बीमा समितिलाई अर्थको निर्देशनः कोरोना बीमाको दाबी भुक्तानी ३ दिनमा गरिसक्नु (पत्रसहित)
काठमाडौं । अर्थमन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी ३ दिनभित्रमा गरिसक्न बीमा समितिलाई निर्देशन दिएको छ । सबै प्रक्रिया पूरा भएका दाबीको ३ दिनभित्रमा भुक्तानी गरिसक्न तथा दैनिक जानकारी अर्थमन्त्रालयलाई दिन निर्देशन दिइएको हो । कोरोना बीमा दाबी भुक्तानीमा अनावश्यक ढिलाई भएपछि अर्थमन्त्रालयले यस्तो ताकेता गरेको हो । मन्त्रालयले बीमा समितिलाई पठाएको पत्रमा ४ बुदे निर्देशन दिइएको छ । विकासन्युज डटकमलाई प्राप्त मन्त्रालयको निर्देशनको पहिलो बुँदामा कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गरी दैनिक रुपमा मन्त्रालयमा जानकारी गराउन भनिएको छ । यस्तै, दोस्रो बुँदामा भेरिफिकेसन गर्न बाँकी दाबीको भेरिफिकेसन यथाशिघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन पनि निर्दृेशन दिइएको छ । तेस्रो बुँदामा कोरोना बीमा दाबी भुक्तानीको सम्बन्धमा विभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दाबी भुक्तानीमा के कस्ता समस्याहरु देखिएका छन्, हाल कुन कुन बीमा कम्पनीहरुमा कति संख्यामा दाबी परेको विवरण पेण्डिङ रहेको छ सोको विवरण र समस्या समाधानको लागि त्यस समितिबाट के प्रयास भइरहेको छ, यस मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के हुन्, यसको विस्तृत विवरण मन्त्रालयमा पठाउन पनि निर्देशन दिइएको छ । निर्देशको चौथो बुँदामा नियमित रुपमा कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, भेरिफिकेसनको लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, भेरिफिकेसन नभएका वा नक्कली दाबीको विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भइ भुक्तानी गर्न बाँकी विवरण पनि मन्त्रालयमा दिन भनिएको छ ।
एनएलजी इन्स्योरेन्सको सञ्चालकमा बिष्ट नियुक्त
काठमाडौं । एनएलजी इन्स्योरेन्सको सञ्चालकमा नरेन्द्र सिंह बिष्ट नियुक्त भएका छन् । मंसिर १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सञ्चालक बिष्टले कम्पनी सञ्चालकको बाँकी कार्यकालको जिम्मेवारी सम्हाल्ने छन् ।
नेशनल लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन, बढ्यो बोनसदर
onal lifeकाठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश परिमार्जन भएको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको १७.५ प्रतिशत लाभांशलाई परिमार्जन गरी अब १०.५३ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीले बीमा समितिको निर्देशन अनुसार उक्त लाभांश परिमार्जन गरेको हो । यससँगै कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद(कर प्रयोजनको लागि) लाभांश वितरण गर्ने भएको छ । जुन यसअघि प्रस्ताव गरेको लाभांश भन्दा घटी हो । लाभांशदर घटेपनि कम्पनीले बोनसदरलाई बढाएर नगद लाभांशलाई घटाई नयाँ प्रस्ताव गरेको हो । यसअघि कम्पनीले १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । जुन कम्पनीले बीमा समितिको अनुसार परिमार्जन गरी बोनसदर ८ प्रतिशतले बढाएर नयाँ प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।