आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार देशमा पछिल्ला दिनमा सिर्जित परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न आग्रह गरिएको हो । विद्यालयमा कुनै क्षति भए/नभएको एकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न महानगरले सूचनामार्फत अनुरोध गरेको छ । महानगरको शिक्षा विभागले विभिन्न चार बुँदामा सबै विद्यालयलाई कक्षा सञ्चालन, भदौ २३ र २४ गतेदेखि देशमा सिर्जित अवस्थाका कारण विद्यालयमा क्षति भए/नभएको एकिन गर्न र कक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न सूचित गरेको हो । महानगरले यही भदौ ३० गते सोमबारदेखि भने मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीका हकमा श्रव्य दृश्यका माध्यमबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।
पोखराका विद्यालय असोज १ गतेदेखि सञ्चालनमा आउने
गण्डकी । ‘जेनजी’ प्रदर्शनका कारण बन्द भएका पोखरा महानगरपालिकाका विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । पोखरा महानगरपालिका नगर कार्यपालिकाको शनिबार बसेको बैठकको निर्णयानुसार महानगरभित्रका सम्पूर्ण विद्यालय असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय भएको महानगरपालिका शिक्षा महाशाखा निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए । यसैगरी, यस क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लामा विकसित घटनाक्रम र शान्तिसुरक्षाको अवस्थालाई विश्लेषण गर्दै जिल्ला सुरक्षा समितिको निर्णयानुसार पोखरा महानगरपालिकाका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा र कर्फ्यू आदेश आजै बिहान ९ः०० बजेदेखि हटाइएको छ । कर्फ्यू र निषेधाज्ञा हटेसँगै सार्वजनिक यातायात र बजार क्षेत्र सञ्चालनमा आउन थालेका छन् ।
त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक ११ गतेसम्म बन्द
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पठनपाठन आगामी कात्तिक ११ गतेपछि मात्रै सुरु हुने भएको छ । त्रिविले आज सूचना जारी गरी असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन सुरु गर्न समस्या भएको जनाउँदै अब छठपर्वपछि मात्र पठनपाठन हुने जनाएको हो । सूचनामा भनिएको छ, 'मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ ।'