शिखर इन्स्योरेन्सकाे सेवा अब भाइबर र फेसबुक मेसेन्जर मार्फत लिन सकिने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले डिजिटल इन्स्योरेन्समा फड्को मार्दै सम्पुर्ण बीमा क्षेत्रमै पहिलो पटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबटको प्रयोग मार्फत आफ्ना बीमा सेवाहरु उपलब्ध गराउने भएकाे छ । वर्तमान अवस्थामा बीमा कम्पनीसम्म पुगी बीमा सेवा प्राप्त गर्न असहज परिस्थिति रहेको अवस्थामा ग्राहकहरुले अब कम्पनीसम्म नगइकनै फेसबुक मेसेन्जर र भाइबरबाट कम्पनीका विभिन्न सेवाहरु लिन भएका हुन् । यसका लागि फेसबुक मेसेन्जरमा लगइन गर्नु पर्नेछ भने भाइबरमा कम्पनीको क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ । इन्टरनेटमा पहुँच रहेका ग्राहकहरुका लागि च्याटबट सेवा अति नै सहज, सरल र प्रभावकारी हुने कम्पनीले जनाएकाे छ । यस च्याटबट मार्फत ग्राहकले आफुले लिन चाहेका सेवा बारे जानकारी दिनासाथ शिखर इन्यारेन्सको सम्बन्धित विभागले ग्राहकलाई सम्पर्क गर्नेछन् । यसले गर्दा ग्राहकहरुको समय बचत हुनुका साथै इच्छा अनुसारका सेवा तत्कालै लिन पाइने कम्पनीले जनाएकाे छ । ग्राहकहरुले उक्त माध्यमबाट बीमा पोलिसी खरिद, दाबीको जानकारी, बीमा पोलिसीको प्रति इमेल, बीमा नविकरण, बीमा सम्पुष्टि, केवाईसी अपडेट जस्ता सेवाहरु लिन सक्नेछन् साथै आफ्ना सुझावहरु समेत दिन सक्नेछन् । यसका साथै अन्य सुविधाहरु समयसापेक्ष अपग्रेड गरी समावेश गर्दै लाने र निकट भविष्यमा ग्राहकले सोही माध्यमबाटै बीमालेख प्राप्त गर्न सक्ने व्यवस्था समेत मिलाउने शिखर इन्स्योरेन्सले जनाएको छ । कोभिडको कारणले सम्पूर्ण विश्व नै प्रभावित भइरहेको अवस्थामा यस किसिमको सेवाको शुरुवातसँगै ग्राहकहरुले अब घरमै बसी सुरक्षित तवरले बीमा सेवाहरु लिन सक्ने र स–सानो कुराकोे लागि कम्पनी धाउनुपर्ने बाध्यताको अन्त्य हुने शिखर इन्स्योरेन्स बताउँछ ।
प्राइम लाइफ इन्स्योरेन्सकाे लाभांश घोषणा, पछिल्लो २ वर्ष यताकै उच्च
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को लाभांश घोषणा गरेको छ । कम्पनीले उक्त आवको नाफाबाट सेयरधनीलाई कूल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो २ वर्ष यताकै उच्च लाभांशदर हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ८ प्रतिशत नगद(नगद लाभांश र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि समेत) गरी १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव मंसिर १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । त्यसपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ रहेको छ । ७ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ । कम्पनीले वितरण गरेको २ वर्षअघिकाे लाभांशदरः २०७४/७५= १२.५ प्रतिशत (बोनस मात्रै) २०७३/७४= १२.५ प्रतिशत (बोनस मात्रै)
आईपीओ जारी गर्न प्रभु लाइफ इन्स्योरेन्सले पायो अनुमति
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न अनुमति पाएकाे छ । नेपाल धितोपत्र बोर्डले गत मंसिर ११ गते कम्पनीलाई सो मात्राको सेयर जारी गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ६० लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्केटमार्फत सो मात्राको सेयर बिक्री गर्ने छ । इन्स्योरेन्सले गत असोज २५ गते मात्र बोर्डसँग आईपीओ जारी गर्ने फाइन बाेर्डमा पठाएकाे थियो ।