१३ गते भूमि र २६ गते शिक्षा विधेयक पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभाले भदौ महिनामा महत्वपूर्ण विधेयकहरू पारित गर्ने तयारी गरेको छ । शुक्रबार (भदौ १३ गते) बस्ने बैठकमा भूमि सम्बन्धी विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ । सभामुख देवराज घिमिरेले बिहीबार प्रमुख सचेतकहरूसँग बैठक कार्यसूचीबारे छलफल गरेका थिए । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार भूमि सम्बन्धी विधेयक पारित गरी राष्ट्रिय सभामा पठाइनेछ । सोही बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका पनि रहेको छ । भदौ १८ र १९ गते बस्ने बैठकमा नागरिकता सम्बन्धी विधेयक तथा राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी विधेयक पारित गर्ने तयारी भएको छ । यस्तै, १७ गते राष्ट्रिय सभाबाट संघीय निजामति सेवा विधेयक सन्देशसहित फिर्ता आएमा १८ गते टेबुल र १९ गते पारित गरिने योजना छ । यसबाहेक, प्रतिनिधि सभाको अर्को बैठक भदौ २५, २६ र २७ गते बस्नेछ । यस अवधिमा विशेष गरी विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी गरिएको छ । शिक्षा विधेयकलाई भदौ २६ गते पारित गर्नेगरी कार्यतालिका तय भएको प्रमुख सचेतक बर्तौलाले जानकारी दिए । उनका अनुसार भदौ महिनाभर प्रतिनिधि सभाले संघीयता र सुशासनसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू पारित गर्नेछ ।

एम्बार्क अनम्याथले भैरहवा र बुटवलका विद्यालयमा गणित शिक्षामा परिवर्तन ल्याउँदै

काठमाडौं । एम्बार्क अनम्याथले गणित शिक्षालाई परम्परागत पाठ्यपुस्तकबाट बाहिर निकाल्दै रोचक र वास्तविक जीवनसँग जोडिएको सिकाइमा रूपान्तरण गर्ने अभियानलाई निरन्तरता दिएको छ । यही मिशनअनुसार, अनम्याथ टिमले अगस्त ३ देखि ८ गतेसम्म रुपन्देही जिल्लाका भैरहवा र बुटवलमा २५ भन्दा बढी विद्यालयमा गणित शिक्षासम्बन्धी पहुँच कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमका क्रममा प्रधानाध्यापक, शैक्षिक संयोजक र शिक्षकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै गणितलाई कसरी व्यावहारिक, सजिलो र आकर्षक बनाउन सकिन्छ भन्नेबारे छलफल गरियो । यस अवसरमा ‘अनम्याथ जिल्ला योजना’, ‘गणितको कथा भन्ने’, ‘उद्यमशील गणित’ र ‘म्याथ म्युजियम’ जस्ता अनुभवमूलक सिकाइ कार्यक्रमहरूको परिचय गराइयो । अनम्याथका मार्केटिङ तथा व्यापार विकास प्रबन्धक प्रज्वल पोखरेलले भने, 'हामीलाई विश्वास छ कि गणित यस्तो विषय हुनुपर्छ जसबाट विद्यार्थीहरू नडराउँन् । विद्यालय भ्रमणले हामीलाई विशेष आवश्यकताहरू बुझ्न र त्यसअनुसार समाधान तयार गर्न मद्दत गरेको छ ।' कार्यक्रममा सहभागी भएका शिक्षकहरूले पुरानो तरिकाले गणित पढाउँदा हुने समस्या समाधान गर्ने र विद्यार्थीहरूको जिज्ञासा बढाउने गतिविधिमूलक सिकाइ प्रभावकारी हुने विश्वास व्यक्त गरे । लुम्बिनी वर्ल्ड स्कूलका योग तथा प्राणायाम प्रशिक्षक शिवसुन्दर पोखरेलले भने, 'गणितलाई व्यावहारिक र वास्तविक जीवनसँग जोड्ने यो तरिका विद्यार्थीहरूका लागि निकै उपयुक्त छ ।' विद्यालयहरूको मागअनुसार अनम्याथले प्रयोगात्मक कक्षा सञ्चालन गर्ने, निरन्तर सम्पर्कमा रहने र आवश्यकता अनुसार विशेष योजना बनाउने लक्ष्य राखेको छ । यस पहलमार्फत रुपन्देहीका कक्षाकोठामा दीर्घकालीन रूपमा नयाँ र गुणस्तरीय गणित शिक्षा प्रवर्द्धन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

काठमाडौंमा अमेरिकी विश्वविद्यालयहरूको जमघट हुने

काठमाडौं । करिब ३० भन्दा बढी अग्रणी अमेरिकी विश्वविद्यालयहरू शिक्षा मेलामा सहभागी हुन काठमाडौं आउने भएका छन् ।  आगामी शुक्रबार पुतलीसडकस्थित जाम्बोरी एजुकेशन नेपालमा यो मेला आयोजना हुन लागेको हो । यो मेला देशमै अमेरिकी शैक्षिक संस्थानहरूको सबैभन्दा ठूलो उपस्थितिको रूपमा दर्ता हुने जनाइएको छ । यो एक दिने कार्यक्रमले नेपाली विद्यार्थीलाई प्रत्यक्ष रूपमा विश्वविद्यालयका भर्ना अधिकारीसँग भेटघाट, छात्रवृत्ति अवसरको जानकारी र तत्काल आवेदन प्रक्रियामा सहभागी हुने मौका दिनेछ ।  अमेरिकी संस्थानका प्रतिनिधिहरूले स्थलमै अन्तर्वार्ता, प्रोफाइल मूल्याङ्कन तथा योग्य विद्यार्थीलाई सशर्त भर्ना पत्र प्रदान गर्ने तयारी गरेका छन् । नेपालबाट अमेरिकी विश्वविद्यालयतर्फ विद्यार्थीको आकर्षण हाल अभूतपूर्व रूपमा बढेको छ । तथ्याङ्कअनुसार विगत दुई वर्षमा मात्र नेपाली विद्यार्थीको अमेरिकी विश्वविद्यालयमा आवेदन ४० प्रतिशतले वृद्धि भएको छ । मेलामा विद्यार्थीहरूको मागलाई ध्यानमा राखी विभिन्न विशेष सत्रहरू समेत सञ्चालन हुनेछन् । जसअन्तर्गत भर्चुअल क्याम्पस भ्रमण, एसटीईएम कार्यक्रमसम्बन्धी प्रिजेन्टेशन, व्यापारिक विद्यालयको जानकारी र उदारवादी कलाको विस्तृत प्रदर्शनी हुनेछन् ।  त्यसैगरी, धेरै अमेरिकी विश्वविद्यालयहरूले यस मेलामा नेपाली विद्यार्थीका लागि विशेष छात्रवृत्ति प्याकेज घोषणा गर्ने संकेत गरेका छन् ।  कार्यक्रम एमपावर फाइनान्स, क्याथी प्यासिफिक एयरवेज र प्राइम बैंकको प्रायोजनमा तथा ईटीएस टोफेलको सहकार्यमा आयोजना हुन लागेको हो ।  मेला बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ । १५ वर्षदेखि ५ हजारभन्दा बढी विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा प्लेसमेन्टमा सहयोग गर्दै आएको ईडीएफ जाम्बोरी अहिले २०० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थानहरूसँगको साझेदारीसहित नेपालकै प्रमुख शैक्षिक परामर्श संस्थाको रूपमा स्थापित भइसकेको छ ।