एशियन लाइफको पहिलो त्रैमासः आम्दानी ५ करोडले घट्यो तर नाफा भयो दोब्बर बढी

काठमाडौ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा १ अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ८८ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ९ करोड ४० लाख रुपैयाँ भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४ करोड २ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १९ करोड ८६ लाख रुपैयाँ आम्दानी गर्दा १० करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको आम्दानी २५ करोड ५ लाख रुपैयाँ रहेको थियो भने खर्च २१ करोड २ लाख रुपैयाँ रहेको थियो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खर्चमा उल्लेख्य कटौति गरेर नाफा बृद्धि गरेको हो । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा आम्दानी करिब ५ करोड रुपैयाँ कम भएपनि नाफा भने ५ करोड रुपैयाँभन्दा बढीले बृद्धि गरेको छ । आगामी रणनीति विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको कारण आर्थिक गतिविधि विगतको तुलनामा न्यून छन् । कोरोना महामारीको असर विश्व अर्थतन्त्रमा समेत परेको छ । सो असर लामो समयसम्म रहने सम्भावना पनि देखिएका छन् । यस्तो परिस्थितिमा अर्थतन्त्रमा आउने विश्वव्यापी मन्दीले नेपालमा समेत प्रभाव पार्छ । सोही मन्दीको प्रभावबाट बीमा क्षेत्रमा पर्ने असरलाई न्युनिकरण गर्नु आजको मुख्य चुनौति रहेको कम्पनी व्यवस्थापनको विश्लेषण छ । कम्पनीका अनुसार गुणस्तरीय बीमा व्यवसाय अभिवृद्धीका लागि दक्ष जनशक्तिको अभाव छ । बढ्दो महंगी, तरलता संकुचन, सुरक्षित र आकर्षक दीर्घकालिन लगानीका अवसरहरुको कमी छ । यसरी नै जीवन बीमाको बारेमा जनचेतनाको समेत कमी छ भने जीवन बीमा कम्पनीहरुमा हुने अस्वस्थ प्रतिस्पर्धा आजका प्रमुख समस्या र चुनौति रहेको कम्पनी व्यवस्थापनको विश्लेषण छ ।

रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका वीमित इस्तखर मिया थकुराइनको परिवारलाई बीमा दाबी वापतको ४० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो । कम्पनीले मंसिर ८ गते एक कार्यक्रमका बीच जीवन बीमा गरेको उक्त मृतक वीमितको परिवारलाई सो बराबरको दावी भुक्तानी गरेको हो । उक्त कार्यक्रममा कम्पनीका ताहाचालका कलस्टर प्रमुख नविन श्रेष्ठले वीमितहरुलाई समयमा नै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको हुँदा दावी भुक्तानी यथाशिघ्र गर्नै कम्पनीको नीति अनुरुप दावी भुक्तानी प्रदान गरेको बताएका छन् ।

नेशनल लाइफको नाफा ११ करोड ८३ लाख, यस्ता छन् १५ महिनाका प्रमुख परिसुचक

काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा २ अर्ब ८० करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही समयमा १ अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ११ करोड ८३ लाख रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा ११ करोड ५३ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको नेशनल लाइफले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १६ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेशनल लाइफको खर्च ४ करोड १५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खर्च ४ करोड ८६ लाख रुपैयाँ रहेको थियो । यस आर्थिक वर्षको पहिलो ३ महिनामा कुल कायम रहेको बीमालेखको संख्या ८ लाख ८२ हजार छ । आगामी रणनीति कम्पनीले वहन गर्नुपरेको आन्तरिक र वाह्य समस्या तथा चुनौती र त्यसलाई समाधान गर्न व्यवस्थापनले अवलम्बन गरेको रणनीति सम्बन्धी कम्पनीले केही जानकारी दिएको छ । सो जानकारी अनुसार अहिले विश्वभर फैलिएको कोरोना भाईरसको कारणले अर्थतन्त्रमा मन्दी आएको अवस्था छ । त्यस्तै, उक्त मन्दीले जीवन बीमा व्यवसायमा प्रतिकूल प्रभाव पर्ने कम्पनीको अनुमान छ । कम्पनीले दिएको जानकारी अनुसार वर्तमान स्थितिमा बजार बृद्धि गर्न बीमा सेवा प्रभावकारी ढंगले अघि बढाउने आगामी रणनीति रहेको छ ।