नवलपुरमा फागुनदेखि स्वास्थ्य बीमा कार्यक्रम संचालन हुने

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा आगामी फागुनदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । सरकारले स्वास्थ्य बीमा बोर्डबाट सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि यहाँ अभिमुखीकरणसँगै दर्ता सहयोगी छनोटको काम अगाडि बढाइएको छ । स्वास्थ्य कार्यालय नवलपुरसँगको सहकार्यमा बोर्डले जिल्लाको गैँडाकोट, देवचुली र कावासोती नगरपालिकामा अभिमुखीकरणसँगै दर्ता सहयोगी छनोट गरिसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । फागुन पहिलो सातादेखि जिल्लामा शुरु हुन लागेको स्वास्थ्य बीमा कार्यक्रमका लागि माघ २८ गतेसम्म आठवटै स्थानीय तहका सबै वडामा दर्ता सहयोगी छनोट गरिने स्वास्थ्य बीमा बोर्ड काठमाडौँका अनुगमन तथा सुपरीवेक्षण शाखा प्रमुख शम्भु पौडेलले जानकारी दिए । छनोट भएका दर्ता सहयोगीलाई तीन दिनको तालीम प्रदान गरेर बीमा कार्यक्रम सञ्चालन गर्ने तयारी भएको पौडेलले बताए । गण्डकी प्रदेशमा रहेका ११ मध्ये आठ जिल्लामा यसअघि नै बीमा कार्यक्रम सञ्चालन भइसकेका छन् । फागुनको पहिलो सातादेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भन्दै शाखा प्रमुख पौडेलले यसै आर्थिक वर्षभित्र मनाङ र मुस्ताङमा समेत स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए । विसं २०७२ मा सुदूरपश्चिमको कैलालीबाट शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम गण्डकी प्रदेशमा विसं २०७३ मा बागलुङबाट शुरु गरिएको थियो । स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म मुलुकका ६५ जिल्लामा कार्यक्रम लागू भइसकेको छ । स्वास्थ्य बीमा गराएकाले एक हजार १३३ प्रकारका औषधिसहितको स्वास्थ्य सेवा प्राप्त गर्ने पौडेलले बताए । पौडेलले पाँच जनाको परिवारले वार्षिक तीन हजार ५०० तथा त्यो भन्दा बढी भएमा प्रति थप व्यक्ति ७०० तिर्नुपर्ने बताए । स्वास्थ्य बीमा गरेपश्चात पाँच जनासम्मको परिवारले वार्षिक रु एक लाखसम्म तथा सोभन्दा बढी सदस्य रहेको परिवारले प्रति थप व्यक्ति २० हजारका दरले अधिकतम दुई लाखसम्मको निःशुल्क सेवा पाउने बताइएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य कार्यालय नवलपुरले समन्वय गर्दै हरेक स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको कार्यालय प्रमुख केशव चापागाईंले बताए । बीमा गरेको तीन महिनापछि सेवा प्राप्त गर्न सकिने उहाँले जानकारी दिनुभयो । बीमा गर्ने व्यक्तिको पहिलो प्राथमिकतामा जिल्ला अस्पताल रहने भन्दै अन्य निजी अस्पतालमा उपचार गर्नका लागि जिल्ला अस्पतालबाट सिफारिस लैजानुपर्ने उनले बताए । “अहिले बीमासम्बन्धी चेतनाका कार्यक्रम तथा स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको छ” चापागाईंले भने, “यसपश्चात् दर्ता सहयोगीलाई तालीम प्रदान गरेर फागुनको पहिलो साताबाट जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमका लागि फाराम भर्ने काम हुन्छ ।” स्वास्थ्य बीमाका लागि सरकारी तथा गैरसरकारी, सबै सङ्घसंस्थाबाट रचनात्मक सहयोगको आवश्यकता रहेको चापागाईंको भनाइ छ । रासस

लाभांश पारित गर्न लाइफ इन्स्योरेन्स कर्पोरेसनले बोलायो वार्षिक साधारणसभा

काठमाडौं । लाइफ इन्स्यारेन्स कर्पोरशन (नेपाल) ले आगामी फागुन २५ गते वार्षिक साधारणसभा बोलाएको छ । माघ २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश पारित गर्न सो दिन सभा आव्हान गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६को नाफाबाट चुक्ता पुँजीको १०.५२ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र बाँकी कर प्रयोजनको लागि) प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई अबको सभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् । कम्पनीकाे १८औ वार्षिक साधारणसभा फागुन २५ गते काठमाडौंमा हुने भएको हो । सभाकाे मिति तय गरेकाे कम्पनीले हालसम्म बुक क्लाेजकाे मिति भने तय गरेकाे छैन ।

राष्ट्रिय बीमा कम्पनीकाे ४४ अर्ब ४४ कराेडकाे सेयर काराेबार राेक्का, कसकाे नियत के ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले आफ्नो ४४ अर्ब ४४ कराेड रूपैयाँ भन्दा बढीकाे सम्पत्ति भाेगचलन गर्न पाएका छैनन् । कम्पनीले पुरा गर्नु पर्ने कानुनी प्रकृया पुरा नभएकाे भन्दै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले साे कम्पनीकाे काराेबार बन्द गरिदिएकाे छ । वार्षिक वित्तीय विवरण लेखापरीक्षण नगरेको र त्रैमासिक वित्तीय विवरण पनि नियमित रुपमा नबुझाएको भन्दै नेपाल स्टक एक्स्चेञ्जले गत माघ १८ गतेदेखि कम्पनीको सेयर कारोबार बन्द गरिदिएको हाे । गत आर्थिक वर्षसम्मको लेखापरिक्षण भएको वार्षिक प्रतिवेदन नबुझाएसम्म सेयर कारोबार बन्द गरिने नेप्सेले जनाएको छ । तर राष्ट्रिय बीमा कम्पनी तत्काल लेखापरिक्षण प्रतिवेदन बुझाउन सक्ने अवस्थामा छैन । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्यालका अनुसार आर्थिक वर्ष २०७२/७३ सम्मको मात्र लेखापरीक्षण भएको छ । तर आर्थिक वर्ष २०७३/७४ देखि यता अर्थात आर्थिक वर्ष २०७६/७७ सम्म ४ आर्थिक वर्षको आर्थिक प्रतिवेदन लेखापरीक्षण भएको छैन । ‘आर्थिक वर्ष २०७५/७६ सम्मको लेखापरीक्षणकाे धेरै काम सकिएको छ । आर्थिक वर्ष २०७६/७७ को पनि लेखापरीक्षण सक्दैछौं । केही प्राविधिक विषय मिलाउन बाँकी छ । २ महिनाभित्रमा लेखापरीक्षण काम सक्ने लक्ष्यका साथ काम गरिरहेका छौं’, प्रमुख कार्यकारी अधिकृत अर्यालले भने । कम्पनीको सेयर कारोबार तत्काल फुकुवा गरिदिन नेप्सेलाई अनुरोध गरिएको उनले बताए । ‘पहिला नै गर्नुपर्ने काम बाँकी रहँदै आएको छ । कम्पनीमा नयाँ समस्या आएको होइन । पहिला समस्या हुँदा हुँदै पनि सेयर कारोबार खुला नै थियो । अहिले समस्या समाधानको प्रयास भैरहेको बेलामा कारोबार बन्द गरेर कसैको पनि हित हुँदैन’ अर्यालले भने ‘काराेबार बन्द गर्नुकाे नियत के हाे ? भन्ने पश्न उब्जिएकाे छ।’ ‘सेयरको मूल्य बढिरहेको छ । यो बेलामा लगानीकर्ताले सेयर बेच्न खोज्छन् । उनीहरुलाई समस्या हुनेगरी कारोबार बन्द गर्नु हुँदैन थियो’ उनले विकासन्युजसँग भने । सेयर कारोबार बन्द गर्दा कम्पनीको व्यवसायिक गतिविधिमा कुनै असर नगर्ने तर लगानीकर्तालाई समस्या हुने उनले बताए । उता नेप्सेले भने कम्पनीकाे सम्पूर्ण विवरण आएपछि मात्रै कम्पनीको सेयर कारोबार फुकुवा गर्ने बताएको छ । ‘हालसम्म कम्पनीकाे पुरै विवरण आइसकेकाे छैन । त्यसैले सम्पूर्ण विवरण आएपछि मात्र कम्पनीकाे सेयर काराेबार खुल्ने छ’, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले विकासन्युजसँग भने । कम्पनीले तत्काल काराेबार फुकुवा गरिदिन अनुरोध गरिरहेकाे आधारमा खुल्छ कि खुल्दैन भन्ने विकासन्युजकाे प्रश्नमा सीईओ साउदले भने- ‘राष्ट्रिय बीमा कम्पनीले मात्रै हाेइन कुनै पनि कम्पनीले अनुराेध गरेकाे भरमा राेक्का गरिएकाे सेयर काराेबार फुकुवा हुँदैन । काराेबार फुकुवा गर्नकाे लागि कम्पनीले सम्पूर्ण विवरण पेश गर्नै पर्छ । हामीले विवरण मागेका हाैं । हामी ऐन नियम अनुसार जान्छाैं । त्यसैले अनुराेध गर्दैमा काराेबार खुल्दैन ।’ कम्पनीले लेखापरिक्षणकाे काम गर्न पहल गरेकाे भएपनि त्यसकाे परिणाम भने देखिएकाे छैन । कम्पनीले दिएकाे जानकारी अनुसार कम्पनीले २ महिनाभित्रमा लेखापरीक्षण काम सक्ने गर्ने लक्ष्य लिएर काम गरिरहेकाे छ । यससँगै साे अवधिमा सबै काम सकेर नेप्सेमा सम्पूर्ण विवरण बुझाएमा कम्पनीकाे सेयर काराेबार २ महिना पछि मात्रै खुल्ने देखिन्छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १६ हजार ६७० रुपैयाँमा किनबेच भएको थियो । कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ मात्र छ । निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी कम्तिमा १०० करोड हुनुपर्ने मापदण्ड बीमा कम्पनीहरुको नियामक बीमा समितिले तोकेर २०७५ असार मसान्तसम्म न्युनतम पुँजी कायम गर्न निर्देशन दिएको थियो । निजी लगानीको कम्पनीहरुले मापदण्डअनुसार पुँजी वृद्धि गरिसकेको छन् तर सरकारी लगानी रहेको राष्ट्रिय बीमा कम्पनीको पुँजी भने अझै न्युनतमको पनि एक चौथाई मात्र रहेको छ । लेखापरिक्षण नगरेकाे र वार्षिक साधारणासभा नगरकाे भन्दै बीमा समितिले पनि राष्ट्रिय बीमा कम्पनीकाे लाइसेन्स नविकरणा गरेकाे छैन । समितिले कम्पनीमाथि कानुनकाे परिपालनामा जाेड दिदै विभिन्न किसिमकाे दवाव दिदै आएकाे छ ।