शिखर इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा दुबैमा वृद्धि, प्रतिसेयर नेटवर्थ २६७ रूपैयाँ बढी

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत पुस मसान्तसम्ममा ७४ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोश्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा चालु आवको खुद बीमाशुल्क आर्जनमा वृद्धि भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ७२ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क गरेको हो । खुद बीमाशुल्कसँगै कम्पनीको खुद नाफामा पनि सुधार भएको छ । गत आवको पुस मसान्तसम्ममा २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा २४ करोड १४ लाख रुपैयाँ कमाएको छ । १ अर्ब ५ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी बढेर एक अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा जगेडा कोष र बीमा कोषमा रकम बढेर क्रमशः ९४ करोड ७ लाख रुपैयाँ र १ अर्ब १७ करोड रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) ३५.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६७.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५२.४७ गुणा रहेको छ । समिक्षा अवधिमा कम्पनीले १ लाख ४६ हजार ६३७ बीमालेख जारी गरी २ अर्ब ११ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, कम्पनीले ९ हजार ५५१ दाबीबापत १ अर्ब ८५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १२ हजार ६०४ दाबी बापत १ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता २६७९ रुपैयाँमा कारोबार भएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा ३३ प्रतिशतले वृद्धि

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा करिव ३३ प्रतिशतले बढी हो । यस अवधिमा कम्पनीले कुल बीमा शुल्क ६८ करोड ३० लाख आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १०.४९ प्रतिशत बढी हो । यहि अवधिमा कम्पनीले ४८ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेको छ । यस वर्ष कम्पनीले ८२ हजार बीमालेख जारी गरेको छ भने २ हजार ५२७ बीमितलाई दावी भुक्तानी गरेको छ । १ अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको विभिन्न कोषमा एक अर्ब ५ करोड संचित रकम रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी १७ रुपैयाँ ९५ पैसा छ भने प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ८१ पैसा रहेको छ । पीई अनुपात ३६.९३ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ७८० रुपैयाँमा कारोबार भईरहेको छ ।

लोकप्रिय बन्दै शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना, गाडी क्षति भएमा नयाँ पाइने

काठमाडौं । निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले गत मंसिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बीमा योजना लोकप्रिय बन्दै गएको छ । पछिल्लो समय अटो प्लस नामको याे बीमा प्रडक्टकाे पोलिसी लिनेको संख्या बढिरहेकोले लाेकप्रिय बन्दै गएकाे कम्पनीले जनाएकाे हाे । विश्व नै कोरोना महामारीले थलिएको बेलामा पनि सर्बसाधारणका लागि लाभदायी होस् भन्ने हेतुले कम्पनीले साे याेजना सार्वजनिक गरेकाे हाे । बीमा क्षेत्रकै नौलो, सवारी साधन अतिरिक्त लाभ पाउने गरी थालनी गरिएको अटो प्लस बीमा योजनाअन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनस्र्थापना र दैनिक सवारी भाडा/यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन् । यो बीमालेख कार, जिप, मोटरसाइकल र स्कुटर जस्ता चार पाङ्ग्रे र दुई पाङ्ग्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन् । अटो प्लस बीमालेखको बीमा अवधि व्यापक सवारी साधन बीमाको अवधिको समान छ । नेपालमा दर्ता भएको मितिबाट १० वर्षभन्दा कम उमेरका सवारी साधनका लागि मात्र अटो प्लस बीमा पोलिसी खरीद गर्न सकिन्छ । जस्तो सवारी साधन क्षति भई पार्टपुर्जाहरु फेर्नु पर्ने अवस्थामा सर्भेयरको प्रतिवेदन वा क्षतिको मूल्याङ्कन अनुसार भएको ह्रासकट्टीको रकम मात्र कम्पनीले भुक्तानी दिन्छ । यस्तै, अटो प्लस बीमा गर्दा सवारी साधन पुनस्र्थापना अन्तर्गत सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपल्ब्ध गराउँछ । यसैगरी, यो पोलिसीमा बीमितले तेस्रो सुविधाका रुपमा दैनिक सवारी भाडा/यातायात खर्च समेत पाउनेछन् । जसमा आफ्नो सवारी साधन पूर्ण क्षति वा चोरी भएको छ भने अधिकतम ३० दिनसम्म र आंशिक क्षति भएको अवस्थामा अधिकतम १४ दिन सम्मको यातायात भाडा खर्च कम्पनीले उपलब्ध गराउँछ । यद्यपि, यसरी भुक्तानी हुने दैनिक भाडा दर दुई र चारपाङ्ग्रे सवारीका लागि फरक हुन्छ । भाडादर पनि सवारी साधनको मूल्यअनुसार फरक हुन्छ । ‘अटो प्लस’ बीमालेखमा बीमितले प्रत्येक लाभका लागि ०.१० प्रतिशतदेखि ०.५१ प्रतिशतसम्मको बीमाशुल्क भुक्तानी गर्नुपर्छ । ‘अटो प्लस’ मात्र नभई विगत १७ वर्षदेखि निर्जीवन बीमाको क्षेत्रमा रोल मोडलको रुपमा प्रभुत्व जमाउन सफल शिखर इन्स्योरेन्सले नेपालमा नयाँ बीमा पोलिसीहरु भित्र्याउने गरेको छ । अटो प्लस बीमा कार्यक्रम पनि नेपालमा शिखर इन्स्योरेन्सले भर्खरै सुरु गरेको नयाँ बीमा पोलिसी हो । हाल अटो प्लससँगै शिखर इन्स्योरेन्सका २२ भन्दा बढी बीमा योजनाहरु संचालनमा रहेका छन् ।