पत्ता लगाउनु, सञ्चार र नेतृत्व क्षमताको विकास गर्नु, र उनीहरूमा विकासमुखी सोच बनाउनु, यी सबै चुनौती हुन् । यिनै चुनौती समाधान गर्न हामी निरन्तर लागिरहेका छौं ।  सिन्धुली कलेजमा के–के पाठ्यक्रम छन् ? हामीले एनइबी अन्तर्गत होटल म्यानेजमेन्ट, सामान्य व्यवस्थापन (कमर्स), र कम्प्युटर साइन्स पढाउँदै आएका छौं । साथै, छोटो अवधि, डिप्लोमा, र एडभान्स डिप्लोमा कोर्सहरू पनि छन् । दुई वर्षभित्र विद्यार्थीले पल्सटुको प्रमाणपत्रसँगै डिप्लोमा पनि प्राप्त गर्छन् । यसले उनीहरूलाई स्नातक तहमा अध्ययन गर्न मात्र होइन, विदेशमा राम्रो रोजगारीको अवसर पनि प्रदान गर्छ । अन्य कलेजभन्दा सिन्धुली कलेज किन विशेष छ ?   हाम्रो कलेजको प्रमुख विशेषता व्यवहारिक शिक्षा हो । विशेषगरी डिप्लोमा कोर्सको ७०–८० प्रतिशत अंश व्यवहारिक हुन्छ । हामी इन्टर्नशिपमा पनि जोड दिन्छौं जहाँ विद्यार्थीले सम्मानजनक तलबसहित काम गर्छन् । त्यसपछि जापान, दुबई, कतार, मलेसिया, युरोपजस्ता मुलुकमा करिअर बनाउने अवसर उनीहरूले पाउँछन् । हालसम्म कलेजले के–के उपलब्धि हासिल गरिसकेको छ ? हामी सयौं विद्यार्थीलाई व्यावसायिक शिक्षा दिन सफल भएका छौं । हाल ७०–८० प्रतिशत विद्यार्थी नेपाल वा विदेशमा रोजगारीमा छन् वा व्यवसाय गरिरहेका छन् । १० भन्दा बढी विद्यार्थी विदेशमा 'अर्न एन्ड लर्न' मोडेलमा छन्, जहाँ उनीहरूले मासिक ४०–७० हजार रुपैयाँसम्म कमाउँदै स्नातक अध्ययन पनि गरिरहेका छन् । कलेजबाहिर तपाईंहरूको निकै चर्चा छ, यसको कारण के हो ? हामी अनुशासनलाई आधुनिक रूपमा बुझ्छौं । कडा अनुशासन होइन, काउन्सिलिङ र आत्मप्रेरणाको माध्यमबाट आतिथ्य क्षेत्रमा अनुशासन, सफाइ र व्यवस्थित व्यवहार अत्यावश्यक हुन्छ । यसै कारण हामी व्यक्तित्व विकास र सामाजिक मर्यादामा पनि विशेष ध्यान दिन्छौं । हालको पठनपाठन र नतिजा कस्तो छ ? सिन्धुलीका अनुभवी शिक्षकहरूको सहकार्यमा हाम्रा कक्षा मल्टिमिडिया, अडियो–भिडियो सामग्रीको प्रयोगमार्फत सञ्चालन हुन्छ । हाम्रो परीक्षाफल १००५ नै आएको छ, र हामी नतिजा मात्र होइन, सिकाइको गुणस्तरमा पनि नं. १ कलेजको रूपमा स्थापित भएका छौं । के कलेजको शाखा अन्यत्र पनि छ ? हाल सिन्धुली माढी, रत्माटामा रहेको कलेजको कुनै शाखा छैन । सबै कक्षाहरू मुख्य कलेज भवनमै सञ्चालन हुँदै आएका छन् । पढाइपछि विद्यार्थीहरू के गर्न सक्छन् ? हामीबाट पढेका विद्यार्थीहरूले होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म,बीबीए, बीबीएस, बीएससीआइटी लगायतका स्नातक तहमा पढ्न सक्छन् । रोजगारीका लागि होटल, रिसोर्ट, रेस्टुरेन्ट, बैंक्वेट, क्रुज, एयरलाइन्स, अस्पताल, इभेन्ट म्यानेजमेन्ट आदि क्षेत्रमा अवसरहरू उपलब्ध छन् । होटल म्यानेजमेन्ट पढेकाले व्यवस्थापन र आतिथ्य–दुवै क्षेत्रमा काम गर्न पाउँछन् । आगामी योजना के छन् ? हामी कलेजलाई छिट्टै विश्वस्तरीय पूर्वाधारसहितको शैक्षिक संस्थामा रूपान्तरण गर्ने योजनामा छौं । पाँचतारे होटलको झल्को दिने प्रयोगशालासहितको भवन, अत्याधुनिक कक्षा कोठा, खेलमैदान, मनोपरामर्श सेवा, तथा राष्ट्रियस्तरका व्यक्तित्वबाट प्रेरणामूलक कार्यक्रम समावेश गर्ने योजनामा छौं । अन्त्यमा केही भन्न चाहनुहुन्छ ? हामी तपाईंलाई व्यवहारिक शिक्षा दिन्छौं, चौतर्फी विकासमा जोड दिन्छौं, र तपाईंको करिअर बनाउने यात्रामा साथ दिन्छौं । दुई वर्षको पढाइ मात्र होइन, तपाईंको भविष्य सफल बनाउन हामी तपाईंसँग सधैं रहनेछौं । बजारका हल्लामा होइन, बुझेर निर्णय लिनुहोस्, भविष्य तपाईंको हो ।