पोखरा विश्वविद्यालयका ६ हजार ६२२ विद्यार्थी आज दीक्षित हुँदै

काठमाडौं । पोखरा विश्वविद्यालयमा अध्ययन गरेका ६ हजार ६२२ जना शुक्रबार (आज) दीक्षित हुँदैछन् ।  पोखरा महानगरपालिका–३० खुदी ढुङ्गेपाटनमा आज आयोजना हुने २१ औं दीक्षान्त समारोहमा विभिन्न तह र सङ्कायमा उच्च शिक्षा हासिल गरेका उनीहरूलाई उपाधि प्रदान गरिने विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।      व्यवस्थापन सङ्कायबाट तीन हजार ६२५, विज्ञान तथा प्रविधि सङ्कायबाट दुई हजार ५०६, स्वास्थ्य विज्ञानबाट ३६५ र मानविकी तथा सामाजिक शास्त्र सङ्कायबाट १२६ जनालाई उपाधि दिइने छ ।       उक्त अवसरमा स्नातकोत्तर तहमा सबैभन्दा उच्च अङ्क ल्याउने विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट हुनेलाई उपकुलपति पदक प्रदान गरिनेछ ।  स्नातक तहको बिसिए कार्यक्रममा उच्चतम अङ्क ल्याउनलाई ‘अक्सफोर्ड’ पदक प्रदान गरिनेछ । शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ६६४ जना विद्यार्थी यस वर्ष ‘डीन लिस्ट’ उपाधिबाट सम्मान गरिने छ । 

सफ्टवरिका कलेजमा ‘रोबोट्रोनिक्स समिट २०२६’ सम्पन्न

काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित सफ्टवरिका कलेज अफ आईटी एण्ड ई–कमर्समा ‘रोबोट्रोनिक्स समिट २०२६’ सम्पन्न भएको छ ।  ‘डिजिटल एभरेष्टस् स्केलिङ इनोभेसन बियोन्ड बोर्ड्स’ भन्ने मूल नाराका साथ आयोजित यस समिटले नेपालमा पहिलोपटक उद्योग-केन्द्रित र प्रयोगात्मक रोबोटिक्स शिक्षाको आवश्यकतालाई उजागर गरेको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सन् २०३० सम्मको प्रविधि बजारलाई ध्यानमा राख्दै नेपाली विद्यार्थीहरू ह्युमनोइड्स र डिजिटल ट्विन्स जस्ता अत्याधुनिक प्रविधिमा पोख्त हुनुपर्ने बताए ।  उनले ‘रोबोटिका कलेज’ को उद्योगमैत्री पाठ्यक्रमले दक्ष जनशक्ति उत्पादनमा ठूलो सहयोग पु‍र्याउने विश्वास व्यक्त गरे । क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा वान कभरका सीईओ चिरञ्जीवी अधिकारीले  केवल सैद्धान्तिक ज्ञान भएका जनशक्ति नभई उद्योगको मागअनुसार वास्तविक उत्पादन तयार गर्न सक्ने दक्ष जनशक्तिको खाँचो भएको बताए । अटोनोमस रोबोटिक्सका विज्ञ युधिष्ठिर गौलीले स्वास्थ्य सेवा, ढुवानी र उत्पादनमूलक क्षेत्रमा रोबोटिक्सको बढ्दो महत्त्वबारे आफ्नो अनुभव साट्दै नेपालमा पहिलोपटक ‘रोबोटिका इन्स्टिच्युट’ को उद्योग–आधारित पाठ्यक्रम शिक्षण संस्थाहरूमा भित्र्याइएको जानकारी दिए । सफ्टवारिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले समिटमा ‘टेक शोकेस’ र ‘करियर जोन’ मार्फत विद्यार्थीहरूले विश्वव्यापी रिमोट जब्स र इन्टर्नसिपका अवसरहरूबारे प्रत्यक्ष जानकारी पाएको बताए ।  उनले आगामी दिनमा पनि कलेजले यस्ता प्रयोगात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । विश्व बैंक समूहको जब एजेन्डासँग तालमेल मिलाउँदै समिटले पूर्वाधारमा लगानी, व्यवसायिक वातावरण निर्माण र निजी पुँजी परिचालन मार्फत रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा देशभरका विभिन्न कलेजका विद्यार्थी, प्राज्ञिक व्यक्तित्व र प्रविधि विज्ञहरूको बाक्लो उपस्थिति रहेको थियो।

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि, परीक्षा तालिका सार्वजनिक

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।  तालिकाअनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १४ गतेदेखि सुरु भई वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ। पहिलो दिन वैशाख १४ गते अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा तथा उर्दू व्याकरण र साहित्य विषयको परीक्षा हुनेछ । वैशाख १५ गते अनिवार्य नेपाली र प्राविधिक धारतर्फको सोसल स्टडिज विषयको परीक्षा तोकिएको छ ।  उक्त परीक्षा तालिका कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धार अन्तर्गतका नियमित र आंशिक परीक्षार्थीका लागि लागू हुनेछ । परीक्षामा रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका परीक्षार्थीहरू सहभागी हुन पाउने बोर्डले जनाएको छ ।