विद्यार्थी-कम्पनी एउटै छानामुनि : आइएसएमटी जब फेयरमा रोजगारीको अवसर
काठमाडौं । सिराहका युवराज भण्डारीलाई मंगलबार दिनभरि भ्याइनभ्याइ थियो । हातमा बायोडाटा बोक्दै विभिन्न आइटी कम्पनीका प्रतिनिधिसँग उनी अन्तरवार्ता दिइरहेका थिए । आवश्यक जनशक्ति खोज्न काठमाडौंको तीनकुनेमा रहेको आइएसएमटी कलेजमा पुगेका विभिन्न कम्पनीमा उनी आफ्नो लागि काम खोज्दै थिए। कलेजको वातावरण सामान्य दिनभन्दा फरक थियो । परिसरमा प्रवेश गर्नेबित्तिकै विद्यार्थीहरूमा उत्साह र आत्मविश्वास मिसिएको पाइन्थ्यो । हातहातमा बायोडाटा, अनुहारमा अपेक्षाको चमक र मनमा भविष्यका थुप्रै कल्पनाहरू सबै एकै ठाउँमा भेटिन्थ्यो । युवराज भण्डारी ब्याचलर्स तेस्रो वर्षमा अध्ययनरत भण्डारी एक पछि अर्को गर्दै कम्पनी चहारिरहेका थिए । आइटीमा भविष्य बनाउने सपनासहित उनी कलेज आएका हुन् । ठूलो आइटी कम्पनीमा काम गरिरहेको देख्ने इच्छा भण्डारीको मनमै थियो । कलेजले उही चाहना पूरा गरिदिने अवसर जुराइदियो । तीनवटा कम्पनीमा अन्तरवार्ता दिइसकेपछि उनले भने, ‘रोजीरोजी कम्पनीसँग अन्तवार्ता दिँन पाइयो । जागिर पाइन्छ कि जस्तो पनि छ । धेरै कुरा सिक्न पनि पाइयो ।’ तीनमध्ये दुईवटा कम्पनीले भण्डारीलाई दोस्रो चरणका लागि कम्पनीमै बोलाएको छ। दाङकी प्रियन्सा गिरीका लागि पनि विशेष दिन थियो । होटल रेस्टुरेन्टमा आवश्यक जनशक्ति खोज्दै मक्र्योर होटेल र गोकर्ण रिसोर्टका प्रतिनिधिहरूसँग उनले आफ्नो क्षमता योग्यता र आफूले गर्नसक्ने कामका विषयमा भनिरहेकी थिइन् । आवश्यक कर्मचारीका जनशक्तिका लागि आइएसएमटी पुगेका गोकर्ण रिसोर्ट, मक्र्योर होटेलका प्रतिनिधले उनको अन्तरवार्ता लिए । आइएसएमटी कलेजमा बीएचएममा अध्ययनरत उनी कलेजले यस्ता कार्यक्रम गरिदिँदा विद्यार्थीलाई सहज हुने बताउँछिन्। काठमाडौंकी स्नेहा डंगोल आइएसएमटीमै बीबीए छैटौं समेस्टरमा अध्ययनरत छिन् । उनलाई बैंकिङ क्षेत्रमा काम गर्ने रुचि छ । कामको खोजी कसरी गर्ने होला भन्ने चिन्तामा थिइन् उनी । तर उनलाई लामो समयसम्म दोधारमा बस्न परेन । किनकि आइएसएमटीले कलेजमै बैंकिङ लगायतका विभिन्न कम्पनीसँग कामको लागि भेट्ने अवसर मिलाइदियो । स्नेहा डंगोल डंगोलले नेपाल एसबीआई बैंक, फोनपे, फोनपे एफवान सौर्य ग्रुपमा गएर उनीहरूलाई आवश्यक कामदार र आफूले खोजेको कामबारे कुराकानी गर्ने अवसर पाइन् । कलेजले एकैचोटी धेरै कम्पनीसँग भेट्ने बुझने अवसर दिएको भन्दै खुसी व्यक्ति गरिन् । बुढानीलकण्ठका आभास कार्की बीएचएम पढ्दै छन् । उनलाई फरक मान्छेहरूसँग भेटेर कुरा गर्न मन पर्छ । धेरै व्यक्तिसँग भेटेर कुरा हुने क्षेत्र होटल लाग्यो अनि उनले यही विषय राजे । स्नातक तहको अन्तिम सेमेष्टरमा अध्यनरत उनलाई अब आफै काम गर्दै पढ्न मन छ । पढाइ सकिएपछि कामको खोजीमा कता पुग्नुपर्ने हो भन्ने चिन्ता उनलाई कहिल्यै लागेन । किनकि उनलाई यो अवसर कलेजले नै उपलब्ध गराउँदै आएको थाह थियो । अहिले यो अवसर पाउँदा उनी निकै खुसी छन् । ‘सके जागिर पाइएला नभए अनुभव लिन पाइन्छ कलेजले यस्तो अवसर दिलाई दिनु नै ठूलो कुरा हो,’ उनले भने । आभास कार्की कम्पनीसँग भेट्नु अघि कसरी तयार गर्छ ? आइएसएमटीले हरेक वर्ष विद्यार्थीका लागि जबफेयरका कार्यक्रम गर्दै आएको छ । एक पटक गर्ने जवफेयरमा २ सय २५ जना विद्यार्थीले कम्पनीको बारेमा बुझ्न, मान्छे चिन्ने अवसर पाउँछन् । त्यसमध्ये करिब २० प्रतिशित विद्यार्थीले रोजगारको अवसर पाउने गरेका छन् । कलेजले विद्यार्थीलाई कम्पनीसँग अन्तरवार्ताका लागि त्यत्तिकै पठाउँदैन । त्योभन्दा अगाडि विद्यार्थीलाई बोल्न सक्ने बनाउँछ । कसरी बोल्ने, कसरी बस्ने, उठ्ने, शारीरिक हाउभाउ कसरी गर्ने भन्नेदेखि आफ्नो बायोडाटा कसरी बनाउने भन्ने विषयमा सिकाउने गरेको कलेजले जनाएको छ । यति कुरा सिकाइसकेपछि बल्ल कलेजले कम्पनीसँग जोडिदिन्छ । विद्यार्थीको रुचि, सीप दक्षता अनुसार कुन विद्यार्थी कस्तो संस्थमा फिट हुन्छ भन्ने कुरा कलेज र शिक्षकले तयार गरिदिन्छ । ब्याचलर्समा हरेक विद्यार्थी अलमलमा पर्छन् । कहाँ जाने के गर्ने, कसरी काम खोज्ने भन्ने पीर हरेक विद्यार्थीलाई हुन्छ । यस्तो बेला कलेज नै अभिभावकको रूपमा उभिनुपर्ने विद्यार्थीहरू बताउँछन् । ‘म पनि यही कुरामा अलमल थिएँ, तर सरले सहयोग गर्नुभयो, मलाई अहिले सहज भयो । यस्तै भविष्यको योजनाका लागि विद्यार्थीलाई कलेज शिक्षकको आवश्यकता हुन्छ, जुन कलेजले पुरा गर्नुपर्छ,’ स्नेहाले भनिन् । उनी अन्य कलेजहरूले पनि यसको सिको गर्नुपर्ने बताउँछिन् । भन्छिन्, ‘अहिलेको जेनजी पुस्ता हामी निकै दोधारमा छौं, तर हामीसँग आत्मविश्वास पनि छ, त्यो अनुसारको सीप, क्षमता छ । कतिपय साथीभाइहरूमा यस्तो आत्म विश्वास छैन, यो बेला अभिभावकिय भूमिकाकलेज हुनुपर्छ ।’ के भन्छन् कम्पनीहरू ? आइएसएमटी कलेजले आयोजना गरेको जवफेयर कार्यक्रममा नाम चलेका १८ वटा कम्पनी कलेज पुगेका थिए । उनीहरू आफ्नो कम्पनीलाई आवश्यक जनशक्ति कलेजमै खोज्ने अवसर पाए । यो कम्पनीलाई लागि पनि ठूलो अवसर रहेको उनीहरूको भनाइ छ । मर्क्योर होटेल जुन नेपालमा भर्खरैमात्र सुरु भएको छ । सुकेधारामा पाँचतारे होटेलका रूपमा सेवा दिइरहेको मक्र्योरलाई विभिन्न विधामा कर्मचारी आवश्यक परेको छ । कलेजले दिएको अवसरमा कम्पनीलाई आवश्यक विद्यार्थी छानेर लिने अवसर पाएको होटलले जनाएको छ । ‘हामीलाई इन्टर्नदेखि विभिन्न विभाग प्रमुखसम्मको कर्मचारी आवश्यक छ,’ मर्क्योरको मानव संसाधन विभागका प्रमुख संघर्ष खड्का भन्छन्, ‘यसरी कलेजमा आएर धेरै विद्यार्थीसँग कुरा गर्न पाउँदा कामदार छनोट गर्न सहज हुन्छ ।’ संघर्ष खड्का कामदार खोज्न प्रत्यक्ष आफै आएर धेरैजनासँग कुराकानी गर्न पाउँदा निकै सहज भएको उनले बताए । शौरभ ग्रुपको कर्पोरेट इञ्चार्ज हेमन्त पाण्डे आफ्नो कम्पनीका लागि आवश्यक कर्मचारी आइएसएमटीमै भेटिने सम्भावना रहेको बताउँछन् । ग्रुपलाई सेल्स, एकाउन्ट, कस्टुमर सर्भेस डिपार्टमेन्ट लगायत विभिन्न विद्यामा कर्मचारी आवश्यक परेकाले धेरै विद्यार्थी सोचेभन्दा राम्रो पाएको बताए । हेमन्त पाण्डे उनी भन्छन्, ‘सबै विद्यार्थी उत्तिकै क्षमतावान छन्, कुनैमा केही कमी छैन, यस्ता व्यक्ति लिँदा विद्यार्थीलाई मात्र नभइ कम्पनीलाई पनि राम्रो भएको छ ।’ उनी सूचना जारी गरी कर्मचारी छनोट गर्ने प्रक्रिया लामो हुने भएकाले कलेजको विशेष जवफेयरले सजिलो भएको बताए । गोकर्ण रिसोर्टलाई सर्भिस सेवामा कामदार आवश्यक परेको छ । रिसोर्टकी पुष्पा कोजु आइएसएमटीमा आइन् । उनले सोचेजस्तो विद्यार्थी पाइएको जानकारी दिइन् । एकै ठाउँमा कर्मचारी पाइने अवसर दिएकोमा उनले कलेजलाई धन्यवाद पनि दिइन्। पुष्पा कोजु कम्पनी र कामदारको दूरी घट्ने डिसहोमको ट्यालेन्ट एकुजेशन एण्ड डेभलपमेन्ट हेड मेघना श्रेष्ठ यस्ता कार्यक्रमले रोजगादाता र रोजगार खोजिरहेको जमातबीच सम्बन्ध नजिक हुने बताउँछिन् । मेघना श्रेष्ठ ‘नेपालमा काम पाइएन, बेरोजगारको संख्या बढी भयो भनिन्छ तर यहाँ बेरोजगार र अवसरको कमी भन्दा पनि सही व्यक्तिलाई सही ठाउँ पाउन ठूलो खाडल रहेको छ,’ उनी भन्छिन्,‘ कतिपय ठाउँमा यस्तै कार्यक्रम हुँदा यो खाडल पुर्ने प्रयास भइरहेको भएपनि सही मान्छे सही ठाउँ पाउन सकेका छैनन् ।’ नेपालमा धेरै कलेजले विद्यार्थीलाई पढाएर सर्टिफिकेट दिएर छोडिदिन्छ । शौरभ ग्रुपका कर्पोरेट इञ्चार्ज हेमन्त पाण्डे भन्छन्, ‘हामीले पढ्दा यस्तो सुविधा थिएन । बल्ल बल्ल आफै भौतारिएर खोजी गर्दा म कर्पोरट क्षेत्रमा आएको हुँ, तर यस्ता कार्यक्रम सबै कलेजले गरिदिनेहो भने हामीले जस्तो अहिलेका विद्यार्थीले दुःख गर्न पर्दैन ।’ उनी यस्ता गतिविधिले विद्यार्थीले तत्काल जागिर नपाएपनि नेटर्वक विकास हुने बताउँछन् । ‘नेपालमा केके कम्पनी छन्, कुन कम्पनीले के काम गछन्, त्यहाँ कस्ता कामदार आवश्यक पर्दा रहेछन् भन्ने विषयमा थाहा हुन्छ त्यसपछि बल्ल विद्यार्थीले जबमार्केट राम्रोसँग बुझ्न सक्छन्,’ उनले भने । जवफेयर गर्नुको तीन कारण आइसएमटीले हरेक वर्ष दुई पटक जवफेयर कार्यक्रम गर्दै आएको छ । आइएसएमटीका एकेडेमिक कोर्डिनेटर गिरिश दाहाल कलेजले जवफेयर कार्यक्रम गर्नुको तीनवटा कारण रहेको बताउँछन् । गिरिश दाहाल उनका अनुसार पहिलो विद्यार्थीको भविष्यका लागि सहजता, दोस्रो नेपालका कम्पनीलाई पनि दक्ष जनशक्तिको सुविधा र तेस्रो शैक्षिक उद्योग र अन्य उद्योगबीचको दुरी कम गर्न । उनी यस्ता कार्यक्रमले देशलाईं नै फाइदा हुने बताउँछन् । कलेजले अभिभावकको भूमिका निभाएको उनी दावी गर्छन् । उनी विद्यार्थीलाई यस्ता धेरै कार्यक्रम कलेजले सिकाइरहेको बताउँछन् । उनी कलेजले पढाउनेकाम मात्र नभइ पढाएर कुन ठाउँमा जागिर लगाइदिने जिम्मेवारी भएकाले सैद्धान्तिक र प्रयोगात्मक कार्यक्रम गर्दै आइरहेको पनि बताउँछन्।
शिक्षामन्त्री पुन भन्छन् - विद्यालय कर्मचारीलाई सरकारले तोकेको तलब दिनुहोस्
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले विद्यालयका बाल शिक्षक तथा कर्मचारीले पाउनुपर्ने सरकारले तोकेको न्यूनतम तलब सुनिश्चित गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । उनले फेसबुकमा सार्वजनिक स्टाटसमार्फत स्थानीय तहलाई यसबारे ध्यानाकर्षण गराएका हुन् । मन्त्री पुनका अनुसार शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकका लागि १२ हजार रुपैयाँ विद्यालय सहयोगीका लागि १० हजार रुपैयाँ र विद्यालय सहायक कर्मचारीका लागि १५ हजार बराबरको बजेट संघीय अनुदानमार्फत स्थानीय तहमा पठाइसकेको छ । उनले भनेका छन्, 'बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा तल नजाने गरी स्थानीय सरकार स्वयंले थप्नु पर्ने हो ।' उनका अनुसार हालसम्म करिब ७०० स्थानीय तहले अतिरिक्त रकम थपेर न्यूनतम पारिश्रमिक अनुसार तलब वितरण गरिरहेको जानकारी शिक्षा मन्त्रालयमा आएको छ । तर, अझै पनि धेरै स्थानीय तहले न्यूनतम तलब वितरण नगरेको भन्दै उनले यसलाई स्थानीय सरकारहरूको जिम्मेवारी भएको स्पष्ट पारे । बाल शिक्षक र विद्यालयका अन्य सहायक कर्मचारीहरूलाई अन्याय हुन नदिन मन्त्री पुनले स्थानीय तहलाई विशेष रूपमा सचेत गराएका छन् । उनले ट्रेड युनियन तथा श्रमिक संगठनका प्रतिनिधिहरूलाई पनि शिक्षक–कर्मचारीको अधिकारका लागि स्थानीय तहलाई ध्यानाकर्षण गराउन अनुरोध गरेका छन् ।
प्रिमियर स्कुलको स्टिम प्रदर्शनीमा ३५ भन्दा बढी परियोजना सार्वजनिक
काठमाडौं । प्रिमियर इन्टरनेशनल आइबी कन्टिन्युम स्कुलमा आयोजित ‘अन्वेषण एमवाईपी स्टिम प्रदर्शनी २०२५’ मा कक्षा ६, ७ र ९ का विद्यार्थीहरूले तयार पारेका ३५ भन्दा बढी परियोजनाले उनीहरूको जिज्ञासा, सिर्जनात्मकता र प्रविधिक सीपको उत्कृष्ट प्रस्तुति गरे । साधारणदेखि जटिल मेसिन, ऊर्जा रूपान्तरण तथा प्रणालीजस्ता विषयमा आधारित अनुसन्धान र प्रयोगले स्टिम शिक्षाले विद्यार्थीलाई आलोचनात्मक सोच, उद्देश्यपूर्ण डिजाइन र वास्तविक समस्याको समाधानतर्फ कसरी प्रेरित गर्छ भन्ने स्पष्ट देखियो । विद्यार्थीहरूले स्वचालित प्रणालीदेखि दिगो प्रविधिसम्मका विभिन्न कार्यशील नमूना प्रस्तुत गरे स्वतःचालित जलवितरण यन्त्र, हाइड्रोलिक ब्रेक प्रणाली, गुरुत्वाकर्षण–आधारित विद्युत् उत्पादक (पाइजो–विद्युत् प्लेटसहित), संकेत आधारित कृत्रिम हात, आपत्कालीन अवस्थाका लागि टाढाबाट सञ्चालन हुने गाडी, स्मार्ट सडक बत्ती तथा नवीकरणीय ऊर्जा मोडेलहरू । स्टिम प्रशिक्षकहरूको मार्गदर्शनमा उनीहरूले अन्वेषण, विकास, निर्माण र मूल्यांकनमा आधारित एमवाईपी डिजाइन प्रविधि प्रक्रिया अपनाउँदै कक्षाको अवधारणालाई व्यवहारिक परियोजनामा रूपान्तरण गरे । प्रदर्शनीले वैज्ञानिक ज्ञानसँगै २१औँ शताब्दीका अत्यावश्यक सीपहरू विद्यार्थीमा विकास गरायो । कम्प्युटर सहायता मोडलिङ, विद्युतीय सर्किट निर्माण, तार–जोड, अर्डुइनो–आधारित कोडिङ, ब्लक तथा पाठ–आधारित कोडिङ र कार्यशाला सुरक्षा । साथै परियोजना योजना, समूहकार्य, समस्या समाधान, त्रुटि पहिचान र निरन्तर सुधार जस्ता जीवनभर उपयोगी सीपहरू अभ्यास गर्ने अवसर प्राप्त भएकाे छ । कार्यक्रमका विशेष अतिथि हिप्को इनफ्राका निर्देशक तथा द लिफ रिसोर्ट एण्ड स्पाका संस्थापक हितेश गोल्छा विद्यार्थीहरूको सिर्जनशीलता, आत्मविश्वास र प्रविधि–कुशलताप्रति प्रभावित भए । साना उमेरका विद्यार्थीले प्रस्तुत गरेको प्रविधियुक्त परियोजनाको स्तर असाधारण रहेको प्रतिक्रिया उनले व्यक्त गरे । गोल्छाले विद्यार्थीको उत्साहवर्धनका लागि विजेता समूहलाई ‘लेगो’ उपहार झोला प्रदान गरे । ‘अन्वेषण–एमवाईपी स्टिम प्रदर्शनी–२०२५’ ले प्रिमियरले अँगालेको अनुभव–आधारित तथा जिज्ञासामूलक शिक्षण पद्धतिलाई अझ सुदृढ बनाएको छ । विद्यार्थीलाई विचार विकास, निर्माण, परीक्षण, सुधार र आत्मविश्वासका साथ प्रस्तुति दिन प्रेरित गर्नु नै भविष्यका आविष्कारक र समस्या–समाधानकर्ता तयार गर्ने मार्ग हो भन्ने सन्देश प्रदर्शनीले पुनः पुष्टि गरेको छ ।