काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड भएका विद्यार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा असार १ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले परीक्षा तालिका सार्वजनिक गर्दै पूरक परीक्षा असार १ गतेदेखि सुरु हुने जनाएको हो ।
बोर्डका अनुसार असार १ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । साथै संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना तथा मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा पनि सोही दिन सञ्चालन गरिनेछ ।
असार २ गते अनिवार्य नेपाली तथा गैरनेपाली विद्यार्थीहरूका लागि अतिरिक्त अंग्रेजी विषयको परीक्षा हुनेछ । त्यसैगरी असार ३ गते अनिवार्य गणित विषयको परीक्षा सञ्चालन गरिनेछ ।
असार ४ गते अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षा हुनेछ । संस्कृत वेदविद्याश्रमतर्फ शुक्लयजुर्वेद, सामवेद, ऋगवेद, अथर्ववेद तथा नीतिशास्त्र विषयको परीक्षा पनि सोही दिन हुनेछ ।
यस्तै, असार ५ गते अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा सञ्चालन हुनेछ । प्राविधिक धारतर्फ ऐच्छिक गणित, संस्कृत वेदविद्याश्रमतर्फ संस्कृत भाषा तथा व्याकरण, साथै साधारण तथा संस्कृत वेदविद्याश्रमतर्फ ऐच्छिक प्रथमपत्रका सबै विषयहरूको परीक्षा पनि सोही दिन हुने बोर्डले जनाएको छ ।
असार ६ गते शनिबार प्राविधिक धारतर्फका विषयहरूको परीक्षा सञ्चालन गरिनेछ । असार ७ गते साधारण तथा संस्कृत वेदविद्याश्रमतर्फ ऐच्छिक द्वितीयपत्रका सबै विषय तथा प्राविधिक धारतर्फका विषयहरूको परीक्षा हुनेछ ।
त्यसैगरी असार ८ र ९ गते पनि प्राविधिक धारतर्फका विषयहरूको परीक्षा सञ्चालन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।
सोमबार राति प्रकाशित एसईई परीक्षाफलअनुसार १ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थी ननग्रेडेड भएका छन् भने ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । चैत्र २९ गते सम्पन्न एसईई परीक्षामा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए ।