आईपीओ जारी गर्न लागेकाे सिटिजन लाइफको व्यवसायमा छलाङ, १३०% ले बढ्याे जीवन बीमा कोष
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आ.व. २०७७/०७८ को दोश्रो त्रैमासिक (पौष मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १३० प्रतिशतले वृद्धि गरेको छ । गत आवको पौष मसान्तमा कम्पनीको जीवन बीमा कोष १ अर्ब ४ करोड ४० लाख रूपैयाँ रहेकोमा यस पौष मसान्तमा सो रकम २ अर्ब ३९ करोड ८१ लाख रूपैयाँ पुगेको छ । यसका साथै कम्पनीले गत आवको पौष मसान्तसम्ममा कुल बीमाशुल्क ८० करोड ८८ लाख संकलन गरेकोमा यस आवको सोही अवधिमा १ अर्ब ४० करोड २१ लाख रूपैयाँ संकलन गर्न सफल भएको छ । यसरी हेर्दा बीमा शुल्क आर्जन ७३ प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा जीवन बीमा कोषमा १३० प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ४२ करोड १ लाखबाट ७३% ले बढाएर ७२ करोड ८० लाखको उचाई चुमाएको छ । साथै, कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ५४ प्रतिशतको वृद्धि गरी १५ करोड ४ लाख रूपैयाँ पुर्याएको छ । जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम ४ अर्ब ९६ करोड रूपैयाँमध्ये करिब ८३ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ । हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना वढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
रामचन्द्र श्रेष्ठ र चन्द्रसिंह साउद भित्र्याउँदै जीआईसी, विनेश मास्के बने कामु महाप्रबन्धक
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) लिमिटेडले स्थापनाकालदेखि कार्यकारी प्रमुखको भूमिकामा रहेका एकसे टमोटलाई बिदा गरेको छ । ५ दशकभन्दा बढी बीमा क्षेत्रमा काम गरेका टमोटले उमेरको आधारमा अवकाश लिएका हुन् । उनको अवकाससँगै कम्पनीले कामु महाप्रबन्धकको जिम्मेवारी विनेश मास्केलाई दिएको छ । तर कम्पनीले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नयाँ व्यक्ति ल्याउने तयारी गरेको स्रोतले बतायो । कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा रामचन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिसकेको छ । माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी चार वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो । जनरल इन्स्योरेन्स कम्पनीमा जाने निश्चित भएपछि श्रेष्ठले माघ २५ गते लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा राजीनामा दिएका छन् । तर उनको राजीनामा स्वीकृत हुन बाँकी रहेको छ । श्रेष्ठ लुम्बिनीमा पनि नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । जनरल इन्स्योरेन्स कम्पनीमा कामु प्रमुख कार्यकारी अधिकृतको भूमिका समेत पाउने गरी श्रेष्ठ जान तयार भएका हुन् । बीमा कम्पनीकाे उच्च तहका पदाधिकारीलाई एक महिनाकाे कुलिङ पिरेड लाग्ने भएकाेले श्रेष्ठलाई जनरलमा हाजिर हुन एक महिना भन्दा बढी समय लाग्नेछ । त्यस्तै, कम्पनीकाे प्रमुख कार्यकारी अधिकृतमा भने चन्द्रसिंह साउदलाई ल्याउने तयारी गरेको बताइएको छ । स्रोतका अनुसार आगामी कात्तिकदेखि जनरल इन्स्योरेन्सको सीईओमा साउदलाई ल्याउन सञ्चालक समिति तयार भएको छ भने साउद पनि सीईओ बन्न सहमत भएका छन् । नेप्सेमा उनकाे कार्यकाल असाेज तेस्राे साता सकिँदैछ । साउद हाल नेपाल स्टक एक्स्चेञ्जमा महाप्रबन्धक छन् । तर उनी बीमा क्षेत्रको अनुभवी व्यक्ति हुन् । यसअघि उनी नेपाल इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए । सञ्चालक समिति र कर्मचारी ट्रेड यूनियनसँग झगडा परेपछि उनलाई कम्पनीले हटाएको थियो । उनी नेपाल इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयर होल्डर पनि हुन् ।
जनरल इन्स्योरेन्सको कामु महाप्रबन्धकमा विनेश मास्के नियुक्त
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको कायम मुकायम महाप्रबन्धकमा विनेश मास्के नियुक्त भएका छन् । माघ २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले मास्केलाई कामु महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सहायक महाप्रबन्धकको पदमा कार्यरत मास्केले अर्को व्यवस्था नभएसम्म कम्पनीको प्रमुखको रुपमा कार्यभार सम्हाल्ने छन् ।