नेपाल इन्स्योरेन्सले घोषणा गर्यो ५ वर्ष यताकै उच्च लाभांश
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो ५ वर्ष यताकै उच्च लाभांशदर हो । माघ ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र २ प्रतिशत नगद(कर समेत) गरी कूल १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमाले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनसपछि इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब २४ करोड रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित लाभांश गत ५ वर्ष यताकै उच्च लाभांशदर हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ७.८९ प्रतिशत लाभांश (५ प्रतिशत बोनस र २.८९ प्रतिशत नगद) वितरण गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७४/७५को नाफाबाट ७.५ प्रतिशत लाभांश (बोनस मात्रै) वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीले ४.५२ प्रतिशत बोनस, आर्थिक वर्ष २०७२/७३ नाफाबाट ५ प्रतिशत बोनस र आर्थिक वर्ष २०७०/७१ बाट ९.४७ प्रतिशत लाभांश पाएका थिए । आर्थिक वर्ष २०६८/६९ को नाफाबाट भने कम्पनीले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
यूनाईटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज(माघ ७ गते) वेविनार मार्फत होटल हिमालय कुपण्डोल, ललितपुरमा सम्पन्न भएको हो । सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहविवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६।०७७ का लागीबाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्ट््लाई नियुक्त गरेको छ । सभाले कम्पनीको विशेष प्रस्ताव अन्तर्गतको कम्पनीको सेयर संरचना परिवर्तन गर्ने प्रस्तावलाई पारित गरेको छ । बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सभाले सर्वसहमतिले पारित गरेको हो । कम्पनीको आ.व.२०७७।०७८ को वित्तीय विवरण अनुसार इन्स्योरेन्सको कुल बीमा शुल्क आम्दानी ४८ करोड ८० लाख रुपैयाँ रहेको छ । खुद बीमा शुल्क आम्दानी २३ करोड ०७ लाख रुपैयाँ रहेकोमा खुद नाफा २ करोड २२ लाख रुपैयाँ रहेको छ । यस कम्पनीको लगानी गत आ.व. को तुलनामा ३.९३ प्रतिशतले वृद्धि भई आषाढ मसान्तमा ६९ करोड ८४ लाख रुपैयाँ पुगेको छ । आ.व. २०७५।०७६ मा कम्पनीको कुल कारोवार गत आ.व. २०७४।०७५ को तुलनामा २.२५ प्रतिशतले वृद्धि भई ४८ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।
लाभांश पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा, अंकित मूल्य ५० रुपैयाँ बनाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगामी माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो २०औं वार्षिक साधारणसभा सो दिन बिहान ९ बजे वीरगञ्जको होटल भिष्वामा गर्ने भएको हो । सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै छ । कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको ३१ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश गरी कूल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई सभाले अनुमोदन गर्ने भएको हो । त्यस्तै, सभाले कम्पनीको प्रतिसेयर मूल्य एक सय रुपैयाँलाई परिवर्तन गरी प्रति सेयर ५० रुपैयाँ कायम गर्ने कम्पनी सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्दै छ । इन्स्योरेन्स सञ्चालक समितिको बैठकले कम्पनीको विद्यमान प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार कम्पनीको सेयर मूल्य एक सय रुपैयाँ रहेकोमा सो सेयर मूल्य सम्बन्धी व्यवस्थालाई परिवर्तन गरी प्रतिसेयर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव गरेको हो । उक्त व्यवस्थालाई ‘स्टक स्प्लीट’ पनि भनिन्छ, जुन सम्बन्धित निकायबाट स्वीकृत भएपछि मात्र लागु हुने कम्पनीले जनाएको छ । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । सभामा जाने प्रयोजनको लागि कम्पनीले माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यससँगै माघ १३ गतेसम्म कायम सेयरधनीहरु कम्पनीको साधारण सभामा सहभागी हुन तथा कम्पनीले वितरण गर्ने लाभांश पाउन योग्य हुनेछन् । याे पनि पढ्नुहाेस् नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? नेपाल लाइफमा १ लाख लगानी गर्नेको सम्पत्ति यसरी भयो ५ करोड ९२ लाख